
काठमाडौं । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको शुक्रबार बिहान सांघाईमा हृदयाघातको कारण निधन भएको छ ।
चिनियाँ सञ्चार माध्यमका अनुसार पूर्व प्रधानमन्त्री ली खछ्याङको शुक्रबार बिहान सांघाईमा हृदयाघातको कारण निधन भएको हो । लीलाई बिहीबार एक्कासी हृदयाघात भएको थियो । हृदयघात भएपछि उनलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा गए राति १२ः१० उनको मृत्यु भएको थियो । ६८ वर्षीय ली चिनियाँ कम्युनिस्ट पार्टीको १७ औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समिति सदस्यसमेत थिए।
सन् २०१२ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ महाधिवेशनबाट महासचिव चयन भएसँगै सी चिनफिङ बेइजिङले मुख्य नेतृत्व गरिरहेका थिए । सीले आफु राष्ट्रपति भएसँगै लीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिएका थिए । सी दुई कार्यकाल राष्ट्रपति रहँदा समेत ली पनि दुई कार्यकाल नै प्रधानमन्त्रीको रुपमा स्थापित बनेका थिए । ली सन् २०१३ मार्चदेखि २०२३ को मार्चसम्म १० वर्ष चीनको प्रधानमन्त्री रहे।
सन् २०२२ मा भएको पार्टीको २०औँ महाधिवेशनबाट महासचिवमा निरन्तर रहेसँगै सीको तेस्रो कार्यकाल सुरु भयो। ली भने पार्टीको स्थायी समिति र प्रधानमन्त्रीबाट विदा भए। पार्टीको शक्तिशाली स्थायी समितिमा सीपछि दोस्रो नम्बरमा आएका ली चिङ प्रधानमन्त्री बने।
ली पछिल्लो समय विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको आर्थिक विकासका एक दूरदर्शी नेता मानिन्थे। दुई कार्यकाल गरी १० वर्ष प्रधानमन्त्री रहँदा लीले नीजि क्षेत्रको अर्थतन्त्र प्रवद्र्धन र विदेशी लगानी भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । जसका कारण चीनको अर्थतन्त्रमा सकरात्मक परिवर्तन हुन पुगेको थियो । देशलाई सहि दिशातर्फ मार्गनिर्देशन लिले गरिरहेका थिए ।