देश

नेपालगञ्जमा मुस्लिम समुदायका अगुवाले मनाए दशैँ

काठमाडौं । नेपालगञ्जमा बडादसैँको दिन मुस्लिम समुदायका अगुवाहरूले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैँ मनाएका छन्। मङ्गलबार हिन्दूहरूको महानपर्व बडादसैँंका अवसरमा मुस्लिम अगुवाहरुले दसैँको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका जमरा ग्रहण गरेका हुन् । नेपालगञ्जलाई सद्धभावको शहरको रुपमा चिनिएको छ ।

बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आफ्ना मान्यजनबाट दसैँको टीका र जमरा लगाएका छन्। दसैँ, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैंँ यसरी नै मिलेर मनाउने गरेको उनको भनाइ छ । धर्म सबैका लागि सम्मान हो उनले भने, धार्मिक सहिष्णुताले सामाजिक एकताका रुपमा जोड्न ठूलो भूमिका खेलेको हुन्छ ।’‘ मन्सुरीले नेपालगञ्ज सद्भावको सहर भएकाले यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर बताए । उनले भने‘, यहाँ मुस्लिमले हिन्दूहरुको मात्र नभइ हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्छन् । ’’

मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दू समुदायका मान्यजनलाई बोलाएर उनीहरुसँग रमाउने गरेको बताए। बाँकेमा हिन्दू र मुस्लिम समुदायले वर्षौंदेखि एकआपसमा मिलेर दुवै समुदायका चाडपर्व मनाउँदै आएको उनको भनाइ छ।

सोही प्रकारले बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले पनि दसैँमा हिन्दू समुदायका आफन्त र मान्यजनबाट टीका ग्रहण गरेका छन्। उनले आफूले टीका र जमरा ग्रहण गरेपश्चात आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिएका छन्। सिद्धिकी वर्षौंदेखि हिन्दू समुदायले मनाउने सबै प्रकारका चाडपर्वलाई मान्दै र रमाउँदै आइरहेका छन्। पर्वका बेला एकअर्कासँग मिलेर खुसी साट्ने गरेको उनको भनाइ छ। हिन्दूले मुस्लिमको चाडमा सहभागी हुने र मुस्लिमले हिन्दूको चाडपर्वमा सहभागी हुने यहाँको परम्परा बनिसकेको अगुवा सिद्धिकीले बताए।

अर्का मुस्लिम अगुवा रहमान मियाँले पनि मान्यजनबाट दसैंँमा टीका र जमरा लगाएर आशीर्वाद लिएका छन्। रहमान मियाँले दुवै समुदायबीच अभूतपूर्व एकता र सद्भाव रहेको भन्दै उक्त सद्भावलाई बिथोल्ने प्रयासमा लागे कहिल्यै पनि सफल नहुने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *