राजनीति

नेपालमा व्यापारीहरूको झोले नेता को को ?

काठमाडौं । विभिन्न राजनीतिक पार्टीबाट चुनाव जितेका सांसदहरू सदनमा महँगीको विषयमा कुरा उठाइरहेका हुन्छन् । उनीहरू भन्छन्, ‘मँहगी बढ्यो, नियन्त्रण गर्नुपर्यो ।’ दिउँसो सदनमा जनताको कुरा उठाउँछन् । तर, ती सब तिनका नौटंकी मात्र हो । दिनमा सदनमा चिच्याइरहेका सांसद राति व्यापारीकै घर पुग्छन् । सांसद पनि व्यापारीका झोले बनेको हो कि भन्ने जनताले आशंका गर्न थालेका छन् ।

चाहे संघका हुन् या प्रदेशका, चुनाव लड्ने बेलामा नेताहरूले व्यापारीबाटै पैसा लिएर लडे । सांसदले त चुनाव लड्ने बेलामा व्यापारीबाट पैसा लिए भने राजनीतिक दलका नेताको त कुरै नगरौं । ‘जनताको आवाज हुँ’ भन्दै कराउने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने व्यापारीहरूको ब्रान्ड एम्बेसडर नै भइहाले । उनी पहिले सिमेन्ट, डण्डीको विज्ञापन खेल्थें । व्यापारीसँग उठबस भएका लामिछानेले सदनमा जे–जे भने पनि उनी व्यापारीको झोले हुन् ।

उनले आफू गृहमन्त्री हुँदा व्यापारीहरूलाई रातो कार्पेटमा स्वागत गरे । व्यापारीहरूले विज्ञापनमा कलाकारलाई खेलाएका हुन्छन् । हिजो चितवन नम्बर २ मा उनका लागि कलाकारहरूले भोट मागे । अहिले लामिछानेले सदनमा उभिएर जनताको कुरा बोल्नु भनेको ‘गोहीको आँशु झार्नु’ हो ।

हरेक राजनीतिक दलले व्यापारीबाट पैसा लिएर चुनाव लडेका छन् । जसकारण व्यापारीहरूले मनलाग्दी भाउ बढाउँदा पनि नेताहरू मौन बसेको स्पष्ट छ । शेरबहादुर देउवा, केपी ओली, माधवकुमार नेपाल, राजेन्द्र लिङ्देन, महन्थ ठाकुर, उपेन्द्र यादवलगायत सबै चन्दा लिएर चुनाव लडेका हुन् भन्ने कुरा जनताबाट लुकेको छैन । सर्वसाधारणले बजार भाउ बढ्नुको कारण छर्लं भनिदिन्छन् । जुन पार्टीको प्रधानमन्त्री आयो, व्यापारीहरू त्यही पार्टीको बन्छन् । जो प्रधानमन्त्री हुन्छ, उसको घरमा हरबखत व्यापारीको लाइन हुन्छ । राजनीतिक पार्टीहरूले चन्दा लिँदा व्यापारीहरूले आफ्नो मनोमानी चलाएका छन् ।


राजनीतिक दलका नेता र जनप्रतिनिधिहरू पनि व्यापारीका झोले हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सांसदहरू भ्रष्टाचार गर्न र व्यापारीको हितमा काम गर्न आएका हुन् भनेर खुलेरै भनेका थिए । महँगीले सीमा नाघिसकेको छ । तर, राज्य सञ्चालक र सांसदहरूलाई कुनै मतलब छैन । व्यापारीहरूले आफ्नो मनमर्जी चलाएका छन् । सांसद हुनु र नहुनुले कुनै फरक पारेकै छैन ।

जनताका विषयमा बोलिदिने र समस्या सुनिदिने यहाँ कोही पनि छैन । आफ्ना आवाज उठाउलान् भनेर चुनेर पठाएका जनप्रतिनिधि कमिसन खान र ठेक्कापट्टा मिलाउनमै व्यस्त देख्दा जनता चिन्तामा परेका छन् । बजार भाउ आकासिएको छ । महँगीले आमसर्वसाधारणको ढाड सेकेको छ । हरेक सामानमा मूल्यवृद्धि भएको छ । बिहान बेलुका गर्जो टार्न धौं–धौं परेको छ । नेपाल राष्ट्र बैंकले साढे ८ प्रतिशतले महँगी बढेको जानकारी दिएको छ ।

बजारमा व्यापक कालोबजारी छ । व्यापारीले जति उपभोक्ता ठगे पनि सरकार चुइँक्क बोल्दैन । बेरोजगारीको समस्या जटिल बन्दै गएको छ । खान नपाएर आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भएको छ । तर, कसैले कुनै चासो लिएको छैन । जनताप्रति कोही उत्तरदायी छैनन् । कसरी हुन्छ व्यापारीलाई पोसौं, आफ्नो क्षेत्रमा बजेट हालौं र भ्रष्टाचार गरौं भन्नेमा मात्र जनप्रतिनिधिको ध्यान छ ।

दलले दिएका आश्वासन, खोक्रा भाषणदेखि जनता आजित भइसकेका छन् । कहिले एमाले त कहिले कांगे्रसलाई जनतालाई भोट दिए । जनताले सबै पार्टीको काम हेरे । कांग्रेसले गरेन, एमालेलाई दियौं, एमालेले गरेन, माओवादीलाई दियौं । यही क्रम चलिरह्यो । जनतासँग योबाहेक विकल्प भएन । घुम्दैघुम्दै उनीहरू त्यही ठाउँमा आएर ठोक्किन्थे । राजनीतिक पार्टीहरूले पनि यसको फाइदा उठाए । त्यसले गरेन अब हामी गर्छौं भनेर जनतालाई हरबखत झुक्काइयो ।

जनताले दलको सदस्यता लिँदा यो अवस्था आएको हो । जनता निष्पक्ष हुनुपथ्र्यो, तर उनीहरू पार्टीको सदस्य भए । अहिले उनीहरूलाई आफ्नो गल्तीको आभास भइरहेको छ । नेताहरू कस्ता हुन्छन् ? नेता हुने गुण राज्य सञ्चालकहरूसँग छ ? नेता त्यागी हुन्छ । देश र जनताका लागि नेता मर्न पनि तयार हुन्छन् । जनताको सुखमा रमाउने र दुःखमा साथ दिने गुण नेतामा हुन्छ । तर, हामीकहाँ ठ्याक्कै उल्टो छ । जसरी हुन्छ आफ्नै धोक्रो भरौं भन्छन् । जनता मरुन् कि बाँचुन् यिनीहरूलाई कुनै मतलब छैन ।
गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारीलगायत आधारभूत हकअधिकारबाटै जनता वञ्चित छन् । उपचार नपाएर जनता सडकमा छट्पटाएका छन् । २४ खर्ब विदेशी ऋण पुगिसकेको छ । जनतालाई योभन्दा धेरै सुविधा के चाहियो ? यिनीहरूले अब गर्न केही बाँकी छ ? जसलाई समयको महत्व थाहा छैन, उसैले करोडौंको घडी बाँधेको छ । एउटा उखान छ, ‘गर्नेलाई भन्दा देख्नेलाई लाज ।’ यहाँ त्यस्तै भएको छ ।

नयाँ पार्टी रास्वपाका नेताले चुनावका बेला ठूल्ठूला भाषण ठोकेका थिए । मेरा पार्टीका सांसदले तलबभत्ता लिँदैनन्, सरकारी गाडी चढ्दैनन् भन्ने त रवि लामिछाने हुन् । अहिले त सरकारी पनि चढ्छन्, तलबभत्ता पनि बुझ्छन् । सबैको जनतालाई भ्रमित बनाएर भोट लिने ‘स्टन्टबाजी’ मात्र हो । एमालेका अध्यक्ष केपी ओलीले ‘सुःखी नेपाल, सुःखी जनता’ भन्दै भोट मागे । तर, जनतालाई सबैभन्दा धेरै दुःखी बनाउने एमाले नै हो । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भोट माग्ने बेलामा प्रधानमन्त्री बन्छु भनेका थिए । अहिलेसम्म त्यस्तो कुनै संकेत देखिँदैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *