
काठमाडौं । कोशी घटनाले नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच झन् झन् दूरी बढाएको छ । १४औं महाधिवेशनमा एउटै समूहबाट सभापति र महामन्त्रीमा निर्वाचन लडेका कोइराला र थापाबीच केही समयअघिदेखि नै संवादहीनताको अवस्था थियो । कोशीमा एमालेको सहयोगमा सरकार गठनको ‘मुभ’ गर्दा कोइरालाले आफूसँग कुनै सल्लाह नगरेको भन्दै गगन असन्तुष्ट बनेका छन् ।
कोइराला र थापाबीच गत वैशाख २० मा इतर समूहबाट सरकारमा मन्त्रीको नाम पठाउने विषयबाट किचलो सुरु भएको थियो । शेखर–गगन समूहले तीन मन्त्री दाबी गरेको थियो । त्यसमा सभापति शेरबहादुर देउवा पनि तयार भए । तर, कोइरालाले अन्तिम समयमा थापालाई जानकारी नदिई देउवालाई नाम बुझाएर सिंगापुर लागे ।
देउवाले धनराज गुरुङ र डिगबहादुर लिम्बूलाई मात्र मन्त्री बनाएपछि दुई नेताको सम्बन्ध चिसियो । थापा प्रदीप पौडेललाई मन्त्री बनाउन चाहन्थे । तर कोइरालाकै असहयोगका कारण उनी मन्त्री बन्न सकेनन् । गत साउन २ मा बसेको केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने विषयमा समेत कोइरालाले आफ्नो समूहको भेला बोलाएनन् । तीन तहको निर्वाचनपछि बसेको बैठक महत्वपूर्ण थियो । १० महिनापछि बसेको केन्द्रीय समिति बैठकमा कोइरालाले महामन्त्री थापाको आलोचना गरे ।
त्यसपछि थापाले बैठकमा इतरको भूमिका कमजोर बनाएको आरोप कोइरालामाथि लगाए । साउन १८ मा कोइरालाले सभापतिसँग नजिकिएको र महामन्त्री थापासँग टाढिएको विषयमा सत्यता नरहेको स्पष्टीकरण दिएका थिए । उनले आफू गगन थापासँगै रहेको बताए ।
भदौ १७ मा थापाको उपस्थितिमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलसहित बोलाएर इतर समूहको भेला आयोजना भयो । जसमा कोइराला उपस्थित भएनन्् । असोज २ मा विश्वप्रकाश र प्रदीपसमेतलाई बोलाएर कोइरालाले बालुवाटारमा भेला गरे । त्यसमा महामन्त्री थापा पनि सहभागी थिए । त्यसयता कोइराला र थापा एउटै मञ्चमा देखिएका छैनन् । कोशीमा नयाँ सरकार गठनबारे छलफल गर्न असोज २३ मा कांग्रेस पदाधिकारी बैठक बसेको थियो । बैठकमा महामन्त्री थापाले सरकार गठनबारे चासो राखेका थिए ।
यसबीचमा कोइराला एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर संवादमा रहे ।
उनले आफू निकट मिनेन्द्र रिजाललाई कोशीमा विद्रोह गर्न तयार पारेको थापाले पत्तै पाएनन् । जब संविधानको धारा १६८ को उपधारा ५ अनुसार कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीको दाबी पेस गरे, तब मात्र एमालेले कांग्रेसमा खेल्न खोजेको थापाले पत्तो पाए । सोही दिन गोरखामा आयोजित कांग्रेसको एक कार्यक्रममा महामन्त्री थापाले कांग्रेसलाई एमालेकरण हुन नदिने अभिव्यक्ति दिए । यसले पनि कोइरालासँग थापा आक्रोशित रहेको पुष्टि गर्छ ।
१४औं महाधिवेशनमा निर्माण भएको शेखर–गगन समूह कोशीसम्म आइपुग्दा सग्लो रहेन । माओवादी नेतृत्वको संघीय सरकारबाट बाहिरिनुपर्नेमा भने यी दुई नेता एकमत रहे पनि कोशी प्रकरणमा भने उनीहरूको मत बाझिएको छ । थापा समूहले कोशीको विद्रोहलाई पार्टीभित्रको अराजकता नै भनेको छ । कोशी घटनाले महामन्त्रीद्वय थापा र शर्मा एक ठाउँमा छन् । पार्टी सभापति शेरबहादुर देउवा पनि कोइरालासँग असन्तुष्ट छन् । सोमबारको पदाधिकारी बैठकमा महामन्त्री थापा र शर्माले कोशी घटनाले पार्टीमा अराजकता बढाउने भन्दै बेलैमा निर्णय गर्न देउवालाई सुझाव दिएका थिए ।
कोशी घटनापछि शेखर र गगनबीच कुनै संवाद भएको छैन । विकसित घटनाक्रम हेर्दा दुवैबीच सजिलै प्याचअप हुने देखिन्न । बुधबार कोशीका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिँदैछन् । विश्वासको मत लिएपछि कार्कीले कस्तो मुभ गर्नेछन्, त्यसले शेखर र गगनबीचको अगाडिको सहकार्य तय गर्ने नेताहरूको भनाइ छ । गगन सुरुमा गिरिजाप्रसाद कोइराला समूहमा थिए । त्यसपछि उनी कृष्णप्रसाद सिटौलाबाट महामन्त्रीमा उठे । तर पराजित भए । १४औं महाधिवेशनमा शेखर पक्षबाट महामन्त्रीमा उठे र जिते पनि । अब उनी शेखर समूहमै रहने निश्चित छैन । उनी आफैं आफ्नो समूह निर्माणमा लागेका छन् ।
कोशी कांग्रेसमा देखिएको विद्रोहले प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डमाथि पनि गठबन्धन जोगाउन चुनौती थपेको छ । कांग्रेसमा आफ्नै समर्थनमा बनेको सरकारलाई हेर्ने तीन धार हुँदा सरकार र पार्टी नेतृत्व दुवैप्रति प्रश्न उठेको छ । कांग्रेसमा नेतापिच्छेका गुटले नेतृत्वलाई चुनौती दिइरहेका छन् । यही अवस्था रहिरहने हो भने कांग्रेसको आन्तरिक संगठन प्रभावित मात्र हुँदैन, त्यसको असर समग्र राजनीतिक समीकरणमा पनि पर्न सक्ने चिन्ता सुरु भएको छ ।