रिबन

अब फेरि यस्तो कहिल्यै नहोस्

भाग्य र कर्म कुन ठुलो हुन्छ भनेर महाराज युधिष्ठिरले शरशय्यामा सुतेका भीष्म पितामहसँग प्रश्न गर्दा पितामहले भनेछन्-भाग्यभन्दा कर्म ठुलो हुन्छ । भाग्यलाई कर्मले डो¥याउँछ ।

कर्म नगरे भाग्य पनि बन्दैन र भाग्य नभए कर्मको फल पनि स्वादिलोसँग पाइँदैन । ठिक त्यस्तै भयो , इजरायल र प्यालिस्टाइन भित्रको इजरायलविरुद्धको उग्रवादी समूह हमासको अप्रत्याशित आतंककारी आक्रमणमा परी ७ अक्टुबर २०२३ (अर्थात् २० असोज २०८०)करिब हजारभन्दा बढी इजरायली तथा विदेशीहरु मारिए र त्यही संख्यामा इजरायली तथा विदेशीहरु बन्धक बनाइए ।

त्यो अप्रत्याशितरुपमा आकाशमार्गबाट गरिएको रकेट तथा मोर्टार आक्रमण, प्यारासुटबाट अवतरण गरी आक्रमण बम तथा गोलीमार्फत् आक्रमण गर्ने अनि सीमाका तारजाली र खम्बाहरु भत्काएर गरिएको गुरिल्ला आक्रमणमा गरिएको बम आक्रमण तथा गोलीबारीबाट बीभत्स हत्याकाण्ड मच्चिएको थियो ।

त्यसमा दुर्भाग्यले इजरायलमा कृषि विषयमा व्यावहारिक ज्ञान लिन शैक्षिक कार्यक्रम विनिमय गर्ने सहमति अन्तर्गत गएका सुदूर पश्चिम विश्वविद्यालयका नेपाली विद्यार्थीहरुमध्ये १० जना होनहार विद्यार्थीहरुको आक्रमणमा हत्या गरियो । केही विद्यार्थीहरु घाइते भए र अहिलेसम्म एकजना विद्यार्थी हराइरहेका छन् ।

तर नेपाल सरकारले तत्काल गरेको उद्धारको कर्मले हमासको आतंककारी कार्यले यत्तिकै रहेछ हाम्रो जीवन भन्ने परेका २५४ जना नेपाली युवाहरुको भाग्यले नेपालमा आउने मौका पाएका छन् । आउन चाहने बाँकी नेपालीहरुको पनि तत्कालै नेपाल ल्याउने कर्म गरिने बताएर हमासको आक्रमणबाट ज्यान बाँचेका नेपालीहरु शुक्रवार (१३ अक्टुबर)विहान आफ्नो देशको माटो छुन पाएका छन् र मरेर बाँचेको जीवन फिर्ता पाएका छन् ।

यो नेपाल सरकारको उद्धारमा स्वयं परराष्ट्र मन्त्री नारायणप्रकाश साउद आफैँ नेपाल वायुसेवा निगमको हवाइ जहाज लिएर जानु भएको थियो र बाँकी आउन चाहनेहरुका लागि तत्कालै वैकल्पिक व्यवस्था गर्ने वचन दिनु भएको छ ।

७ अक्टुबरको एकाबिहानै घटेको यो दुर्घटना सुकेको खरमा आगो लागेजस्तै गरी संसारभर फैलियो । इजरायलको जस्तो सक्षम गुप्तचर संस्थाले पनि सुइँको सम्म नपाएको भीषण आक्रमण र त्यसको भयावह परिणाम सम्बन्धमा अहिले संयुक्त राष्ट्रसंघमा समेत तातो बहस चलेको छ र अक्टुबर १३ तारिखका नेपालको औपचारिक भ्रमणमा आउन लागेका महासहित अन्तोनियो गुथेरेस समेतले भ्रमण हाललाई स्थगित गरेर इजरायल र हमास समूहका बिचको अप्रत्याशित युद्धले निर्दोष इजरायली , विश्वका अन्य भागबाट इजरायलमा विभिन्न कामले गाजा क्षेत्रमा बसेकोहरु र गाजा क्षेत्रमा रहेका प्यालेस्टाइन जनतामाथि परेको समस्याका बारेमा छलफल हुँदैछ ।

येरुसेलम कस्को पावन भूमि हो भन्ने विवाद रहेको छ र त्यसमा विवाद र समाधान अनेक समयमा खोजिएको छ तर निरपराध , निहत्था , गैरसैनिक विश्व नागरिकहरुमाथि भएको अप्रत्याशित हमला र हत्या काण्डको विश्वले निन्दा गरेको छ र यसप्रकारको उग्रवादी व्यवहारले शान्तिपूर्वक हुने वार्ता र वार्ताबाट प्राप्त प्यालेस्टाइन राज्यको प्रशासनिक एकाइको सम्मानलाई छायामा पारेको छ र विश्वका शान्तिप्रेमी जनता र राज्यहरुको प्यालेस्टाइनको बाँच्न पाउने अनि स्वतन्त्र राज्यका सम्मान छिटै पाओस् भन्ने चाहनालाई टाढा धकेलिदिएको देखिन्छ ।

थोरै आतंककारीहरुको हमलाले इजरायलले गाजापट्टीमा पानी, बिजुली , खाद्यान्न र इन्धनमाथि लगाएको प्रतिबन्धले गर्भवती, बृद्ध ,बालक तथा अशक्तहरुलाई भने नराम्रो असर परेको छ एकातिर भने बन्धकहरुको निःशर्त रिहाइ नहुँदासम्मका लागि यो नाकाबन्दी कायम रहने इजरायलको चेतावनी छ किनभने हमासका आतंककारीहरु गाजापट्टीको त्यही भागमा लुकेर बसेका छन् , संगठित छन् र हजारौँ रकेट, मोर्टार र बन्दुक लिएर हिँडिरहेका छन् भन्ने सूचना इजरायलसँग छ ।

बेलामौकामा हमासले गर्ने आक्रमणप्रति त्यो क्षेत्र र पूरा इजरायल सतर्क रहेको हुन्छ तर यसपटकको आकाशमार्ग र स्थलमार्गबाट एकैचोटि भएको भीषण अमानवीय हमलाको कारणले हमास र इजरायलका बिचको युद्धले लामो समय लिने देखिन्छ । त्यसैले पनि विभिन्न पेसाका लागि गएका नेपाली कामदारहरु तथा शैक्षिक विनिमयमा रहेका विद्यार्थीहरुसमेतलाई समयमा नै उद्धार गरिनु पर्छ जुन कुरामा नेपाल सरकार सतर्क देखिन्छ ।

१९ वर्ष अघिको इराक घटनासँग उस्तै गरी हत्या गरिनुले यो घटना अनायास जोडिन पुगेको छ । युद्धग्रस्त क्षेत्रमा जाने क्रमलाई अब ध्यानमा राखेरमात्र शैक्षिक तथा रोजगारीका लागि गन्तव्य रोज्ने काम गर्नु पर्ने देखिन्छ भन्ने पनि यसले पाठ सिकाएको छ ।

यस अमानवीय आक्रमणका परी ज्यान गुमाउनु भएका नेपाली विद्यार्थीहरुको सम्मानमा नेपालमा एकदिन शोक दिवस मनाइएको छ र त्रासदीमा बाँचेका विद्यार्थीहरुलाई उद्धार गरिएको छ । यसैगरी बाँकी नेपाली कामदार तथा विद्यार्थीहरुलाई दसैँभित्रै उद्धार गरियोस् र गएका नेपालीहरुको अनुभवका आधारमा अब विद्यार्थी विनिमय गर्ने र रोजगारीको गन्तव्यको पनि पुनर्विचार गरियोस् भन्ने अपेक्षा गर्दछौँ ।

नेपाल सरकार, नेपाल सरकारका परराष्ट्र मन्त्री एन पी साउद र परराष्ट्र मन्त्रालयका संवेदनशील कर्मचारी सहित इजरायल स्थित राजदूतावास, इजरायल सरकार सबैलाई तत्काल गरिएको उद्धारप्रति धन्यवाद दिनैपर्छ र नेपाल फर्केका विद्यार्थीहरुको ,अब त बाँचियो भन्ने , भावनाप्रति खुसी व्यक्त गर्दै हराएका विपिन जोशीको खोजीमा रेडक्रस , राष्ट्रसंघ समेतले तदारुकता देखाऊन् भन्ने आशा पनि गर्न सकिन्छ । जजसलाई हमासले बन्धकका रुपमा लिएका छन् आफ्ना हमासका सैन्यहरु इजरायलको कैदबाट भन्ने कुरा छ, त्यसमा मानवीय संवेदनाको काम दुवैतर्फबाट हुनेछ भन्ने पनि अपेक्षा गर्नुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *