काठमाडौं । नेकपाका शीर्ष नेताहरुले प्रदेश ३ को राजधानी हेटौडा कायम गर्ने र सचिवालय बैठकपछि उत्पन्न भएको विवाद साम्य पार्न शीर्ष नेताहरुले प्रयास थालिरहेका बेला पार्टी महासचिव विष्णु पौडेल र केन्द्रीय सदस्य पशुपति चौलागाईबीच पाखुरा सुर्कासुर्की परेको छ । शालीनताका साथ कुराकानी चलिरहेका बेला पशुपति चौलागाईलाई पार्टी निर्देशन नमान्ने भन्दै विष्णु पौडलले अनुशासनको कारवाही गर्ने भनेपछि पाखुरासुर्कासुर्की परेको हो ।
नेकपाको सचिवालय बैठकले प्रदेश ३को राजधानी हेटौडा र नाम वाग्मती प्रस्ताव गरेसँगै सत्तारुढ दलभित्रै विवाद शुरु भएपछि नेताहरुले मंगलबार विवाद साम्य पार्ने प्रयास गरिरहँदा महासचिव पौडेल चौलागाइमाथि खनिएका हुन । चौलागाइले पनि विधि र प्रकृयासंगत कुरा गरेको हामी तपाईको दास होइन पार्टी तपाईले मात्रै निर्माण गरेको होइन नेता भए भन्दैमा जनतालाई रैतिको व्यवहार नगर्नुस भनेका थिए । पौडेलले सचिवालयको निर्णय कार्यान्वयन गर्नुस भन्दै दबाब दिन थालेपछि उनीहरुबीच राम्रै भनाभन भएको बैठक स्रोतले जनाएको छ । ‘मंगलबार तीन घण्टा लामो छलफलमा अध्यक्षद्वय र प्रदेशका नेताहरुवीच भएको छलफलमा सचिवालयको निर्णय कार्यान्वयन गर्नेगरी टुंगिएपनि कार्यक्षेत्रमा भने फ्लोरक्रसको संभावना रहेको छ’, बैठकपछि स्रोतले भन्यो अध्यक्षद्वयले प्रदेश–३ को स्थायी राजधानी हेटौंडा र नाम बाग्मती नै कायम गर्न नेकपाले पुनः निर्देशन दिनुभएको छ ।’
आफनो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै सचिवालयले यसअघि दिएको निर्देशन नमान्ने बताएपछि नेताहरु संसदीय दलको बैठक रोकेर काठमाडौ आएका थिए । प्रदेशका नेताहरु वालुवाटार आएको जनाकारी पाएपछि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल सिन्धुपाल्चोकबाट सिधै वालुवाटार पुगेका थिए । उनले प्रदेशका नेताहरुलाई सम्झाउने कोसिस गरेको भएपनि नेताहरुले सांसदहरुको कुरालाई स्पष्टसँग राखेको र फ्लोर क्रस हुनसक्ने संभावना बारे जानकारी समेत गराएका थिए । सचिवालयको निर्देशनबाट असन्तुष्ट प्रदेश–३ का सांसदहरुको टोलीले काठमाडौंमा टोलीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र महासचिव बिष्णु पौडेलसँग छलफल गरेको थियो । नेकपा प्रदेश–३ की इञ्चार्ज अष्टलक्ष्मी शाक्यको नेतृत्वमा मुख्य सचेतक रामेश्वर फुयाँल, आन्तरिक मामिला तथा कानुन मन्त्री जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, सांसद्हरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईं र दीपक निरौला आनन्द पोखरेल लगायतको समूह वालुवाटार पुगेको थियो ।
वालुवटारमा अध्यक्षद्वयसँग प्रदेशका नेताहरुले प्रदेश–३ को स्थायी राजधानीबारे असन्तुष्ट समूहसंग करिव ३ घण्टा छलफल गरेका थिए । हेटौंडा राजधानी राख्नुपर्ने र राख्न नहुने भन्ने सांसदहरु प्रदेश नेकपा संसदीय दल बैठकमा विवाद बढेको थियो । काभ्रे, सिन्धुपाल्चाक, दोलखा, रामेछाप, रसुवा, नुवाकोट, काठमाडौ लगायतका जिल्लाका सांसदहरुले हेटौडालाई राजधानी मान्न नसकिने बताएका थिए । संसदीय दलको बैठकमा विवाद बढेपछि संसदीय दलको बैठक स्थगित गरेर सोमबार सांसद् तथा मन्त्रीहरु काठमाडौं गएका थिए । ११० सांसद रहेको प्रदेश ३ मा नेकपाका ८० सांसद रहेका छन् । संसदमा सो प्रस्ताव पेश भएमा पारित हुन ७४ सांसदको समर्थन आवश्यक पर्छ ।
मतदान गर्ने समयमा नेकपाका सांसद विभाजित वा अनुपस्थित भए प्रस्ताव पारित हुने छैन ।नेपालको संविधानको धारा २८८ अनुसार प्रदेश राजधानी प्रदेश संसदबाटै हुने व्यवस्था गरिएको छ । जसको उपधारा १ मा नेपालको राजधानी काठमाडौँमा हुनेछ भनिएको छ भने उपधारा २ मा प्रदेशको राजधानी प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने व्यवस्था गरिएको छ । त्यस्तै उपधारा ३ मा उपधारा (२) बमोजिम निर्णय नभएसम्म नेपाल सरकारले तोके बमाजिमको स्थानबाट प्रदेशको कार्य सञ्चालन हुने भनिएको छ । प्रदेश ३ मा दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली, भक्तपुर, काठमाडौँ, ललितपुर, धादिङ, नुवाकोट, मकवानपुर रसुवा र चितवन जिल्लाका ११० प्रदेश सांसद छन् । जसमा मकवानपुर र चितवनबाहेकका सांसदहरु प्रदेशको राजधानी हेटौँडाको विपक्षमा छन् ।