रिबन

गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष बद्री केसीले पद तथा गोपनीयताको सपथ लिएका छन् । काठमाडौंमा भएको ११ औँ महाधिवेशनबाट शनिबार निर्वाचित अध्यक्ष केसीले संघको केन्द्रीय कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

महाधिवेशनमा निर्वाचनको परिणामका विषयमा विवाद सिर्जना भएपछि शु्क्रबार निर्वाचनको बाँकी प्रक्रिया स्थगित हुन पुगेको थियो । बहालवाला अध्यक्ष केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। सो निर्वाचनबाट सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रनिकट अधिकांश उम्मेदवार पराजित भएका छन्। पराजित उम्मेदवारको एक समूह निर्वाचनमा विषयलाई लिएर प्रधानमन्त्रीसमक्ष गुनासो गर्न पुगेपछि सो निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।

यसअघि निर्वाचनमा धाँधली भएको भन्दै अध्यक्षका प्रत्यासीद्वय आरके शर्मा र महेश श्रेष्ठले निर्वाचन परिणाम अस्वीकार गरेका थिए । शुक्रबार नै श्रेष्ठ र शर्मा पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी दिनुका साथै यसबारे छानबिनका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पनि निवेदन दिएको थियो ।

उनीहरुले अध्यक्ष बद्री केसीले भेरो नामक विद्युतीय भोटिङ मेसिनको दुरुपयोग गरेर निर्वाचन आफ्नो पक्षमा पारेको आरोप लगाएका छन् । निर्वाचनमा केसी अध्यक्षमा विजयी भएका थिए ।
शुक्रबार नै अध्यक्ष कुल आचार्य, बद्री केसी र रविना थापाले विज्ञप्ति जारी गरेर अर्को निर्णय नभएसम्मका लागि शुक्रबार तय भएको सम्पूर्ण कार्यक्रम रद्ध भएको जानकारी दिएका थिए । तर, शनिबार केसी पक्षले कार्यक्रम राखेर शपथ सम्पन्न गरिएको हो ।

शनिबार शपथपछि केसीले निर्वाचन पारदर्शी भएको दाबी गर्दै केही प्राविधिक समस्या उपाध्यक्ष पदको उम्मेदवारको हकमा देखिएको भएपनि त्यसलाई सच्याइसकेको बताए । उनले एनआएनए अभियानमा सबैलाई साथमा लिएर अघि बढ्ने भन्दै आफूले सबै एनआरएनएको वास्तविक एकता गर्नका लागि प्रयास गर्ने पनि बताए । आजै नवनिर्वाचित कार्यसमितिको बैठक पनि केन्द्रीय सचिवालय बालुवाटारमा राखिएको छ ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा बद्री केसी, उपाध्यक्षमा विनोद श्रेष्ठ, हेमराज शर्मा, केशव पौडेल, राजु रेग्मी ९राज०, रामशरण सिम्खडा र रोबिन प्रसाद शेरचन, महासचिवमा गौरीराज जोशी विजयी हुँदा महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा रोशन थापा विजयी भएका छन् ।

यसैगरी उपमहासचिवमा प्रविन गुरुङ र सोम सापकोटा तथा सचिवमा भीम केसी कमल, ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, नवराज रोस्यारा, पारसमणि पोखरेल र स्वतन्त्र प्रताप शाह निर्वाचित भएका छन् । यस्तै महिला सचिवमा राधिका गुरुङ, कोषाध्यक्षमा सुदन कुमार थापा तथा सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सेना, तिलक गैरे र अभिमन्यु बस्नेत निर्वाचित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *