काठमाडौं । जहाँ जनता शिक्षित र चेतनशील हुन्छन्, त्यहाँ राज्यले पनि शोषण गर्न पाउँदैन । दलाल र बिचौलियाहरूले पनि ठग्न पाउँदैन । इतिहास हेर्ने हो भने नेपालमा हरेक राजनीतिक परिवर्तन जनताकै संघर्षका कारण भएको छ । तर, दलाल र बिचौलियाहरूले जनतालाई नै ठगेर, लुटेर कमाएका छन् ।
सञ्चार क्षेत्रमार्फत जनताले धेरै कुराहरू थाहा पाएका छन् । अझै पनि जनतालाई भ्रममा पारेर ठग्न सकिन्छ, शोषण गर्न सकिन्छ भन्ने कुरा दलाल तथा बिचौलियाहरूको मनबाट हटेको छैन । देशमा आन्दोलनको आँधीबेहेरी ल्याएर विभिन्न मितिमा राजनीतिक परिवर्तन गर्ने जनता नै हुन् । अहिले बजार पूरै मन्दीमा छ । घरजग्गा, सेयर र गाडीको किनबेच ठप्प भएको छ । नेपाल राष्ट्र बैंकले सेयरमा १२ करोडको सीमा हटाइदियो, घरजग्गा र गाडीमा कर्जा लगानी सहज गरिदियो ।
पहिला धितोको मूल्यांकनका आधारमा बैंक तथा वित्तीय संस्थाले घरजग्गालाई ५० प्रतिशत कर्जा प्रवाह गर्नेमा अहिले ६० प्रतिशत बनाइएको छ । अहिले आमसर्वसाधारणले बैंकले सय रूपैयाँ कित्तामा निष्कासन गरेको सेयर दलालमार्फत चार हजारमा बेचिएको थाहा पाएका छन् । भारतमा एक लाखमा पाइने सवारीसाधन दलालहरूले नेपालमा २० लाखमा बेचे । बैंक तथा वित्तीय संस्थाको सबै कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा छ । यसरी बैंक टाट पल्टिने अवस्था निम्तिएपछि राष्ट्र बैंकले यो नीति ल्याएको हो ।
सरकारले जग्गाको कित्ताकाट फुकुवा गरे पनि कारोबार बढेन । राष्ट्र बैंकले ल्याएको यो नीतिले पनि घरजग्गा र सेयरको कारोबार बढ्ने छैन । अहिले घरजग्गा, सेयर र गाडी दलालीहरू कहिल्यै अर्थमन्त्रीकहाँ पुग्छन् त, कहिले गर्भनरकहाँ । प्रधानमन्त्री र राष्ट्रपतिकहाँ धाउने क्रम पनि बढ्दो छ । आफूहरूको लगानी डुबेको भन्दै उनीहरू बचाइदिन बिन्ती गर्छन् । बैंक तथा वित्तीय संस्थाका सञ्चालक, अध्यक्ष र कर्मचारीहरू पनि प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरकहाँ धाउने क्रम बढ्दो छ ।
सरकारले माग पूरा गर्दागर्दै पनि बजारमा न घरजग्गाको मूल्य बढेको छ, न सेयरको । गाडीको पनि त्यही हालत छ । अहिले घरजग्गा, गाडी र सेयरमा लगानी गर्ने कोही छैन । सबै बेच्न मात्र चाहन्छन् । बजारले घरजग्गा, गाडी सेयर दलाल र सरकारभन्दा जनता बाठो भएको कुरा देखाउँछ । जनता चेतनशील भएका छन् । अब उनीहरू जथाभावी दलाली र सरकारको आश्वासनमा परेर लगानी गर्ने छैनन् । आमसर्वसाधारणलाई महँगोमा घरजग्गा, गाडी र सेयर बेच्न नपाएपछि अहिले दलालहरू पानीबिनाको माछाजस्तै भएका छन् । उनीहरू रन्थनिएर हिँडेका छन् । भोक, तिर्खा र निन्दा भन्ने कुरा उनीहरूको जीवनबाटै हटिसकेको छ ।
घरजग्गा, गाडी र सेयरको किनबेच ठप्प भएर राजस्व आउन बन्द भएपछि सरकार पनि आत्तिएको छ । सरकारी कर्मचारी र जनप्रतिनिधिलाई तलबभत्ता कसरी खुवाउने ? कसरी सरकारी खर्च धान्ने ? कसरी विदेशीसँग लिएको ऋणको साँवाब्याज तिर्ने भनेर सरकार चिन्तित छ । दलालहरू सरकारलाई जनतालाई यसरी ठगेर राजस्व उठाउन सकिन्छ भनेर सिकाउँछन् । तर, दलालको कुनै पनि पोलिसी काम लागेको छैन । अहिले दलाली र सरकारभन्दा जनता धेरै बाठो भएको कुरा प्रमाणित भएको छ । बजारमा सुनिन्छ कि दुई वर्षअघि ३५ सयमा किनेको सेयर अहिले पाँच सयमा पनि बिक्री हुन्न रे । आनाको ६० लाख हालेर किनेको जग्गा लाखमा बिक्री भएन रे ।
१५ लाखमा किनेको गाडी लाखमा बिक्री भएन रे । राष्ट्र बैंकले डुबिसकेको बैंकलाई बचाउन उक्त पोलिसी ल्याएको सर्वसाधारणको भनाइ छ । अब सरकारले जतिसुकै जनतालाई झुक्याउन खोजे पनि वा दलालहरूले फसाउन खोजे पनि जनता घरजग्गा, गाडी र सेयरमा लगानी गर्ने छैनन् । न त यी बस्नुको मूल्य नै बढ्ने छ । जनतामा यति छिटो चेतना आउँछ भनेर न सरकारले सोचेको थियो, न दलालहरूले । सञ्चारमाध्यमकै कारण आजजनताको आँखा खुलेको छ । बैंक तथा वित्तीय संस्थाले कतिसम्म ठग्न सक्छ भनेर जनता स्पष्ट भइसकेका छन् ।
राज्यको चौथो अंगको आँखा छलेर हिजो घरजग्गा, गाडी र सेयर दलालहरूले सर्वसाधारण जनतालाई ठगेका थिए । तर, सञ्चारकर्मीहरूले यस्ता ठग, चोरहरूको विरोधमा बोल्न र कलम चलाउन थालेपछि उनीहरूको भागाभाग भएको हो । जनता ठगिनबाट जोगिए त चेतनशील भए । सञ्चारकर्मीको काम भनेको जनता र राष्ट्रको हितमा बोल्नु वा कलम चलाउनु हो । अन्याय भएको ठाउँमा जब सञ्चारकर्मीहरूले आवाज उठाउँछन्, त्यहाँ न्याय पाउने पक्कै पनि आशा जाग्छ । हजारौं जनतालाई ठगेर केही सीमित व्यक्तिहरूले मोजमस्ती गर्दै आइरहेका थिए ।
घरजग्गा, गाडी र सेयर महँगोमा बेच्दै आएका थिए । कालोबजारी गर्ने गरेका थिए । दलालीले जति मूल्य भन्यो, त्यत्तिमै घरजग्गा, गाडी र सेयर खरिद गर्न जनता बाध्य थिए । तर, जब जनताको आँखा खुल्यो, जब बैंक तथा वित्तीय संस्थाको असली रूप उनीहरूले देखे, तब बैंकमा बचत गर्नसँगै कर्जा लिन पनि छोडे । जसकारण आज घरजग्गा, गाडी र सेयरको किनबेचमा मन्दी आएको छ । बैंक घाटामा गएको छ । सोझासिधा जनतालाई प्रलोभन देखाएर सीमित व्यक्तिहरूले ठगीधन्दा चलाउँदै आएका थिए । तर, अहिले उनीहरू आफैं डुबेका छन् ।
किनकि अहिले जनता घरजग्गा, गाडी र सेयरमा लगानी गर्नुहुन्न भन्छन् । यस्ता जोखिमपूर्ण क्षेत्रमा लगानी गर्दा डुब्न सकिन्छ भन्दै एकले अर्कालाई सम्झाउने गरेको पाइन्छ । दुई वर्षअघि महँगामहँगा रेस्टुरेन्ट र होटलमा खाना—खाजा खाने दलालहरू अहिले भट्टी पसलमा देखिन्छन् । घरजग्गा, गाडी र सेयर दलालहरू यति छिट्टै सडकछाप हुन्छन् भनेर सायद कसैले पनि सोचेको थिएन ।
गणेशमान सिंहले नेपाली जनता सीधा छन् भनेर भनेको कुरा सुनिन्थ्यो । तर, नेपाली जनता बाठा र शिक्षित छन् भन्ने कुरा अहिले प्रमाणित भएको छ । केही वर्षअघिसम्म यहाँ ठग र बिचौलियाहरूको बिगबिगी थियो । अब भने त्यस्ता ठगहरूको भाग्ने दिन आएको छ । उनीहरूले देश छोड्नुपर्ने अवस्था निम्तिएको छ । जनता शिक्षित, सक्षम र चेतनशील भएको देश विकसित हुन्छ । नेपालमा त दलालहरूले जनतालाई भ्रममा पारेर तथा राज्यलाई राजस्व छलेर कमाउँदै आएका थिए । हरेक क्षेत्रमा सरकारी मूल्यलाई मान्यता दिइँदैन थियो । दलालहरूले मनपरी मूल्य लिन्थे । घरजग्गा, गाडी र सेयरको मूल्य दलालहरूको जिब्रोमा हुन्थ्यो ।
तर, अहिले दलालहरूले मनपरी मूल्य उठाउन पाएका छैनन् । किनकि घरजग्गा, गाडी र सेयरमा मन्दी आएको छ । अधिकांश दलाल भागिसकेका छन् । जनता इमान्दार छन् । उनीहरू सरकारले बनाएको ऐन, कानून पालना गर्छन् । यसरी जनताको इमान्दारिताको फाइदा उठाएर दलालीहरूले ठग्दै आएका थिए । अरुलाई ठगेर आफ्ना छोराछोरीलाई महँगामहँगा विद्यालयमा उठाउने, महलजस्तो घरमा बस्ने, चिल्लो गाडी चढ्ने दिन दलालीहरूको गएको छ । बजारको अवस्था बुझ्दा अझै दुई दशक घरजग्गाको मूल्य नबढ्ने देखिन्छ । अहिले सेयरमा १२ करोडको सीमा हटाएपछि कारोबार बढ्ने आश सरकारमा छ । तर, यो सम्भव देखिएको छैन । बजार अध्ययन नगरी दलालहरूको लहैलहैमा गरेको यो निर्णयले अर्थतन्त्र झनै प्रभावित बन्ने निश्चित छ ।