प्रविधि

लगानी संवाद, आइसिटी स्टार्टअप तथा इनोभेसन

भेला हुनु, मेला आयोजना गर्नु, हाटबजार सञ्चालन हुनु, नयाँ नयाँ विषयमा सोधपुछ गरी जानकारी हाँसिल हुनु, नवप्रवर्तनका लागि प्रोत्साहन गरिनु यी सबै राम्रा काम हुन् । समय परिवर्तनसँगै यस्ता मेला वा संवादहरुमा नयाँ र सिर्जनशील विषयहरु पनि किन्न, सुन्न, जान्न पाइन्छ । स्थानीय तहहरुले आफ्नो बजेट आफै निर्माण गर्ने क्रम शुरु भएसँगै कतिपय स्थानीय तहले लगानी सम्मेलन गर्ने भनेर बजेटमै उल्लेख गरे ।

तिलोत्तमालगायत केही पालिकाले सम्मेलन पनि आयोजना गरे । केही वर्ष यता सूचना तथा सञ्चारसँग सम्बनिधत प्रणाली, आइसिटी प्रयोग गरी हुने सेवासँग जोडिएका प्रडक्टहरु जनसमक्ष पुर्‍याउने कम्पनी तथा संस्थाहरुको सङ्ख्या बढिरहेको छ भने सूचना तथा सञ्चार प्रविधिसँग कुनै न कुनै रुपमा आवद्ध भएर स्वरोजगारी तथा उद्यम सञ्चालन गर्ने युवाहरुको सङ्ख्या पनि बढ्दो क्रममा छ ।

निजी तवरबाट सूचना प्रविधि क्षेत्रलाई अघि बढाउन क्रियाशील कम्प्युटर एसोसियसन नेपालले हरेक वर्ष क्यान इन्फोटेक मेला प्रारम्भ गरेकै २८ वर्ष भइसक्यो । आइसिटी अवार्डका आधारमा आइसिटी फाउण्डेसनले पनि सूचना प्रविधिसँग सम्बन्धित व्यवसायी, उद्यमी र स्टार्टअपहरुको वार्षिक भेला विगत आठ वर्षदेखि गर्दै आइरहेको छ । उद्योग वाणिज्य महास्ङघलगायतका निजी क्षेत्रका संस्थाहरुले पनि सूचना प्रविधिलाई महत्वका साथ अगाडि वढाएका छन् ।

द ब्रिटिस कलेज, सफ्टारिका कलेजले पनि यसै वर्ष इनोभेसन र दिगो विकास लक्ष्यलाई समेत जोडेर स्टार्टअप फेस्ट आयोजना गरेका थिए । विसं २०७९ असार ४ र ५ गते हुवावेलगायतका कम्पनीको प्रायोजनमा डिजिटल नेपाल कन्क्लेभ सञ्चालन भएको थियो । नेपालको डिजिटल इकोसिस्टम निर्माणका लागि अघि वढाउनुपर्ने विभिन्न विषयमा देशविदेशका विज्ञहरुको प्रस्तुति एवम् छलफल निष्कर्षहरु तयार गरिएको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार सय ३४ स्थानीय तहलाई आधार मानेर सात प्रदेशका ५० सूचकका आधारमा गरेको सूचना प्रविधि सक्षमताको लेखाजोखा मूल्याङ्कनको नतिजाले दुई सय २९ वटा स्थानीय तहमात्र औसत अङ्क ल्याउन सफल देखिए । यसबाट स्थानीय तहले सूचना प्रविधि प्रयोग सम्बन्धमा आधारभूत तहमै काम गर्न बाँकी रहेको देखाउँदछ ।

सूचना प्रविधि र इकमर्श
सूचना प्रविधिमा आधारित उद्यम तथा स्वरोजगारसम्बन्धी सीप, आइडिया, व्यवसाय एवम् आर्जनको विषय संसारभर नै बिस्तारका क्रममा रहेको र अर्थतन्त्रमा उदीयमान क्षेत्रका रुपमा लिइएको छ । सूचना प्रविधिमा विकसित पछिल्ला उपकरण र प्रणालीहरुले सम्भव तुल्याएका सुविधाहरु सार्वजनिक क्षेत्र, निजी क्षेत्र र अन्य सबै सङ्गठित क्षेत्र र सर्वसाधरण व्यक्तिले समेत लिन सम्भव भएको छ ।

प्रयोगमा आइरहेका प्रणालीमा पनि समयक्रमसँगै सुधार वा परिवर्तन अपेक्षित हुन्छ । जति पछाडि उति कम लागत, बढी क्षमता र सानो आकार वा स्पेस लिने गरी सूचना प्रविधि विकसित भइरहेको छ । सूचना प्रविधि र सञ्चार आपसमा अन्तरसम्बन्धित समेत भएको हुँदा सूचना तथा सञ्चार प्रविधि अर्थात आइसिटी भनेर चिन्ने गरिन्छ ।

नवीन प्रविधिले गर्दा जुनसुकै बखत सरकार–नागरिक र बजार–ग्राहकबीच अन्तरक्रिया सम्भव हुँदै गएको छ । यस्तो अवस्थामा कुनै पनि सरकार वा कुनै पनि विकासको पात्रले सूचना प्रविधिबाट अनदेखा भएर अगाडि बढ्न असम्भव छ । के कति निजी क्षेत्रमैत्री हुने ? के कति युवा उद्यमीमैत्री हुने र सार्वजनिक, निजी र सामुदायिक क्षेत्रबीच आपसी अन्तरक्रिया बढाउँदै सूचना तथा सञ्चार प्रविधिलाई के कसरी उद्यम विकास, रोजगारी र आयसँग जोड्ने भन्ने विषय अहिलेको एक महत्वपूर्ण सरोकारको सबाल भएको छ । ईकमर्शलाई पनि प्रष्टरुपमा बिना झन्झट कानुनको दायरामा ल्याई औपचारिक बजारमा प्रवेश गराउनुपर्नेछ ।

सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा सरकारी क्षेत्र
वर्तमान संविधान र आवधिक योजनाले सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोगतर्फ संकेत गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा अन्य कुराको अतिरिक्त डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लगिने, डिजिटल साक्षरता बढाइ नागरिक एपको प्रयोग र पहुँच बिस्तार गरिने उल्लेख छ । दूरसञ्चार पूर्वाधारअन्तर्गत ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको विषय परेको छ भने साइबर सुरक्षा र विद्युतीय तथ्याङ्कको सुरक्षाका विषयहरु पनि परेका छन् ।

साथै ईकमर्सको माध्यमबाट हुने नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानुनी व्यवस्था गरिने उल्लेख छ । चौथो पुस्ताको औद्योगिकरण अवधारणाको आन्तरिकीकरणका लागि प्रविधि सहयोग, सचेतना र तालिमका कार्यक्रम सञ्चालन गरिने विषय समेत बजेटमा परेको छ ।

यसअघिका वर्षहरुदेखि नै स्मार्टअपका लागि सक्रिय व्यवसायीलाई अनुदानको व्यवस्था गर्ने भनिएको र अनुदान वितरणका लागि कार्यविधिको तयारी भइरहेको प्रसङ्ग बेलावखत सुन्ने गरिएको छ । सार्वजनिक निकायमा विनियोजन भएको रकम खर्च गर्न निश्चित विधि अनुशरण गर्नुपर्ने हुँदा निजी क्षेत्र वा संस्थाले जस्तो सरल र छिटो ढङ्गले कार्यसम्पादन हुन गाह्रो छ । तथापि आइसिटी सेवा र बिजिनेस प्रोसेस आउटसोर्सिङ्गलाई रोजगारी तथा आमदानीको क्षेत्रका रुपमा चित्रित गर्दै आएको देखिन्छ ।

लगानी संवाद
गत वर्षमात्र पनि लेखक स्वयम् लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयमा कार्यरत रहँदा प्रदेशका पश्चिमतर्फका जिल्लालाई समेटेर नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको हलमा लुम्बिनी लगानी संवाद सञ्चालन हुँदा ३० वटाभन्दा बढी साना तथा मझौला उद्यमी व्यवसायी तथा लगानीसम्बन्धी सरोकारवाला तथा विज्ञ सहभागी रहेको तथा उद्यमी व्यवसायीहरुलाई सरकारको तर्फबाट हुनुपर्ने साथ र सहयोगका साथै समग्र इकोसिस्टम निर्माणका लागि महत्वपूर्ण सुझाव प्राप्त भएका थिए ।

देशविदेशका ठूला कम्पनीको जमघट गर्ने, लगानीको घोषणा पनि गर्ने तर सम्झौता एवम् लगानी शून्यप्राय हुने तितो यथार्थका बीच स्थानीय स्तरमा क्रियाशील उद्यमी व्यवसायीकै मर्का सुनेर समाधानको पहल हुनु सबै प्रदेश तथा स्थानीय तहका लागि एउटा उपयोगी कार्यनीति हुन सक्ने लेखकको ठम्याइ रहेको छ ।

स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३
लिभिङ विथ आईसीटी र आइसिटी फाउन्डेसन नेपालले हरेक वर्ष आयोजना गर्ने आईसिटी अवार्डको प्रि–इभेन्ट क्याम्पियनका रुपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वटमा यहि असोज १९ र २० गते स्टार्टअप एण्ड आइडिया फेस्ट आयोजना गरेको थियो । सातै प्रदेशका स्टार्टअप, आइडिया र इन्नोभेसनमा काम गर्ने युवासँग प्रदेश प्रदेशमा अन्तरक्रिया तथा छलफल गरेर काठमाडौँमा दुई दिने कार्यक्रम गरिएको हो । उक्त स्टार्टअप एण्ड आइडिया फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी डिजिटल स्टार्टअप आईडिया र इन्नोभेसनको सहभागीता थियो ।

कार्यक्रम बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो । सो प्रदर्शनीमा स्कूल कलेजका क्रियाकलापयुक्त स्टलहरु, प्रदेशगतरुपमा र राष्ट्रिय रुपमा सहभागीहरुको स्टल तथा इन्कुवेसनसहितको छनौटमा परेका तीन समूहका ४० जति स्टार्टअप उद्यम एवम् प्रडक्टहरु तथा समृद्धी आइडियाहरुको व्याख्या विश्लेषण र जिज्ञाशा समाधान गर्ने र सम्पर्क एवम् थप जानकारीका लागि ब्रोसर तथा कार्डहरुको वितरण समेत भएको थियो ।

आइसिटी फाउण्डेसन नामक संस्थाले नेपाली बजारमा डिजिटल विकास तथा सोको आन्तरीकिकरणमा सक्रिय भूमिका खेल्दै आएको छ । अवश्य पनि देशमै केही गर्ने हुटहुटी भएका युवाहरूलाई प्रोत्सान र प्रवर्द्धनको खाँचो छ । यस्तो अवस्थामा युवाहरूको प्रतिभालाई सबैमाझ देखाउने र उनीहरूलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्न स्टार्टअप फेस्टले महत्वपूर्ण प्लेटफर्मको काम गर्न सक्छ । यसपटकको स्टार्टअप एण्ड आइडिया फेस्टमा नेपाली युवाले तयार पारेका एआई, ब्लकचेन, मेसिन लर्निङ, ईभी, विभिन्न सिस्टम, सफ्टवेयर तथा हार्डवेयर सोलुसनलगायतका स्टार्टअप इन्नोभेसन र आईडियाहरू राखिएको थियो ।

देशैभरका नयाँ नयाँ स्टार्टअप,ब आईडिया र इन्नोभेसन हेर्न अवलोकनकर्ताको उत्साहजनक सहभागीता थियो भन्ने विषय दुई दिनमात्र सञ्चालन भएको उक्त फेस्टमा १२ हजारभन्दा बढीले अवलोकन गरेको विवरणबाट पुष्टि हुनछ । मेलामा अवलोकन गर्न पुगेका व्यक्तिहरुले देशका युवाहरूको इन्नोभेसनलाई चासोका साथ नियाल्नुका साथ विभिन्न जिज्ञाशाहरु राखेबाट पनि यस खालको मेला समयसमयमा आयोजना हुनुपर्ने देखिन्छ । प्रतियोगितासहितको फेस्टले युवाहरूलाई देशमै केही गर्न प्रेरित गरिरहेको विश्वास गर्न सकिन्छ । देशमा पछिल्लो समयमा कस्ता कस्ता स्टार्टअप, आईडिया र इन्नोभेसन छन् त्यसको प्रतिबिम्ब फेस्टमा देखिएको छ ।

स्टार्टअप एण्ड आईडिया फेस्टमा राजनीतिक उच्चपदस्थ व्यक्तिहरु, सरकारी निकायका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, विभिन्न कम्पनीका संस्थापक, सीईओ, लगानीकर्तालगायत अवलोकनका लागि पुगेको जानकारी पाइयो । आईसीटी अवार्ड २०२३ को प्रि-इभेन्ट क्याम्पियनको रूपमा भएको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्पलाई लिइएको रहेछ । कार्यक्रममा सहकार्य गरेको स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रीडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राखेको थियो ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा नयाँ नयाँ आईडिया, इन्नोभेसन तथा प्रडक्टको प्रदर्शनी, आईडिया पिचिङ, एष्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर तथा गेम रहेका थिए । साथै यो कार्यक्रमका सिलसिलामा आइडिया पिचिङ, वुटक्याम्प, मेन्टरिङ, लगानी अवसरका लागि जानकारी लिने, डिजिटल साक्षरताका साथै पहिचान र पुरस्कारको आधारका रुपमा समेत लिइएको पाइयो । फेस्टमा सातै प्रदेशका ३० बढी स्टार्टअपका साथै आईसीटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, १३ विद्यार्थीहरुका इन्नोभेसन र १४ प्रडक्टले समेत फेस्टमा आफ्ना आईडिया र प्रडक्टहरु प्रदर्शनीमा रहेका थिए ।

कार्यक्रममा अवलोकनकर्ताले आईसीटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १४ प्रडक्ट र १३ राइजिङ स्टार इन्नोभेसनमध्ये पाँच पाँच वटालाई भोट गर्न सकिने व्यवस्था समेत गरिएको थियो । कार्यक्रमको अन्तिम दिन सहभागी भएका सातै प्रदेशका स्टार्टअप, एक्जिबिटर, मेन्टर, आइसिटी अवार्डका उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टलाई सहभागिताको लागि सम्मानित समेत गरिएको थियो ।

मेलाभन्दा अगाडि नै दुई दिनसम्म सञ्चालन भएको वुटक्याम्पमा मार्केटिङ, ब्राण्डिङ, कम्पनी दर्ता, बजार अध्ययन, इक्विटी, कस्टुमर एक्विजेसन लगायत स्टार्टअप तथा आइडियालाई कसरी अगाडि बढाउने भन्ने विषयमा विविध कुराहरू सिकाइएको सहभागिहरुबाट जानकारी पाइयो । किंग्स कलेजसँगको सहकार्यमा आयोजना गरिएको बुटक्याम्पमा स्टार्टअप कसरी सुरू गर्ने, के के कुरामा ध्यान दिने, बजार व्यवस्थापन कसरी गर्ने, लगानी कसरी ल्याउने, दर्ता कसरी गर्ने, आईडियालाई कसरी भ्यालिडेट गर्ने लगायत ज्ञान पाइएको सहभागीको भनाइ थियो ।

यसका साथै बुटक्याम्पमा सहभागी भएकाहरू उद्योगको भ्रमणमा समेत गएका थिए । उनीहरूलाई नेपालका उत्कृष्ट प्रविधि कम्पनीहरू क्लाउड फ्याक्ट्री, लगपोइन्ट, वेद, टेक क्राफ्ट जस्ता कम्पनीहरू भ्रमणमा पनि लगिएको रहेछ । उक्त भ्रमणबाट कम्पनी कसरी सञ्चालन हुन्छ ? के के कुरा आवश्यक पर्छन् ? कस्ता कस्ता चुनौतीहरू आउँछन् ? जस्ता विषयमा जानकारी दिइएको थियो । विशेष गरी स्टार्टअपलाई उद्योगसँग जोड्ने र त्यसको जानकारी दिने भ्रमणको उद्देश्य थियो ।

सातै प्रदेशका स्टार्टअपलाई प्रवर्द्धन गर्न यसपटक प्रत्येक प्रदेशका एक–एक स्टार्टअपलाई आइसिटी अवार्ड २०२३ को ग्राण्ड फिनालेमा प्रोभिसियल रिकग्निसन आईसिटी अवार्ड समेत प्रदान गरिने भएको छ । जसबाट प्रदेशमा स्टार्टअपलाई बढावा दिन, देशमै केही गर्न र गरे हुन्छ भन्ने विश्वास सिर्जना एवम् प्रोत्साहन समेत मिल्ने देखिन्छ । नेपालको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणमा यस पटक विभिन्न १३ विधामा पाँच सयभन्दा बढीको नोमिनेसन प्राप्त भएकोमा उक्त पुरस्कारका लागि दोश्रो चरणको मूल्याङ्कनपछि छनौटमा परेका स्टार्ट अप, प्रडक्ट र इनोभेसनहरु समेत यो फेस्टमा सहभागी थिए ।

आईसीटी अवार्डको ग्राण्ड फिनाले आगामी पुस ६ गते द सोल्टी होटल काठमाडौंमा आयोजना हुनुअघि स्टार्टअप एण्ड आइडिया फेस्ट र स्टिम क्याम्पसँगै अवार्डका लागि दर्जनौँ प्रि-इभेन्ट सञ्चालन हुने र कान्तिपुर टेलिभिजनले २ महिनासम्म स्टार्टअप र आइडिया पिचिङको विशेष कार्यक्रमका रुपमा टेलिभिजन सिरिजहरु पनि प्रशारण गर्ने बुझिएको छ । यसरी सातै प्रदेशमा गएर देशका कुनाकाप्चामा रहेका स्टार्टअप र आईडियालाई प्रोत्साहन र प्रवर्द्धन गर्ने तथा देशको राजधानीमा फेस्टको आयोजना गर्ने लिभिङ विथ आइसिटीको काम सह्रानीय देखिन्छ ।

निष्कर्ष
देशभित्रै युवाहरुलाई सिर्जनशील अवसर प्रदान गर्ने तथा बलियो तथा उत्थानशील स्टार्टअप पारिस्थितिकप्रणालीबाट दिगो विकासमा टेवा पुर्‍याउनका लागि सवै क्षेत्रवीच आपसी संवाद, साझा बुझाई र सहकार्य आवश्यक पर्ने देखिन्छ ।

स्टार्टअपका अवसरहरु सिर्जना गर्दै इन्कुवेसन, इकमर्शको प्रवर्द्धन तथा हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत दिगो विकासलाई संभव तुल्याउनका लागि पनि लगानीको अवसर तथा उद्यमशिलता विकाससँग रोजगारी संभव तुल्याउन यस्ता मेला र संवादहरु सहयोगी रहन्छन् । सकारात्मक अग्रसरताका यी र यस्ता विषयहरुलाई मिडिया कभरेज गरी निरन्तर सूचना प्रवाह समेत भइरहनुपर्दछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *