रिबन

रुपं देहि जयं देहि , यशो देहि द्विषो जहि ……..

या देवी सर्वभूतेषु शान्तिरुपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः ।।

( सवै प्राणीमा शान्तिरुपमा अवस्थित माता दुर्गालाई मेरो नमस्कार , नमस्कार नमस्कार छ । सबैमा शान्ति होस् ।)
देहि सौभाग्यमारोग्यं देहि मे परमं सुखम् । रुपं देहि जयं देहि यशो देहि द्विषो जहि ।

( मलाई सौभाग्य र आरोग्य देऊ, परम सुख देऊ, रुप देऊ, यश देऊ,मेरो कामक्रोध आदि शत्रुहरुको नाश गर हे देवी )
दसैँ हामी नेपालीहरुको विशेष चाड हो नै । साँच्चै दसैँलाई हिन्दुहरुले मात्र मनाउँदैनन् नेपालमा, बौद्ध धर्मावलम्बीहरुले पनि रमाइलोसँग मनाउँछन् ।

खासगरी शक्ति उपासकहरुका लागि यो चाड महत्वपूर्ण प्रयोगशाला पनि हो । अर्थात् नेपालमा यो राष्ट्रिय चाडको रुपमा मनाइन्छ । अचेल त नेपाली इस्लामहरुले पनि दसैँलाई खुसीको र खानपिनको चाडको रुपमा मनाउन थालेका छन् जस्तो कि ईद हिन्दुहरुले पनि इस्लामहरुसँगै बसेर अल्लाहका नाममा आराधना गर्र्दै उनीहरुसँगै खानपिन गर्ने गर्दछन् ।

हुन त यो पर्वको आफ्नै आध्यात्मिक महत्व छ । यो पर्व सनातनी धर्मावलम्बीहरुकै हो जसलाई नेपालमा र भारतमा हिन्दु धर्म मान्नेहरुका रुपमा चिनिन्छन् , अर्थात् शक्तिको उपासना गर्ने या त ती प्रकृतिपूजक हुन् या हिन्दुहरु नै हुन् । नवदुर्गाको आशीर्वाद पाउनका लागि र मनोवाञ्छित विजय प्राप्तिका लागि भगवतीको आराधना गर्ने अनि आप्mनो मनोकाङ्क्षा पूरा गर्नका लागि दुर्गा भवानीको आशीर्वाद लिएर कार्यसिद्धि गर्नका लागि अभियान चलाउने भनेर नै शारदीय समयमा देवीको आराधना गर्ने चलन पहिलेदेखि नै रहेछ ।

भगवान पुरुषोत्तम श्रीरामले महावली रावणलाई पराजित गर्नका लागि नवदुर्गाको आराधना गर्नु भयो र त्यहीकारणले विजय प्राप्त गर्नुभएको भनिन्छ । खासगरी दशमीका दिन पाती प्रसाद ग्रहण गरेपछि सिद्धि प्राप्त हुने भनेर नै विजया दशमीको साइतमा टीकाटालो लगाउने प्रचलन नेपालमा मात्र अझै देखिन्छ । वसन्त ऋतु र शरद ऋतुमा नवदुर्गाका विभिन्न रुपलाई पूजा अर्चना गर्ने र आशीर्वाद लिने चलन भएकाले नेपालमा वासन्ती दसैँ या चैते दर्सँै र शारदीय दसैँ या बडा दसैँ भनेर मानिन्छ । चैते दसैँभित्र नै रामनवमी पनि पर्छ ।

चैतमा यसरी धुमधामसँग चाडको रुपमा नमनाए पनि दसैँको झझल्को मानेर खानपिन अष्टमीका दिन मनाइन्छ तर राम नवमीमा ब्रत बस्ने र फलाहार गर्नेहरुका कारणले दसैँमा जस्तो मासु खाने चलन हुँदैन । तर पनि चैते दसैँको रुपमा मनाइन्छ नै । शाकाहारी सनातनीहरुले नरिवल चढाएर अहंकारको बली चढाउने भन्ने चलन छ ।

कुरो देवीको आराधना भए पनि नेपालमा दसैँमा सबैभन्दा बढी सबैका लागि सार्वजनिक विदा दिइन्छ र टाढाटाढा गएका परिवारजनहरुको मिलन तथा पुनर्मिलन गरिने समयको रुपमा लिइन्छ । पहिले अहिले जस्तो गाउँगाउँमा अहिले रौनक छैन भन्छन् किनभने या त युवाहरु नेपाल बाहिर विदेशमा कामका लागि या अध्ययनका लागि गएका छन् या कुनै न कुनै बाहिरको देशमा गएकै छन् ।

पिङ खेल्ने, मासु खाने , घरमा मान्यजनबाट टीका लगाएपछि माइत, मावल, ससुराल जाने चलन अझै पनि छ किनभने मान्यजन जहाँ जहाँ छन् , त्यहाँ त्यहाँ जाने हो टीका लगाउन । त्यही टीका हो जुन देवीको प्रसादको रुपमा चढाइएको चामलको लगाउनु पर्छ, त्यही टालो हो जुन देवीलाई चढाएर प्रसादको रुपमा राखिएको हुन्छ र फूलको सट्टा जमरा लगाउने त दसैँको विशेषता नै हो । पहेँला जमरा, निधारमा रातो टीका लगाउने चाड नै त हो ।

दसैँले पुराना यादहरु ताजा पार्छन् । म सिन्धुली ग्वाल्टारको बासिन्दा । भन्छन् हामी काभ्रेको दाप्चाबाट हैबार हुँदै देउरालीटारबाट ग्वाल्टार पुगेका हौँ रे । मेरो बुढा हजुर्बा नै ग्वाल्टारमा जन्मेको भन्छन् । हजुरबा र बा ग्वाल्टारमा नै जन्मेको भनिन्छ । मसहित मेरा भाइहरु हिमालय, शम्भु, श्री र तारिणी अनि बहिनीहरु मुना र जगदम्बा हामी सबै नै ग्वाल्टारमा नै जन्मेका हौँ । मेरा पनि कान्छी छोरी अर्चना र कान्छो छोरो पुलकित ग्वाल्टारमा जन्मेका होइनन्, अरु सिद्धि, करुणा र अरुणाचाहिँ ग्वाल्टारमा नै जन्मेका हुन् ।

प्रसङ्ग दसैँको । बा आमाहरु हुनुहुन्थ्यो । टीका त बाको हातबाट पहिला लगाउने हो । मेरा बाहरु तीन भाइ हुनुहुन्थ्यो । मेरो बा जेठो रामप्रसाद उपाध्याय, माहिला बा कृष्णप्रसाद उपाध्याय र कान्छा बा कमलाकान्त उपाध्याय गरी तीन जना हुनुहुन्थ्यो । कान्छा बा २०२४सालमा नै स्वर्गीय हुनुभयो भने माहिला बा २०३८सालमा स्वर्गीय हुनुभयो ।

मेरो बाचाहिँ २०६१साल भदौको ३१ गते स्वर्गीय हुनुभयो । फुपूहरु तीन जना हुनुहुन्थ्यो । माहिली फुपूलाई मैले देखिन तर ठूली फुपू अर्थात् ठूली दिदी पछिसम्म पनि हुुनुहुन्थ्यो । कान्छी दिदी पनि दुई वर्ष भयो देहावसान भयो , उहाँँ पछिल्लो अवधिमा बस्नुहुन्थ्यौ रौतहटको चन्द्र निगाहपुरमा । ठूली दिदीको घर नाङ्गेडाँडा सिन्धुलीमा थियो ।

भिनाजु अर्थात् फुपाजु हुनुहुन्थ्यो अत्यन्त हक्की स्वभावका , गाउँमा मुखिया । सबैले मानेका । भान्दाजुहरु हुुनुहुन्थ्यो तीन जना । धेरैजसो माइला भान्दाजु दसैँमा टीका लगाउन आउनु हुन्थ्यो । रुद्र भान्दाइ । आध्यात्मिक चेतनशील व्यक्तित्व हुनुहुन्थ्यो ।

ठूला भान्दाइ धेरैजसो नै विराटनगरतिर बस्नुहुन्थ्यो । कहिलकाहीँमात्र मावल आउनु हुन्थ्यो । कान्छा भान्दाइ पहिले पहिले त आउनु हुन्थ्यो जब उहाँ जागिरे हुनुभयो , अनि उहाँको दर्सँैमा आउने क्रम पातलियो । माहिली दिदीका छोराहरु जनक दाइ, लोकु दाइ र भुवन दाइ सामान्यतः प्रत्येक दसैँमा आउनु हुन्थ्यो र रमाइलो हुन्थ्यो । कान्छी दिदी नजिकै हुनुहुन्थ्यो पहिले त । भान्दाइ , भानिज भाइ, दिदी बहिनीहरु दसैँमा आउँदा घरै रमाइलो हुन्थ्यो ।

हामी पनि मावल जान्थ्यौँ पगरबास, रामेछाप । दसैँको रौनक भनेको खानपिन र भेटघाटमात्र होइन कि दसैँमा पिङ् खेल्ने , पिङ् तान्ने खेल पनि रमाइलो हुन्थ्यो । हाम्रो गाउँलाई दुईभागमा विभाजित गरी दुई समूहले पिङ् तानिन्थ्यो । मेरो माहिला बा, कान्छा बा, कार्की बा, माझी दाइको टोली जता लाग्छ, त्यही टोलीले जित्छ भनिन्थ्यो ।

सौभाग्यवश,त्यो टोली हाम्रै गाउँको पश्चिम भागमा पथ्र्यो र सधैँजसो हामीले जित्थ्यौँ । यदि माझी दाइ आउनु भएको रहेनछ भने हामी केटाकेटीहरु उहाँको घरमा गएर बोलाएर ल्याउँथ्यौ बाले बोलाउनु भएको छ, छिटै आउनु रे भनेर किनभने हामीलाई त्यो टग अब वार जित्नु थियो । जितिन्थ्यो ।

अब ती दिनहरु कता गए कता ?दसैँमा बाहिर गएका पनि आउने हुनाले विद्यालयका चौरमा रमाइलो गरिन्थ्यो अनि म्युजिकल चेयर खेलिन्थ्यो । त्यतिमात्र होइन, हामी युवाहरुले बाहिर सिकेका कुराहरुलाई गाउँमा सिकाउनु पनि थियो र ती नयाँ नयाँ खेलहरु प्रयोग गथ्यौँ र त्यसको अभ्यासका लागि सुरुवात गथ्र्याैँ ।

वास्तवमा शिक्षाको एउटा त्यो अपरिहार्य गुण थियो कि जानेका कुरा जसरी हुन्छ अरुमा सार्ने । दसैँ त्यसका लागि अत्यन्त सुहाउने समय हुन्थ्यो किनभने प्रायशः सबैतिरबाट मानिसहरु जम्मा हुन्थे । अझ कलकत्ते बा हुुनुहुन्थ्यो उहाँले त घप्पु खेलाएर मनोरञ्जन दिलाउनु हुन्थ्यो । उहाँ स्टेट बैंक अफ इन्डियामा काम गर्नु हुन्थ्यो रे ।

दसैँमा आउँदा रमाइलो गर्ने उहाँको चलन थियो । त्यो वास्तवमा जुवाको एउटा स्वरुप रहेछ तर उहाँ केटाकेटीको पैसा जिते लैजाओस् , हारे फिर्ता दिनुहुन्थ्यो । फगत मनोरञ्जनका लागि घप्पु खेलाउनु हुन्थ्यो । घप्पुमा ६अ‍ोटा चिन्ह हुन्थे, त्यहाँ पैसा राख्यो । त्यो चिन्ह परे पैसा पाइयो थपेर , नभए मथ्र्यो ।

एकप्रकारको जुवा नै हो तर हामीलाई त्यो एउटा फगत मनोरञ्जन थियो १पैसा, २पैसा, प्वाली परेको ४पैसा, हात भएको ५पैसा, १०पैसे ढ्याक, २०पैसा, २५पैसा, ५० पैसा र १रुपैञाको मुद्रा । यिनै थिए थाप्ने पनि मार्ने पनि मर्ने पनि । प्रायशः दसैँमा सबैसँग पैसा हुन्थ्यो किनभने टीका लगाएर पैसा आउँथ्यो मावल, बुढा मावलबाट । छोरीहरुका लागि त दसैँ दक्षिणाको मौसम नै थियो । आमाहरु रौसिएर छोरीहरुलाई बढीभन्दा बढी पैसा दिने अनि छोरीहरुलाई उचालेर घप्पुमा हामी लैजाने । कति रमाइलो । आहा ती दिन अब कसरी फर्केलान् र ?

मैले सबै कुरा प्रतीकात्मकरुपमा के भन्न खोजेको भने हिजोका दिनमा दसैँ आध्यात्मिकरुपमा देवीको आराधनामात्र होइन कि आपसमा भेटघाट र चिनजानको एउटा आधार पनि थियो । रमाइलो गर्ने मौसम थियो । स्कुलमा नाटक लाग्थ्यो पूर्णिमाका दिन , कोजाग्रत पूर्णिमाका दिन किनभने हाम्रो कौशिका प्राथमिक विद्यालयको स्थापना दिवस त्यही दिनलाई मानिएको छ । अहिले त्यो विद्यालयमा कक्षा १२सम्म पढाइ हुन्छ ।

त्यो दिन नाटक लाग्थ्यो समाजिक कुरीतिका विरुद्धमा जनजागरण जस्तै गरी । साना साना बालक बालिकाहरुको स्वतस्फूर्त क्षमताको अभिव्यक्ति पनि थियो त्यो । बाहिरबाट आउनेले नयाँ नयाँ गीत र कला सिकेर आएका हुन्थे र त्यही सिकाउँथे , त्यही बेला नै त्यसको अभ्यास गरिन्थ्यो । कमिक सबैले मन पराउँथे । अनि नाटकको करिब १० दृश्यका बीचमा नृत्य, प्रहसन, विभिन्न क्षमता प्रदर्शन गरिन्थ्यो ।

खासगरी उद्घोषकले बारम्बार अब कसको के आउँछ भनेर माइकमा फुक्थे तर सुनिँदैन थ्यो किनभने गाउँमा मानिसहरु धमाधम आउँथे र बस्ने ठाउँको खोजीमा चिनेका परिवारका मानिसहरुसँग बस्थे अनि हल्ला बढी हुन्थ्यो । कोही हल्ला नै गर्थे किनभने सुनिँदैन थ्यो परबाट । हार्मोनियमको बाजा, मादलको ध्वनि अनि सस्वर गाइने गीतले एकातिर आवाज पुग्दैनथ्यो अर्कोतिर मैन्टोल बेलाबेलामा निभ्थ्यो अनि टर्चले किन थेग्नु ?

अनि हल्ला हुन्थ्यो मैन्टोल नबनुन्जेलसम्म । कहिले जाली फुट्थ्यो , कहिले पुतलीले मैन्टोलेका जालीमा गएर आत्मदाह गर्थे र जाली फ्यास्स जान्थ्यो हामीलाई अप्ठ्यारो पार्दै । पूर्णिमाको रात भएकाले कहिले त नृत्य निरन्तर गरिन्थ्यो मादलको तालमा पनि । कोही पिङ खेलिरहेका हुन्थे । कोही बल्ल बल्ल भेटिएका आफन्त तथा पल्लो गाउँका मानिसहरुसँग गफिएका हुन्थे किनभने गाउँमा रिहर्सलमै धेरैकुरा थाहा हुन्थ्यो नाटकमा के छ भनेर , कसले नाच्दैछ भनेर र कसले कमिकमा के देखाउँछ भनेर ।

अहिले…..बा आमा हुनुहुन्न मेरा । मजस्ता मेरो उमेरका धेरैको बा आमा अब हुनुहुन्न । त्यस्तो कसैको पनि नहोस् भन्यो तर हुने रहेछ । पहिले हामीलाई पनि लाग्थ्यो मेरा बा आमालाई चाहिँ केही हुँदैन । तर एकदिन उहाँहरु पनि हामीलाई छोडेर सदाका लागि जानु भयो । सर्बैभन्दा बढी सम्झना दसैँमा नै हुन्छ ।

बाले साइतको टीका लगाउनका लागि घडी हेरेर बस्नुहुन्थ्यो र सबैभन्दा पहिला जेठो छोरोका रुपमा मलाई टीका लगाउनु हुन्थ्यो बा र आमाले । हजुरआमा हुन्जेलसम्म त बा माहिलाबाको घरमा गएर टीका लगाउन जानु हुन्थ्यो र हामी पनि बासँगै जान्थ्यौँ । बाले घरमा आएर टीका लगाएपछि उहाँहरुले यति धेरै आशीर्वाद दिनु हुन्थ्यो कि म अचम्भ मानेर सुनिरहन्थेँ ।

वास्तवमा आफ्ना सन्तानको हित कुनचाहिँ बाबुआमाले चिताउँदैनन् र ? हामी पालैसँग टीका लगाउने अनि माहिला बाको घरमा , कान्छाबाको घरमा जान्थ्यौँ । पालैसँग सबै घरमा सबैजना मिलेर टीका लगाउने चलनले परिवारमा एउटा एकताको भावना, अपनत्वको भावना अनि आफ्ना वर्षभरिका अनुभवहरुको विनिमय हुन्थ्यो । साँझमा बाका मावली घरमा बाहरुसँग हामी दाजुभाइहरु टीका लगाउन जान्थ्यौँ खासगरी म र भाइ विष्णु सँगै जान्थ्यौँ ।

त्यो बेलामा हाम्रो गाउँ सिन्धुलीको ग्वाल्टारमा हाइ स्कुल थिएन । कक्षा पाँच पढेपछि केही समय गाउँमा नै हाइ स्कुल खोल्ने भनेर कक्षा छ मा पढियो तर पछि स्कुल खुलेन र रामेछापमा कक्षा ८मा पढ्न गएँ । कक्षा ९ र १० सिन्धुलीको कमला हाइ स्कुलमा पढेँ । घरबाट बाहिर गएपछि बल्ल लामो विदा र दसैँको विदाको महत्व थाहा भयो ।

स्कुल विदा भएपछि घर कहिले पुगौँ हुन्थ्यो । दसैँमा हामीलाई अरु कुराको खासै महत्व थिएन , थियो त नयाँ लुगा लगाउन पाउने रमाइलो । हाइ स्कुलमा गएपछि त त्यस्तो भएन किनभने जहिले पनि नयाँ लुगा लाउन पाइने हुन्थ्यो । सानैमा त गाउँको दमाई दाइले लुगा छेक्दा पनि लाएजस्तो हुने ।

झन नयाँ लुगा सिएर लाउन पाएको दिन त के कुरा गर्नु ? संसार नै जितेको जस्तो लाग्थ्यो । हाम्रो पसल थियो साझा । बुद्धिमान श्रेष्ठ दाइले बासँग मिलेर पसल चलाउनु भएकाले हाम्रालागि प्रत्येक दसैँमा नयाँ लुगा बुद्धिमान दाइले नै ल्याइदिनु हुन्थ्यो । दसैँका लागि चाहिने सबै खालका मसला, लुगा दाइले नै दिनुहुन्थ्यो । साह्र असल हुनुहुन्थ्यो । साह्र माया गर्नुहुन्थ्यो । उहाँका छोराहरु पछि जन्मेकाले पनि होला, बालबालिकालाई असाध्यै माया गर्नुहुन्थ्यो । उमेर त मेरो बाको भन्दा पनि धेरै रहेछ, तर त्यस्तो लाग्दैनथ्यो ।

्हाम्रो घरमा अर्थात् हामी अधिकारीका घरमा फुलपातीका दिन बोको पुजा नगर्ने हुनाले होला, अष्टमीका दिन नै खसी मार हान्ने चलन थियो । अरु बराल, पोखरेल , थापा , कार्कीहरुका घरमा नवमीमा मार हान्ने चलन थियो । सायद फुलपातीमा बोको पुजा गरेर होला , नवमीमा मार हान्ने चलन थियो । हाम्रा घरमा अष्टमीमा मार हान्ने र दशमीमा बोको काट्ने चलन थियो । टीका लगाउनुभन्दा पहिले नै भीमसेनको पुजा गर्ने भन्थे । पछि त्यो चलन त्यसै हराएको थियो ।

दसैँ गच्छेअनुसार दसैँ मनाउने चलन थियो । तर अहिले दसैँ एउटा फगत खानपिन र भेटघाटको बेला भएको छ । रमाइलो त समयअनुसार फरक फरक भइसक्यो । जे होस् अहिले पनि दसैँ भनेको आशीर्वाद र भेटघाटको पर्व बनेको छ ।

यही कामना गरौँ विजया भवानी हामी सबैका लागि दाहिना होऊन् । हामीलाई रुप दिऊन्, जय दिऊन्, यश दिऊन् तर क्रोध, द्वेष र हिँसात्मक प्रवृत्तिको चाहिँ नाश गरुन् । सबैको, मानवमात्रको कल्याण गरुन् । सबैमा विजया दशमीको शुभकामना तथा दसैँ निरापदरुपमा सम्पन्न होस् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *