देश

पत्रकारिताको प्रबर्द्धनबिना लोकतन्त्र स्थायी हुँदैनः सभामुख मण्डल

काठमाडौं । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले निष्पक्ष पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो भन्दै पत्रकारिता क्षेत्रको प्रबर्द्धनबाटै लोकतन्त्र स्थायी बताएका छन् ।

राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सवका अवसरमा जनकपुरधाममा आज सम्पन्न’सङ्घीयतामा पत्रकारिता र रासस’ विषयक विचार गोष्ठीमा सभामुख मण्डलले पत्रकारिताको संस्थागत विकासका लागि राज्यका सबै निकायको सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

“राज्यपक्ष पत्रकारिताको संस्थागत विकासमा सहयोगी बन्नपर्छ,” मण्डलले भने , “अनि पत्रकारको भूमिका समाज सुधार र जनतालाई उत्प्रेरित गर्ने हुनपर्छ ।” पछिल्लो समय सञ्चार माध्यम र सामाजिक सञ्जालमा पत्रकारले पस्कदै आएका सामग्रीले कतिपय सन्दर्भमा जनतामा निरासा र कुण्ठा भर्ने काम गरेको मण्डलले टिप्पणी पनि गरे ।

“तपाईंहरका कामले जनतामा आशा जगाउनुुपर्छ, राज्यसम्बद्ध निकायमा देखिने बेथितिको अन्दाजमा हैन, तथ्यपरक तथा खोजमूलक सूचना दिनपर्छ,’’ उनले भने ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले राससलाई जनकपुरधामबाट मैथिली भाषाको समाचार सेवा दिन आवश्यक संसाधन जुटाउन सहयोग गरिने प्रतिबद्धता जनाए ।

नगरप्रमुख साहले राससबाट मैथिली भाषामा समाचार सेवा सुरु गर्न रासससँग उपमहानगरले सैद्धान्तिक सहमति गरिसकेकाले अब चाँडै त्यसलाई अन्तिमरूप दिइने बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले पत्रकारले हतारमा समाचार सम्पे्रषण गर्ने दौडमा सत्यतथ्यलाई बिर्सन नहुनेमा जोड दिए ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरि, मधेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रिङ्कु मिश्र गायत्री र धनुषा शाखा अध्यक्ष मनिका झासहितका वक्ताले शुभकामना दिए ।

रासस मधेश प्रदेश कार्यालयका प्रमुख टिकाराम सुनारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *