धर्म/सस्कृति

दशैंः कसैको लागि ‘दशा’ नबनोस्

काठमाडौं । सार्वजनिक सवारी साधनमा पाकेटमारको संख्या ह्वात्तै बढेको छ । जसकारण सार्वजनिक यातायातमा यात्रा गर्न डरमर्दो भएको छ । सार्वजनिक यातायातमा यात्रुको सामान चोरी भइरहेको हुन्छ । कार्यालय समय र बेलुका पाकेटमारहरूले पाकेट मार्छन् । भीडभाड भएको मौका छोपेर उनीहरूले चोरी गर्छन् ।

दशैंको आगमनसँगै चोरीका घटना पनि बढ्न थालेका छन् । दशैं लागेसँगै किनमेल जानेको चहलपहल बढेको छ । बाटोमा हिँडेकै अवस्थामा समेत चोरी भइसकेको हुन्छ । उभिएकै ठाउँमा पनि कतिखेर पाकेट मारिसक्छन् थाहा नै हुँदैन । बजारमा पनि व्यापक पाकेटमारका घटना हुने गरेका छन् । कसैले तलब थापेर ल्याएका हुन्छन्, त्यो चोरी गरिदिन्छन् । कोही ऋणधन गरेर घर जानका लागि खर्च तयार पार्छन्, त्यो पनि चोरी भइहाल्छ ।

सर्वसाधारणलाई दशैं मान्न घर जान हतारो छ । उमंगका साथ घर जान आँटेका हुन्छन्, चोरले पाकेट मारिँदा तनाव हुन्छ । अहिले मात्र होइन, विगतदेखि नै चाडबाडमा चोरीको घटना बढ्ने गरेको पाइन्छ । दिनदहाडै चोरी हुन्छ । जताततै भीड हुने भएकाले चोरलाई चोर्न सहज हुने गरेको छ । जसकारण बाटो हिँड्दा, बसमा यात्रा गर्दासमेत असुरक्षित महसुुस हुने गरेको छ ।

कतिबेला कहाँ लुटिने हो ? भन्न सकिँदैन । दिउँसै घर फुटाएर चोरी हुने गरेका छन् । सर्वसाधारणले असावधानी नअपनाउने भएकाले पनि चोरी हुने गरेको छ । घर जाने खुसीमा उनीहरू सबै कुरा बिर्सिन्छन् । दशैं मान्न भनेर झोला बोक्छन् अनि दौडिन्छन् । घरको झ्यालढोका थुनेको छ कि छैन भन्ने पनि थाहा हुँदैन । घर जान लागेको भनेर घरबेटीलाई समेत जानकारी गराउँदैनन् ।

नेपाल प्रहरीले बारम्बार घर जानुअघि घरबेटी, छिमेकी वा प्रहरी कार्यालयमा जानकारी गराउन सुसूचित गर्दै आएको छ । तर, त्यसरी जानकारी गराएर हिँड्नेको संख्या न्यून छ । विगतभन्दा अहिले चोरीका धेरै घटना भएका छन् । चोरीका घटना बढ्नुका धेरै कारण छन् । पहिलो त बढ्दो बेरोजगारी नै हो । रोजगारी छैन । भएकाहरू पनि मुलुकमा आर्थिक मन्दी देखिएसँगै बेरोजगार भएका छन् ।

दशैं सबैको चाड हो । वर्ष दिनमा आउने चाडमा सबैलाई राम्रै खाऊँ, राम्रै लाऊँ भन्ने हुन्छ । तर, कहाँबाट ल्याउने ? आम्दानीको स्रोत छैन । पछिल्लो केही समययता घरघरमा काम खोज्दै आउनेहरूको संख्यामा वृद्धि भएको छ । काम त पाइएन, कसैबाट सरसापटी लिऊँभन्दा पनि पाइँदैन । खान नपाएपछि मान्छे चोरीमा संलग्न हुने गरेको देखिएको छ । आज चोर्छ, भोलि चोर्छ, उसलाई त्यसकै लत लाग्छ । तर, सबैले साथ सहयोग गर्ने हो भने यी घटनामा कमी आउन सक्छ । घरधनी, छरछिमेक, आफन्तको यसमा ठूलो भूमिका छैन । आम्दानी नभएकाले सहयोग गर्नुपर्छ । भोलि उसले जहिले सक्छ, त्यहिले तिर्छ ।

मान्छेले सबैभन्दा थेग्न नसक्ने भोक हो । भोक लागेपछि हात फैलाइन्छ । भोक लाग्दा कसैले खान दियो भने उसले चोर्दैन । भोक सहनै नसक्ने भएपछि अनि उसले चोर्छ । चोरेर खानु कसैको रहर होइन । आम्दानी हुने, व्यापार व्यवसाय हुनेले त चोर्दैनन् । जनसंख्या बढेको बढ्यै छ । जनसंख्या बढ्नु भनेको खाने मुख बढ्नु हो । जनताको संख्या बढिरहेको छ, तर सरकारले रोजगारीको सुनिश्चितता गर्न सकेको छैन । सरसापटी पाउनेहरू कामका लागि खाडी छिरिरहेका छन् ।

बलले सक्नेहरू धमाधम विदेशिरहेका छन् । केही समयअघिसम्म मजदुरीको काम पनि पाइन्थ्यो । इँटा बोक्ने, बालुवा चाल्ने, रंगरोगन गर्नेहरूले राम्रै आम्दानी गरिरहेका थिए । अहिले त्यो पनि पाइँदैन । मन्दीले गर्दा घर बनाउने छाडिएपछि मजदुरी गर्नेहरू मर्कामा परेका छन् । घरायसी काम गर्नेहरूलाई समेत भटाभटी कामबाट निकालिएको छ । होटल, रेस्टुरेन्ट, बैंक तथा वित्तीय संस्था, संघसंस्था र पसलमा काम गर्नेबाट पनि रोजगारी खोसिएको छ ।

सर्वसाधारणको चुलो निभ्न लागिसकेको छ । एकातिर काम छैन, अर्कोतिर महँगी बढेको बढ्यै छ । अनि कहाँबाट ल्याएर छाक टार्नु ? काम पाउँदा उनीहरूलाई त्यति समस्या हुँदैन । व्यापार व्यवसाय सुकेपछि व्यापारीहरू पनि मर्कामा परेका छन् । दिनभर बोहनी गर्न पनि समस्या परेको व्यापारीहरूको गुनासो छ ।

सहरमा बस्नै नसक्ने भएपछि धेरै आफ्नो गाउँठाउँ फर्किसकेका छन् । कोठाभाडा तिर्न, बिहानबेलुका छाक टार्न र छोराछोरी पढाउनै नसक्ने स्थिति सिर्जना भएपछि उनीहरू गाउँ फर्किएका छन् । अधिकांश ठाउँमा टुलेटको पोस्टर टाँसेको देखिन्छ । यो संख्या दशैंपछाडि झनै बढ्ने अनुमान लगाइएको छ । देशको अर्थतन्त्र डामाडोल छ । सबैको व्यापार व्यवसाय ठप्प बनेको छ । जसले मुलुकमा चोरी, ठगी, डकैतीको आतंक ल्याउने निश्चित छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कुनै मतलब छैन । रोजगारीको सिर्जना कसरी गर्ने ? जनताको पेट कसरी भर्ने ? डामाडोल बनेको अर्थतन्त्रलाई कसरी सुधार गर्ने ? उनीसँग यसको योजना नै छैन । सर्वसाधारणले कर तिर्न छाडेका छन् । बिहान बेलुका खानलाई छैन, केको कर तिर्नु ? जसकारण सरकारले निकै न्यून राजश्व उठाइरहेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई बजारको अवस्था के छ ? थाहा छैन । उनले कहिले सडकमा आएर जनताको अवस्था बुझेका छैनन् । न उनले सञ्चारकर्मी र उद्योग व्यवसायीले बोलेका कुरालाई मनन गर्छन् । सरकारले भन्दा बढी रोजगारी निजी क्षेत्रले दिएको छ । व्यक्तिहरूले आफ्नै लगानीमा व्यवसाय गरेका छन् । राज्यलाई राजश्व तिरेका छन्, रोजगारी पनि दिएका छन् । तर, ती व्यवसायी डुबेसँगै धेरै बेरोजगार भए । लगानीकर्ता डुब्नु भनेको उसलाई मात्र घाटा हुनु होइन ।

उसको व्यवसाय डुब्नेबित्तिकै उसबाट रोजगारी पाइरहेका बेरोजगार हुन्छन् । राज्यले राजश्व पाउँदैन । उद्योग व्यवसायी महासंघका अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्र ध्वस्त भइसकेको घोषणा गरेका छन् । रोजगारीको सुनिश्चित गर्नु राज्यको दायित्व हो । जनताले रोजगारी देऊ भनिरहेका छन् । सबैले रोजगारी पाउने हो भने कसले चोर्छ ? सरकारी कर्मचारीलाई मात्रै भोक लाग्छ, महँगी पनि उनीहरूलाई मात्र बढ्छजस्तो गर्छ सरकार । जनताको विषयमा सोच्न राज्य सञ्चालकहरूसँग समय नै छैन । जनता खान नपाएर भोकभोकै तड्पिएका छन् । तर सरकारलाई कुनै फरक परेको छैन ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ जनताप्रति जिम्मेवार भएको देखिँदैन । गृहमन्त्री श्रेष्ठले आपराधिक क्रियाकलाप रोक्न कुनै योजना अघि सारेका छैनन् । न मुलुकभरका जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई सुरक्षा कडाइका लागि परिपत्र गरेका छन् । बैंक तथा वित्तीय संस्थाबाट पैसा निकाल्दा उनीहरू चनाखो हुँदैनन् । चाडबाडमा चोरहरू बैंक तथा वित्तीय संस्थाबाहिर ढुकेर बस्छन् । अहिले पनि गहना लगाएर हिँड्ने क्रम जारी छ । सरकारले घरैपिच्छे सुरक्षा दिन सक्दैन । नागरिक आफैं सचेत हुनुपर्छ । जबसम्म नागरिक जिम्मेवार हुँदैनन्, तबसम्म यस्ता घटना घट्छन् । दशैं कसैका लागि दशा नबनोस् । दशैं मनाउने नाममा कसैको सम्पत्ति नगुमोस् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *