रिबन

मासुको भाउ सुनेर सर्वसाधारण चकित

काठमाडौं । बजारमा व्यापारीहरूले काटेको खसीको प्रतिकिलो पन्ध्र सय रुपैयाँ उठाइरहेका छन् । च्याङ्ग्रा प्रतिकिलो २८ सय रुपैयाँ लिइन्छ । कुखुराको मासुको प्रतिकिलो पाँच सय रुपैयाँ लिइन्छ । राँगा, बँगुर र माछाको पनि व्यापारीहरूले आफूखुसी मूल्य तोकेका छन् । दशैंमा सबैभन्दा बढी खपत मासुको हुने गरेको छ । तर, माछामासु नै यति महँगो भएपछि आर्थिक अवस्था कमजोर भएका गरिब जनताले कसरी किनेर खाने ? वर्ष दिनमा एकपटक आउने चाडमा पनि महँगीका कारण माछामासु किनेर खान नसक्ने अवस्थामा सर्वसाधारण पुगेका छन् । यहाँ किसानले खसी, बोका, राँगा, च्याङ्ग्रा, कुखुरा, माछाको उचित मूल्य पाउँदैन । बिचौलियाले भने त्यही खसीबोका किसानबाट ल्याएर त्यसको दोब्बरदेखि तेब्बरसम्म नाफा उठाउने गर्छन् ।

अधिकांश मासु पसल सरकारले बनाएको मापदण्डविपरीत सञ्चालन भएका छन् । मासु पसल जाँदा कहिले मासु नै नखाऔंजस्तो महसुस हुने गर्छ । मासु काट्ने अचानो वा खुकुरीमा झिँगाको बास हुन्छ । मासु कहिलेदेखिको बासी हो थाहा हुँदैन । मासु पनि फोहोर पानीले धोएको हुन्छ त मासु काट्ने मान्छे जाँडले फिट्टु भएको हुन्छ । सरकारले मासुको मूल्य तोकेको छ । जसकारण मासुको मूल्य व्यापारीहरूको जिब्रोमा छ । अधिकांश मासु पसल दर्ताबिना सञ्चालनमा छन् । पसलमा मासुको मूल्यसूची नै राखिएको हुँदैन । तर पनि सम्बन्धित महानगरपालिका, नगरपालिका, गाउँपालिकाले त्यस्ता मासु पसललाई कारबाही गरेर कानुनको दायरामा ल्याउँदैनन् ।

उपभोक्ताहरू मासु किन्दा तौलमा समेत ठगिने गरेका छन् । उनीहरूले राम्रो र ताजा मासु त पाउँदैनन् नै, उल्टै भनेजति पैसा तिरेर पनि पाउनुपर्ने मासु पाउँदैनन् । अधिकांश मासु पसलमा खुलेआम खसीको मासु भनेर बोकाको मासु बेचिरहेको हुन्छ । राँगाको मासु भनेर भैंसीको मासु बेचिन्छ । कुखुरा पनि रोग लागेर मरेको बिक्री गरिन्छ । आमसर्वसाधारणलाई थाहा हुँदैन कि यो मासु खानयोग्य छ वा छैन भनेर । यसको अनुगमन गर्ने काम सरकारको हो । जनताको स्वास्थ्यमाथि कुनै खेलबाड हुन नदिनु सरकारको दायित्व हो । तर सरकारले यो पनि पूरा गर्दैन ।

व्यापारीहरू कहिलेदेखि फ्रिजमा राखेको बासी मासु आफ्नो फाइदाका निम्ति बिक्री गरेर नागरिकको स्वास्थ्यमाथि खेलबाड गरिरहेका छन् । यस्ता मासु खाएर मानिसहरूलाई दीर्घकालीन रोगसमेत लागिरहेको छ । ठूल्ठूला हड्डी भएको मासु घरमा ल्याएर पकाएर खाँदा बुढाबुढी, बालबच्चा वा जवान व्यक्तिकै ज्यान जाने गरेको घटना पनि छन् । माछामासु नखाने मानिसले पनिर, दही, दूध, फलफूल, मिठाइ खाने गर्छन् । दही, दूध, पनिर पनि त्यत्तिकै महँगो छ । त्यसमाथि दूध वा दहीमा पानी, पाउडर हाल्ने गरिन्छ ।

मिठाई पसल पनि बाहिर राम्रो देखे पनि भित्र फोहोरले भरिपूर्ण हुन्छ । मिठाई बनाउने मान्छे पनि फोहोरी हुन्छ । अधिकांश मिठाई पसलमा ताजा भन्दै कहिलेदेखि बासी, ढुसी परेको मिठाई बिक्री गरिन्छ । त्यसमाथि मिठाईको मूल्य पनि व्यापारीहरूले आफूखुसी लिन्छन् । तौल भने कम हुन्छ । मिठाई र दहीदूध पसलहरू दर्ताबिना सञ्चालन भएका छन् । उनीहरू एकातिर राज्यलाई राजस्व छल्छन्, अर्कातिर उपभोक्तालाई ठग्छन् ।

फलफूल पसलहरू पनि दर्ताबिनै सञ्चालन भएका छन् । फलफूल पनि विषादीले भरिपूर्ण हुन्छ । व्यापारीले भनेजति पैसा तिरेर आज घरमा ल्याएको फलफूल भोलिपल्ट कुहिएर गन्हाइरहेको हुन्छ । दशैंमा पेय पदार्थको पनि त्यत्तिकै उपभोग हुने गर्छ । कोक, फेन्टाजस्ता पेय पदार्थको आफूखुुसी पैसा लिएर सर्वसाधारण ठगेका छन् व्यापारीहरूले । यस्ता पदार्थ खानयोग्य पनि छैन । मदिरा पनि बाहिरबाट ब्राण्डको एउटा स्टिकर टाँसेर महँगो मूल्य लिए पनि खानयोग्य छैन, गुणस्तरहीन छ । अहिले बजारमा हरेक सामानको मूल्यवृद्धि भएको छ । चाहे त्यो हरियो सागसब्जी, गेडागुडी, खाने तेल, दाल, चामलमा होस् या माछामासु, दहीदूधमा होस् ।

मानिससँग आम्दानी छैन । रोजगारीको अभाव छ । पैसा हुनेहरू अहिले बजारमा किनमेलका लागि निस्किएका छन् । तर, पैसा नहुनेहरू आफ्नो घरभित्र नाउरो अनुहार लगाएर बसेका छन् । उनीहरू त दशैं मान्न पैसा नभएर गाउँघरसमेत गएका छैनन् । अहिले बजारमा हेर्ने हो भने केही पसलहरूमा चहलपहल देखिन्छ । माछामासु, फलफूल, दहीदूध पसलमा मानिसको चहलपहल बढेको छ । सिमेन्ट पसल, हार्डवेयर पसल, कपडा पसल, ब्युटीपार्लरमा भने एकजना पनि मानिस देखिँदैन ।

सानैदेखि निजी विद्यालय पढेकाहरू देश छाडेर अमेरिका, अस्ट्रेलिया गइहाले । अलिकति पढेका मानिस कि त खाडी मुलुक गए, कि त व्यापार व्यवसायतिर लागे । खाडी मुलुकहरूमा पनि मन्दीका कारण तलब नदिइएको वा त्यति आम्दानी नरहेको बताइन्छ । अहिले त सरकारी जागिर खाएकाहरू पनि तलबविहीन हुनुपर्ने अवस्था आएको छ । सरकार सरकारी खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । काठमाडौं उपत्यकाभित्र वा सदरमुकाममा चार दशकअघि बीसौं रोपनी जग्गाजमिन भएको व्यक्ति आज रोपनीमा झरेको छ । बाटोका कारण उनीहरूले आफ्नो जग्गा गुमाउनुपर्यो । घरजग्गा कारोबारमा मन्दी आएपछि योसँग जोडिएका व्यवसाय र व्यवसायी पनि संकटमा परेका छन् ।

पहिलापहिला मानिसहरूलाई आफ्नै घरमा उब्जनी भएको अन्नले वर्ष दिन खान पुग्थ्यो । खसीबोका, कुखुरा र गाईवस्तु आफ्रनै घरमा पालेको हुन्थ्यो । यसले दशैं आउँदा बाहिरबाट केही सामान किन्नुपर्दैन थियो । दशैंमा नयाँ कपडा मात्र किनिन्थ्यो । तर, अहिले त मानिसहरूले त्यस्ता खेतीयोग्य जमिन बेचेर ब्याजको प्रलोभनमा सहकारीमा जम्मा गरे । कतिपय नाफा हुन्छ भनेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे । खेतीयोग्य जमिनको खण्डीकरण गरेर व्यापार गरियो । जसको परिमाण पछिल्लो समय देखिदैँ छ । जग्गा दलालीहरूले रोपनीको दश हजारमा खेतीयोग्य जमिन किनेर खण्डीकरण गरी आनाकै करोडमा बेचे । खेतीयोग्य जमिन सबै खण्डीकरण गरेर सकिएपछि खाद्यान्न कताबाट फलाउनु ?

पहिलापहिला प्रत्येक मानिसको एउटा घर हुन्थ्यो त एउटा मतान हुन्थ्यो । त्यस्तै, ठूलो आँगन पनि हुन्थ्यो । मतानमा गाईवस्तु पालिन्थ्यो । हिजो चालिसौ रोपनी हुने व्यक्तिसँग आज दुई/तीन आना जग्गा छ । मानिसहरूले पहिला आफ्रनै घरमा पालेको दुई÷तीनवटा खसीबोकाले दशैं मनाउँथे । अहिले त खसीबोका, कुखुरा पाल्ने ठाउँ नभएपछि मानिसहरू एक किलो मासुले दशैं मान्छन् । छिटो धनी बन्ने आशमा मानिसले आफ्नो धनसम्पत्ति गुमाए, बाउबाजेको सम्पत्तिसमेत सकाए । अहिले उनीहरूसँग न त धनसम्पत्ति छ, न त पैसा नै ।

अहिलेका मानिसहरूलाई काम थालेको एक वर्षमै घर बनाउनुपर्छ, चिल्लो गाडी चढ्नुपर्छ, बालबच्चा महँगा स्कुलमा पढाउनुपर्छ र गरगहना लगाउनुपर्छ । यसरी छिट्टै कमाउन मानिसलाई ठग्ने क्रम बढेको छ । हरेक क्षेत्रमा लुट्ने काम भइरहेको छ । सरकारी कर्मचारी र व्यापारीहरू ठग्न, लुट्न र भ्रष्टाचार गर्नतर्फ मात्र केन्द्रित भएका छन् । राजनीतिक दलका नेताहरू जसरी भए पनि जनतालाई झुक्याएर अर्को पार्टीको खुट्टा तानेर सत्तामा पुग्न चाहन्छन् । राजनीतिक दलका नेतादेखि सरकारी कर्मचारी, व्यापारी सबै ठग भएका छन् । कसैले यहाँ कानुन मानेको छैन, कसैले आफ्नो दायित्व पूरा गरेको छैन । सबैजना आफ्नो अधिकार खोस्न मात्र आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *