ताजा समाचार

प्रदेश ३ राजधानी विवाद सत्तारुढ दलभित्रै विद्रोहको संकेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौडा तोकेपछि सत्तारुढ दलभित्रै विद्रोह हुने भएको छ । केन्द्रको निर्णय नमान्ने भन्दै नेकपा प्रदेश ३ नं इन्चार्ज अष्टलक्ष्मी शाक्यले नेतृत्व तहलाई जानकारी गराएपछि विद्रोहको अवस्था सिर्जना भएको छ । प्रदेश राजधानीमा विषयमा संसदमा मतदान भए सत्तारुढ दलका सांसदहरुले त्यसको विपक्षमा मतदान गर्ने भएका छन् ।

केन्द्रको निर्णय स्थायी राजधानी र नामबारे छलफल गर्न चार दिनदेखि जारी सत्तारूढ दल प्रदेश ३ संसदीय दलको बैठक बिनानिष्कर्ष स्थगित भएको छ । बैठकमा प्रदेश स्थायी राजधानी हेटौंडा र नाम बागमती राख्ने नेकपा केन्द्रीय सचवालयको निर्णयको सिधै विरोध नगरे पनि काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, दोलखा, रामेछाप, नुवाकोट, रसुवाका नेकपाकै सांसदले असन्तुष्टि व्यक्त गरेका छन् । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलसहित ६४ जना सांसदले भनाइ राखेका थिए । प्रदेश सांसदले प्रदेश स्थायी राजधानीका विषयमा हेटौंडाको पक्ष र विपक्षमा आ–आफनो धारणा व्यक्त गरेका छन्। केही सांसदले पार्टी सचिवालयको स्थायी राजधानी हेटौंडा र नाम बागमती हुने निर्णयलाई लिएर आपत्ति जनाए पनि पार्टीको निर्णय र निर्देशनविरुद्ध नजाने बताएका छन् । प्रदेशको स्थायी राजधानी र नामकरणलाई पार्टी केन्द्रीय सचिवालयको निर्णयलाई सबै सांसद सर्वसम्मत गराउन मुख्यमन्त्री पौडलको टोली लागेको छ ।

तर पार्टीकी प्रदेश इन्चार्ज एवं सांसद अष्टलक्ष्मी शाक्य, पूर्वमन्त्री केशव स्थापित, काभ्रे र आसपासका सांसद भने केन्द्रले प्रदेश सभा र सांसदको अधिकार हस्तक्षेप गरेकोमा तिव्र असन्तुष्ट हुँदै स्थायी राजधानी काभ्रे बनाउनुपर्ने जोड दिएका छन् । पार्टीको केन्द्रीय सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न चौतर्फी दवाब पनि बढेको छ । स्थायी राजधानी हेटौंडा राख्ने र नाम बागमती हुने नेकपा केन्द्रीय सचिवालयको बैठकविरुद्ध कडा प्रतिक्रिया दिएका पूर्वभौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले बैठकमा भने लचिलो रुपमा प्रस्तुत भएपनि उनले राजधानीको विषयमा सहमत हुन नसकिने जनाएका छन् ।

काभ्रेका सांसद लक्ष्मण लम्सालले राजधानी र नामबारे पार्टी केन्द्रीय सचिवालयले गरेको निर्णयप्रति असन्तुष्टि व्यक्त गरे । स्थायी राजधानी र नामबारे पार्टी केन्द्रले गरेको निर्णय विधि सम्मत छैन भन्दै उनले विरोध गरे । चितवन, धादिंग र सिन्धुलीका सांसदहरु भने हेटौडाको पक्षमा रहेका छन् । संसदको विशेष समितिले बर्णानुक्रमअनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई उपयुक्तताका आधारमा स्थायी राजधानीका लागि सिफारिस गरेको थियो । संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको दुईतिहाइ बहुमतले निर्णय गर्ने उल्लेख छ । १ सय १० सांसद रहेको प्रदेशसभामा नेकपाका दुईतिहाइ बढी अर्थात् ८० सांसद छन्। त्यस्तै, नेपाली कांग्रेसको २२, विवेकशील साझा, नेमकिपा, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्रगरी आठ सांसद रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *