देश

दशैँ : शिर्ष नेताहरुको निधार खाली !

काठमाडौं । आज विजय दशमी । विभिन्न ठाउँबाट गएका मानिसहरु आफ्नो परिवारसँग भेटघाट गरेर ठूलाबडाको हातबाट रातो टिका,जमरा र आर्शिवाद ग्रहण गरिरहेका छन् । अहिले राजधानीको वातावरण भने सुनसान बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित कतिपय शीर्ष नेताको विजयादशमीको टीका नभएकाले उनीहरुको निधार भने खाली बनेको छ ।

प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिवालयका अनुसार तीन महिनाअघि पत्नी सीता दाहालको निधन भएका कारण यस पटक प्रधानमन्त्रीले टिका नलगाएका हुन् । प्रधानमन्त्री प्रचण्डले यसपटक पारिवारिक भेटघाटमात्र गर्नेछन । यसअघिका वर्षमा पनि प्रधानमन्त्री प्रचण्डले सामान्य रूपमा पार्टीको कामको सिलसिलामा जहाँ हुन्थे त्यहीँ दशैँ मनाउने गर्दथे । प्रचण्डले गत वर्ष आफूले टीका नलगाएपनि परिवारका सदस्यलाई लगाइदिएका थिए ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि विजयादशमीको टीका नलगाउने भएकाले निधार खाली बनेको छ । उनकी ठूलीआमाको यसैवर्ष निधन भएकाले ओलीको परिवारमा टीकाटालो नहुने सचिवालयले जनाएको छ । आफूले टीका नलगाउने भएपछि कार्यकर्तालाई पनि टीका नलगाइदिने भएका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि निधार खाली बनेको छ । सात महिनाअघि नेता नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएका नेपालले टिका नलगाएको सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *