गण्डकी प्रदेश

सर्वोच्चको आदेश विपरित गण्डकी प्रदेश सरकार ,सांसद फणीन्द्र देवकोटालाई संसद बैठकमा रोक

काठमाडौं । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाइएको छ। बिहीबार प्रदेशसभा बैठकमा सहभागी हुन पुगेका देवकोटालाई मर्यादापालकले भित्र प्रवेश गर्न रोक लगाएका हुन्।

सांसद देवकोटाले बैठकमा सहभागी हुन गएको तर मर्यादापालकले भित्र प्रवेश गर्न नदिएपछि बाहिर बस्नुपरेको गुनासो गरेका छन् । सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश जारी गर्दै नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका देवकोटालाई कारबाही गर्न नमिल्ने जनाएको थियो । तर गण्डकी सरकारले सर्वोच्चको आदेशलाई समेत उल्लङघन गरेको छ ।

माओवादी केन्द्रले गत जेठ ३१ गते पत्रबाट गरेको कारबाही पत्र सुनाउँदै सभामुख कृष्ण प्रसाद धितालले निलम्बनको सूचना पढेर सुनाएपछि आफ्नो अधिकारका लागि देवकोटाले सर्वोच्च अदालतमा गएर रिट दर्ता गराएका थिए । सर्वोच्चले कारबाही गर्न नमिल्ने अन्तरिम आदेश जारी गरेपछि संसद बैठकमा पुगेका देवकोटालाई मर्यादापालकले रोक्नु कतिको जायज कुरा हो ? सरकारको आलोचनामा अहिले उक्त प्रश्न खडा भएको हो ।

गत जेठ २८ गते नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए। त्यसको जेठ २९ गते उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरिएको थियो। देवकोटालाई माओवादी संसदीय दलका नेताले २०८१ जेठ २९ गते स्पष्टीकरण सोधेको र ३१ गतेको पत्रबाट कारबाही गरिएको थियो। देवकोटा गत निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट निर्वाचनमा सहभागी भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *