काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका दुई मन्त्री यतिबेला अस्पतालमा भर्ना भएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ माइल्ड हर्टअट्याक भएर बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएका छन् । अर्का खानेपानी मन्त्री महीन्द्र राय यादव भारतको नयाँ दिल्ली मेदान्ता अस्पतालमा उपचार गराइरहेका छन् ।
गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार भएको छ । बिहीबार अस्पतालले विज्ञप्ति निकाल्दै श्रेष्ठको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको छ । ‘उहाँ पूर्ण होसमा हुनुहुन्छ, स्वास्थ्यमा सुधार भइरहेको महत्वपूर्ण संकेत देखिएको छ,’ अस्पतालको सूचनामा छ । अस्पतालका अनुसार श्रेष्ठलाई निगरानीका लागि सघन उपचार कक्षमा राखिएकोे छ । आइसियूमा राखेर उच्च सतर्कताका साथ उनको उपचार थालिएपछि उपचार सहज बनेको अस्पतालले जनाएको छ ।
श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले मन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार भइसकेको र दोहोरो कुराकानी हुन थालेको जानकारी दिएका छन् ।बुधबार राति हृदयाघात भएका श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएपछि आकस्मिक कोरोनरी एन्जियोग्राफी गरिएको थियो । एन्जियोेग्राफीका क्रममा ‘ओब्टस मार्जिनल शाखा’मा अवरोध देखिएको थियो । अस्पतालका अनुसार उनको मुटुको बायाँ धमनीमा महत्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको छ । ‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन ९बिआरएफ०मा सहभागी हुन उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ चीनको बेइजिङ पुगेका थिए ।
खानेपानीमन्त्री यादव उपचारको निम्ति चार दिनअघि भारतको नयाँ दिल्ली गएका थिए । अहिले खानेपानी मन्त्रालयको कार्यभार अर्थमन्त्री प्रकाशशरण महतलाई दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । ‘माननीय खानेपानीमन्त्री महिन्द्र राय यादव भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा स्वास्थ्य उपचारका लागि निजी भ्रमणमा २०८० असोज ३० गते त्यसतर्फ प्रस्थान गर्नुभएकोले उहाँको अनुपस्थितिमा उहाँले सम्हाल्दै आउनुभएको खानेपानी मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्रीज्यूबाट माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्हाल्ने गरी तोक्नुभएको छ,’ प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यादवलाई के रोग लागेको हो भन्ने अहिलेसम्म खुलेको छैन । उनी ८० वर्ष भइसकेका छन् ।