ताजा समाचार

इराकी संसदको कडा कदमः सबै विदेशी सैन्यबललाई देश छाडेर जाने प्रस्ताव पारित

एजेन्सी । मध्यपूर्वी क्षेत्रमा बढ्दो तनावका बीच इराकले आफ्नो देश छोड्न सबै विदेशी सैन्यबललाई निर्देशन दिएको छ । इराकको संसदले सबै विदेशी सैन्यबललाई देश छाडेर जाने प्रस्ताव पारित गरेसँगै अमेरिकासहित सबै विदेशी सैन्यबलले इराक छोडेर जानुपर्ने छ । इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीलाई शुक्रबार अमेरिकाले इराकको राजधानी बगदादमा हत्या गरिदिएपछि आइतबार इराक संसदले यो प्रस्ताव पास गरेको हो।

इराकमा हाल पाँच हजार अमेरिकी सैनिक छन्। इराकी संसदले आफ्नो सरकारसँग विदेशी सैन्यबललाई इराकको भूमि, हवाइ र जलक्षेत्र प्रयोगमा रोक लगाउन पनि भनेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इराकी संसदको विशेष सत्रमा प्रधानमन्त्री अब्दुल महदीले जतिसक्दो चाँडो इराकबाट विदेशी सैनिक हटाउनुपर्ने बताएका हुन्। प्रधानमन्त्री महदीले आफ्नो देशका आन्तरिक र बाह्य समस्याहरू भए पनि आफैं सुल्झाउने पनि बताएका छन्।

इराकबाट विदेशी सैन्यबल हटाउन संसदबाट पास भएको यो प्रस्ताव प्रधानमन्त्रीले हस्ताक्षर गरेर अनुमोदन गरेपछि कानुन बन्नेछ। यो कानुन लागू भए इराकमा अमेरिककासहित कुनै अरू देशका सैन्यबल रहनु गैरकानुनी मानिनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *