ताजा समाचार

आजदेखि भ्रमण वर्ष शुभारम्भ हुँदै

काठमाडाैं । सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को भोलि बुधबार अर्थात सन् २०२० जनवरी १ तारिख (पुस १६ गते) देखि शुरु हुँदैछ । काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमण वर्षको भव्य उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । भ्रमण वर्षको उद्घाटनस्थल रङ्गशालामा आज पूर्वाभ्याससमेत गरिएको थियो । उद्घाटन समारोहलाई विशेष बनाउन सबैखालको तयारी गरिएको सचिवालयले जनाएको छ ।

अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्नेछ । सहभागी पाहुनाको स्वागत सेलिब्रेटीबाट गरिनेछ । नेपालको संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ ।

राष्ट्रगान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घसंस्थाले परेड गर्नेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्ने छन् । भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ । भ्रमण वर्षको ‘यति मस्कट’को सार्वजनिकसँगै विभिन्न सांस्कृतिक कार्यक्रम गरिने भ्रमण वर्षको कार्यक्रम तालिका बनाइएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन सरकारी निजी क्षेत्र एवं आम सर्वसाधारण स्वःस्फूर्त रुपमा लागिपरेका छन् । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

भ्रमण वर्षमा विदेशी पाहुना

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन विभिन्न मुलुकका विदेशी पाहुना काठमाडौँ आइपुग्नुभएको छ । काठमाडौँको दशरथ रङ्गशालामा बुधबार अपराह्न ४ बजे आयोजना हुने भ्रमण वर्षको औपचारिक शुभारम्भ समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, चीनसहित विभिन्न देशका पर्यटनमन्त्री तथा विशिष्ट पाहुना काठमाडौँ आइपुग्नेछन्।

भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ नेपाल आएका छन् । भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पट्टेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ पनि काठमाडौँ आएको छ । भ्रमण वर्ष कार्यक्रममा सहभागी हुन नेपाल आएका चारै देशका पाहुनालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले स्वागत गरेका छन् ।

भ्रमण वर्षमा सहभागी हुन भूटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरु पनि काठमाडौँ आएको पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए । भ्रमण वर्षको उद्घाटन कार्यक्रमका लागि दक्षिण एशियाली, मध्यपूर्वी, युरोपलगायत मुलुकका ३४ वटा सञ्चारमाध्यमका प्रतिनिधि आइसकेको उनले बनाए ।

भ्रमण वर्ष २०२० को बुधबार जनवरी १ ९पुस १६ गते० भव्यरुपमा उद्घाटनका लागि सम्पूर्ण तयारी सकिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्नेछन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशिष्ट अतिथिको रुपमा मन्तव्य दिने कार्यक्रम रहेको पर्यटन मन्त्रालयले जनाएको छ ।

जिडिपीमा पर्यटनको १० प्रतिशत योगदानः पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको कम्तिमा १० प्रतिशत योगदा हुने गरी पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासको कामसँगै अघि बढाइने बताएका छन् ।

उनले हालको तीन प्रतिशत योगदानलाई आगामी वर्षमा १० प्रतिशत पु¥याउने सरकारको योजना रहेको सुनाए । सरकारले १५ औँ पञ्चवर्षीय योजनामा प्रमुख प्राथमिकतायुक्त क्षेत्रको रुपमा पर्यटनलाई लिएको छ । पाँच वर्षको अवधिमा कम्तीमा पर्यटन क्षेत्रबाट जिडिपीमा १० प्रतिशत योगदान पुग्ने मन्त्री भट्टराईको विश्वास छ ।

नेपाल पर्यटन बोर्डको २१औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई आधार मानेर आगामी सन् २०३० सम्म पर्यटक दशकको रुपमा मनाउने र त्यसले पर्यटनको अर्थतन्त्रमा योगदान बढ्ने विश्वास व्यक्त गर्नुभयो । भ्रमण वर्ष २०२० लाई पर्यटन क्षेत्रको विकासको अभियानको रुपमा लिनुपर्ने बताउँदै यसलाई नेपालमा सबैभन्दा बढी रोजगारी दिने क्षेत्रको रुपमा विकास गर्न सकिने धारणा राखे ।

नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले १० वर्षमा अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने गरी पर्यटन क्षेत्रमा काम भइरहेको र पर्यटकको सङ्ख्यामा भन्दा पनि गुणात्मक वृद्धिलाई ध्यान दिइएको बताउनुभयो । बोर्डका सञ्चालक समिति सदस्यद्वय दीपक महत र पम्फा धमलाले बोर्डको संस्थागत सुधारका साथै भ्रमण वर्षलाई सफल बनाउन प्रभावकारी रुपमा समन्वयात्मक प्रवद्र्धनात्मक गतिविधि बढाइने उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *