रिबन

नराम्रो प्रवृत्ति विरुद्ध लड्न सक्ने क्षमताका लागि बडा दसैँको शुभकामना

प्रत्येक वर्ष हामी नेपालीले बडा दसैँको चाडलाई बडो धुमधामसँग गच्छेअनुसार मान्ने गरेका छौँ । यो चाड खासगरी शक्तिका प्रतीक विभिन्न देवीहरुको आराधना गर्ने र समष्टिमा माता दुर्गाको आराधना गर्ने र मनोवाञ्छित फलका लागि आकांक्षा राख्ने चलन छ ।

नेपालको मौलिक चाडको रुपमा मनाइने दसैँजस्तो महान पर्वमा देवीको आराधना, शक्तिपीठहरुमा पूजाअर्चना गरी संसारमा भएका सबै क्लेशबाट मुक्ति पाउने आशीर्वाद मागिन्छ ।

नौ दिनसम्म देवीको आराधना गर्ने र दसौँ दिनका दिनलाई विजया दशमीका दिन मानेर देवीको प्रसाद ग्रहण गर्ने , मान्यजनबाट देवी प्रसाद ग्रहणगर्दा आशीर्वचन लिने गरिन्छ ।

देवी पूजा, प्रसाद ग्रहण, मान्यजनबाट आशीर्वचन र आफन्तसँग टीका ग्रहणको निहँुमा भेटघाट हुने चलन भएकाले सकेसम्म दसैँमा परिवारको जमघट भएकै हुन्छ ।

नेपाल वहुधार्मिक, वहुसाँस्कृतिक देश भए पनि अत्यन्त धार्मिक सहिष्णुता भएको देश हो । यही दसैँ पनि विभिन्न समुदाय, सम्प्रदाय र संस्कृतिमा फरक फरक तरिकाले मनाइन्छ र पनि यो परिवारको जमघटका लागि सबैभन्दा मुख्य समयका रुपमा लिइन्छ ।

मात्र देवीको उपासनाका कारणले मात्र दसैँको महत्व बढेको होइन , यस अवसरमा परिवारका टाढा टाढा गएका परिवारजनहरुको एकै ठाउँमा जमघट गरेर आपसमा बसेर खानपिन गर्ने र बडाले परिवारका अन्य सदस्यहरुलाई आशीर्वचन दिने चाडको रुपमा लिइन्छ ।

हाम्रो जस्तो विकासोन्मुख मुलुकमा मुलुकको अवस्था अत्यन्त नाजुक बन्दै गएको छ । आर्थिक अवस्था दिनानुदिन गिर्दो छ । युवा जनशक्ति अन्य विकसित देशहरु तथा श्रमको राम्रो मूल्य दिनसक्ने देशतिर पलायन भएर गएको छ ।

अस्थिर राजनीति र एकआपसमा द्वेषभावको संस्कृतिले प्रश्रय पाइरहेको बेलामा , भ्रष्टाचारले मुलुक नै ग्रसित भएको बेलामा हामीले जगज्जननी दुर्गामातासँग माग्ने वर भनेकै नेपालको अस्मिता जोगाउने गरी अबका दिनहरु अघि बढून् र आपसमा देश बनाउने कुरामा एकआपसमा मित्रता बढोस् ।

माता दुर्गाले जसरी आसुरी शक्तिलाई नाश गरेर त्यो समयमा असत्माथि सत्यको विजय स्थापित गर्नका लागि राक्षसी व्यवहारलाई निमिट्यान्न पारेकी थिइन् , त्यस्तै गरी अहिले पनि हामी नेपालीहरुलाई सद्बुद्धि प्रदान गरुन् भन्ने आशीर्वचन माग्नु सामयिक हुनेछ ।

एकातिर क्रयशक्तिमा ह्रास आएको छ, उत्पादकत्व बढ्न सकेको छैन, भएका राष्ट्रिय उद्योगहरु धमाधम बन्द हुने अवस्थामा छन्, विदेशबाट खाद्यान्नदेखि तरकारी, लत्ताकपडा र बिलासिताका सामान अर्बाँैैको आयात गरिरहेका छौँ ।

युवाहरुले विदेशबाट पठाएको रेमिट्यान्सको रकमले मुलुकको अर्थतन्त्र धान्नु परेको छ । अर्कातिर सामानको भाउ यसरी बढेको छ कि नेपालीहरुलाई चाड पर्व नआए हुन्थ्यो भन्ने लाग्न थालेको छ । नियन्त्रण छैन, अनियन्त्रित बजार भाउले गर्दा मुलुकमा राज्य संयन्त्र छ कि छैन भन्ने शंका उत्पन्न हुन्छ ।

दसैँमा सबै जना घरघरमा जम्मा हुने चलनले गर्दा राजधानीमा रहेका नेपालीहरु र विदेशबाट आएका नेपालीहरु घर जानका लागि सास्ती छ । गाडीको अनियन्त्रित भाडा, प्लेनमा पनि अनियन्त्रित हवाइ भाडाले जनताको ढाड सेकेको छ एकातिर भने अर्कोतिर सुरक्षित यातायात सेवा कहिले हुने भन्नेमा जनताको पिर यथावत् छ ।

बाटोको मरम्मत बेलामा हुँदैन अनि थोत्रा गाडीहरुमार्फत् ठगी गर्दै ओसार पसार हुँदा कतिपय बेलामा दुर्घटनामा अनाहकमा धेरैको ज्यान गएको पाइन्छ । अपराधले सीमा नाघेको देखिन्छ । मुलुक एकप्रकारले असफल राष्ट्रतर्फ उन्मुख देखिएको बेलामा सबै चिन्तित देखिन्छन् ।

जब मानिसले आफ्नो पहुँचभन्दा बाहिर परिस्थिति गएको देख्छ, अनि उसले सम्झने भनेको देवी देवता या दैवी शक्तिलाई हो र त्यसबाट पार लगाउन दैवीशक्तिप्रति आस्था देखाउँदै अपेक्षा गर्ने हो ।

कर्म गर्दै पनि जाने हो तर कर्मले मात्र परिस्थिति नियन्त्रण नआएको बेलामा सम्झने भनेको नै आस्थाका देवी देवताहरुलाई हो । बडा दसैँको उपलक्ष्यमा हामीले हजारौँ वर्षदेखि मौलिकरुपमा आराधना गर्दै आएकी देवी हुन् नवदुर्गा भवानी ।

शक्तिकी स्वरुपिणी देवी माता दुर्गाबाट आशीर्वाद पाइयोस् : नेपालको सम्पूर्ण खराब अवस्थाको अन्त्य होस् , भ्रष्टाचार उन्मूलन गर्नका लागि देवीबाट नेपालीहरुले हिम्मत प्राप्त गरुन्, सबैमा नेपालको भलो गर्ने विचार उत्पन्न होस् । माता दुर्गाले हामी सबैलाई सद्बुद्धि प्रदान गरुन् ।

हामी यसअवसरमा सम्पूर्ण पाठक ,विज्ञापन दाता, लेखक, समाचारदाता तथा सम्पूर्ण नेपालीहरुमा विजया दशमीको पावन अवसरमा, बडा दसैँको यो महान पर्वमा सबैलाई माता दुर्गाले आशीर्वाद दिऊन् र मुलुकले नयाँ दिशा प्राप्त गर्नका लागि पनि माताको आशीर्वाद प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछौँ । बडा दसैँको शुभकामना ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *