रिबन

दशैंका बेला निजी प्लेटका सवारीसाधनको ठगीधन्दा

नेपालीहरूको महान् चाड दशैं दैलोमा छ । दशैं लागेसँगै सबैलाई आफ्नो थातथलो जानकै हतारो छ । आफ्नो जिल्ला छाडेर अन्त बसेका मात्रै होइन, विदेशबाट समेत नेपाली दशैं मान्न मुलुक फर्किएका छन् । रोजगारी, पेसा व्यवसाय, पढाइको सिलसिलामा काठमाडौं उपत्यका र जिल्लाको सदरमुकाममा बस्दै आएका आमनागरिकहरू पनि धमाधम फर्किरहेका छन् । पैसा हुनेहरू प्लेनको टिकट काटेर घर फर्किएका छन् ।

जहाजको भाडा तिर्न नसक्नेहरू बसको धक्काधक्की खाएर घर गइरहेका छन् । तैपनि एक हजार रुपैयाँ भाडा तोकिएको बाटोमा पाँच हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । कतिपय सर्वसाधारण ट्याक्सी र निजी प्लेटका सवारीसाधन रिजर्भ गरेर पनि गाउँ गइरहेका छन् । दशैं भएकाले चालकले जति भन्यो त्यति भाडा तिर्न बाध्य छन्, सर्वसाधारण ।

लामो रोडमा चल्ने सवारीसाधन वा हवाई कम्पनीले दशैंको मौका छोपेर ठग्नु नौलो कुरा होइन । विगतदेखि चलेको ठग्ने क्रम जारी नै छ । दशैं लागेसँगै सबैभन्दा धेरै भ्याइनभ्याइ हुने यातायात व्यवसायीलाई हो । झन् ट्याक्सीको आवश्यकता धेरै हुन्छ । कोठाबाट एयरपोर्टसम्म जान पनि ट्याक्सी, बसस्टपसम्म जान पनि ट्याक्सी । हातमा टन्न झोला हुन्छ अनि ट्याक्सी नचढिकन त सुःखै छैन ।

अहिले पठाओ पनि सञ्चालनमा छ । तर, पठाओको पनि मनोमानी चलेको छ । एकजना भए त पठाओमा गए पनि हुन्छ । पठाओ रातो प्लेटमा दर्ता भएकाले सरकारले यसको भाडादर कायम गरेको छैन । कुनैले ३६ त कुनैले २६ रुपैयाँ किलोमिटरको दरमा पठाओ चलाइरहेका छन् । पठाओमार्फत ट्याक्सी बुक गर्यो भने सुुरुमै १७७ रूपैयाँ तिर्नुपर्छ । यो त सेवाशुल्क मात्रै हो । जबकि सरकारले फल्याक डाउनबापत ५० रुपैयाँ तोकेको छ ।

पठाओ ट्याक्सीको भाडादर पनि सरकारले तोकेअनुरूप छैन । अन्य ट्याक्सीको त झनै कुरै नगरौं । मान्छे हेरेर चालकले भाडा माग्छन् । मिटरमा जाऔं भनेर सयौं बिन्ती गरे पनि मान्दैनन् । छोटो दूरीमा ट्याक्सी जाँदैन । चालकको जिब्रोले भाडा तोक्छ । भक्तपुर उपत्यकाभित्रै पर्छ । तर, सल्लाघारीस्थित पार्किङमा ट्याक्सी होइन, निजी प्लेटका कार पार्क गरिएको हुन्छ ।
यो त उदाहरण मात्रै हो । भक्तपुरका अन्य ठाउँमा पनि यही अवस्था छ ।

गाउँबाट सामान बोकेर आएकालाई निजी प्लेटका गाडी चालकले दिउँसै रात पारिदिन्छन् । एक किलोमिटर बाटोमै एक हजार रुपैयाँ लिन्छन् । सल्लाघारीबाट अनामनगर आएको २५ सय रुपैयाँ लिन्छन् । निजी प्लेटका सवारीले खुलेआम ठग्दासमेत ट्राफिक टुलुटुल रमिता हेरेर बसेको छ ।यातायात तथा सवारी ऐन, २०४९ र नियमावली २०५४ मा निजी प्रयोजनका लागि दर्ता भएका सवारीसाधनले भाडामा यात्रु बोक्न नपाउने व्यवस्था गरेको छ । भाडाको गाडीजस्तो निजी प्लेटको सवारीसाधनले राजश्व तिर्नुपर्दैन ।

भाडाको गाडीले प्रत्येक ६ महिनामा रोड परमिट, जाँचपास र धुँवा पासको राजश्व तिर्नुपर्छ । घरेलु र कम्पनीमा गएर पञ्जीकरण पनि हुनुपर्छ । तर, निजी प्लेटका सवारीको हकमा यो नियम लागू गरिएको छैन । एउटा सवारीमा गाडी धनीले तीन लाखदेखि करोडौं रुपैयाँ लगानी गरेका हुन्छन् । त्यसबापतको राजश्व खोइ ? आयल निगमले पेट्रोल, डिजेलको भाउ घटाउँदा श्रम, रोजगार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले भाडा घटाउने बढाउने गर्छ ।
निजी प्लेटमा यो पनि लागू हुँदैन । जनसंख्या बढेको छ ।

यातायातको खाँचो सबैलाई पर्छ । बिरामी हुँदा, आपतविपत पर्दा ट्याक्सी चाहिन्छ । तर, पर्याप्त ट्याक्सी नहुँदा निजी प्लेटका सवारीसाधन सञ्चालनमा आएका छन् । निजी प्लेटका सवारीसाधनले यात्रुलाई ठगेर कमाइरहेको छ । यद्यपि, सरकारले राजश्वसमेत नपाएको अवस्था छ । न सरकार यातायात क्षेत्रमा वर्षौदेखि भएको सिन्डिकेट हटाउन सक्छ, न यात्रुलाई सेवासुविधा नै दिन सक्छ । ट्याक्सीको मात्रै नभई अन्य सार्वजनिक सवारीसाधनको समेत लामो समयदेखि दर्ता बन्द छ । फोस्टक टेम्पोको दर्ता पनि खोलिएको छ । ट्याक्सी व्यवसायीहरूले एउटै गुनासो गर्दै आएका छन्, ‘निजी प्लेटका सवारी साधनले यात्रु बोक्यो ।’ उनीहरूले यसको विरोध गर्दै आएका छन् । हामीले यात्रुलाई सेवासुविधा दिन सकेनौं भन्ने कुरा ट्याक्सी व्यवसायीलाई राम्रोसँग थाहा छ ।

ट्याक्सी व्यवसायीले विगतदेखि नै यात्रुलाई दादागिरी देखाउँदै आएका छन् । अनि यात्रुले विकल्प नखोजेर के गर्नु ? ट्याक्सी चालकहरूकै कारणले रातो प्लेटका सवारीसाधन चलनचल्तीमा आएको छर्लंग छ । आफैं दादागिरी देखाउने अनि आफैं मर्कामा परे भनेर नौटंकी देखाउन मिल्छ ? ट्याक्सी चालकहरू मिटरमा जान नमान्ने, छोटो दूरीमा जान नमान्ने र जसरी हुन्छ यात्रुलाई ठग्ने । पैसा तिरेपछि राम्रो सेवासुविधा पाउनु जनताको हक हो । जनताले समयसँगै परिवर्तन खोज्छन् । तर, ट्याक्सी व्यवसायीले परिवर्तन गर्न चाहेनन् । उनीहरूले आफ्नो मनोमानी सधैं चलिरहन्छ भन्ने सोचे । त्यसको फाइदा निजी प्लेटका सवारी साधनले लिए । आफ्नै मूर्खताका कारण ट्याक्सी चालक नाङ्गिँदै गए । अहिले ट्याक्सीभन्दा धेरै निजी प्लेटका सवारीसाधनमा छन् ।

सर्वसाधारण निजी प्लेटका सवारी साधनबाट सन्तुष्टि नै छन् । तर, यसबाट राज्य र जनता दुवैलाई बेफाइदा भएको छ । राज्यले राजश्व पाएको छैन् । यता, यात्रुले पनि मँहगो भाडा तिर्नुपरेको छ । ट्याक्सीले पाँच सय रुपैयाँ लिने बाटोमा निजी प्लेटका सवारीसाधनले १५ सय रुपैयाँ लिइरहेका छन् । यद्यपि, यात्रुलाई यसले फरक परेको छैन । किनकि उनीहरूले सेवा पाइरहेका छन् ।

ट्याक्सी चालकले आफ्नो खुट्टामा आफैंले बञ्चरो हानेका छन् । ट्याक्सी चालकहरू आन्दोलन गर्नमै व्यस्त भए, निजी प्लेटका सवारीले बाटो लिइहाले । संगठन खोल्ने, राजनीतिक दलको झोले बन्ने, मिडियाबाजी गर्नेको परिणाम अहिले ट्याक्सी चालकहरूले भोगिरहेका छन् । ट्याक्सी चालक कहिले सुध्रिन खोजेनन । उनीहरूको सरकारको ऐनकानुन पनि टेरेनन् । ट्याक्सी आकस्मिक अवस्थामा चाहिने साधन हो ।

बिरामीसँग पैसा नभए पनि चालकले सित्तैमा अस्पताल पुर्याइदिनुपर्छ । मानवता सबैले देखाउनुपर्छ । ट्याक्सी व्यवसायीले धर्म, सेवा र आफ्नो कर्तव्य नै बिर्सिए । जसरी हुन्छ ठग्ने र लुट्नेतिर उनीहरू केन्द्रीत भए । ट्याक्सी चालक यात्रुबाट घृणीत बनेका छन् । ट्याक्सीको सिट अहिले पनि त्यस्तै फोहोर छ । चालक पनि फोहोरी, अधिकांश चालकलाई बेलुका खाएकै रक्सीले छोडेको हुँदैन ।

ट्याक्सी पनि सबै थोत्रा, पुराना र कबाडी छन् । फोहोर ट्याक्सीका कारण यात्रुको लुगा बिग्रिन्छ । पैसा चाहिँ लिने अनि सुविधा नदिने । यो त दिँउसै लुटेको भएन र । निजी गाडी हेर्ने हो भने चिटिक्क बनाएर राखिएको हुन्छ । चालकहरूले यात्रुलाई त मख्ख पारिदिन्छन् । ट्याक्सी चालक घरमा श्रीमतीसँगको झगडा यात्रुमाथि पोख्छन् । निजी प्लेटका चालकले हाँसिहाँसी यात्रुलाई ठग्छन् । निजी प्लेटका चालकले यति बाठा हुन्छन् कि ट्राफिकले सोधपुछ गर्यो भने आफ्नै गाडी हो भन्न यात्रुलाई सिकाउँछन् । विकसित मुलुकमा कम्पनीमार्फत ट्याक्सी सञ्चालन भएको हुन्छ ।

लक्जरी ट्याक्सी हुन्छन् । चालकले मिटरमा उठेभन्दा बढी भाडा लिँदैनन् । टिप्स दियो भने पनि लिन मान्दैनन् । तर, हाम्रो मुलुकमा सबै ७९६ सिसीका थोत्रा ट्याक्सी चलेका छन् । चालकले टिप्स पाए के छोड्थें, दिउँसै ठगिदिन्छन् । यहाँ त जसरी हुन्छ, ठग्ने र लुट्ने हो । हामी सुध्रिनुपर्छ, जिम्मेवार हुनुपर्छ भन्ने यहाँ छैन । ट्याक्सीको लुटको धन्दाले सीमा नाघिसकेको छ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *