राजनीति

बेचैन छन् प्रचण्ड, बोलीकै कारण जनविश्वास गुमाउँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला बेचैन छन् । सरकार चलाएको १० महिना बितिसक्दा पनि एउटा पनि उल्लेख्य काम गर्न नसकेका कारण पनि उनी नेतृत्वको गठबन्धन सरकारले जनविश्वास गुमाउँदै गएको छ । त्यसमाथि कोशी प्रदेश सरकार गठनमा देखिएको किचलोले संघीय सरकारलाई नै असर देखिने सम्भावना बढेको छ । जसकारण प्रचण्डमा त्यसको असर देखिन थालेको छ । उनले अहिले आफ्नो सरकारमाथि चौतर्फी आक्रमण भएको बताउँदै विपक्षीलाई साइजमा राख्न भ्रष्टाचारका ठूला–ठूला फाइल खोल्ने चेतावनी पनि दिएका छन् ।

‘तपाईंहरूलाई थाहा छ सरकारले मिटरब्याजीदेखि नक्कली भुटानी शरणार्थी प्रकरणसम्म आइपुग्दा भ्रष्टाचारका ठूला फाइलहरू खोलेको छ, यो रोकिनेछैन,’ बिहीबार रुकुममा उनले भने, ‘म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु सरकारले अझ ठुल्ठूला भ्रष्टाचारका फाइलहरू खोल्नेछ ।’

यसका लागि सरकारले जनताको साथ खोजिरहेको उनले दाबी पनि गरे । ‘मैले सरकारको नेतृत्व गरेपछि सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि जुन खालको आँट लिएको छु, यसमा तपाईं जनताहरूले अटुट साथ दिनुभएको छ, अझै ठूला फाइल खुल्दै छन्, तपाईंहरूको साथ अझै चाहिएको छ,’ उनले भने । अब सरकारले भू–माफिया र दलालका फाइलहरू खोल्ने उनले दाबी गरे ।

प्रचण्डले वर्तमान गठनबन्धन पाँच वर्षसम्म टिक्ने दाबी पनि गरे । जुन उद्देश्यका साथ गठबन्धन बनेको हो सोहीअनुसार गठबन्धन अघि बढ्ने उनको भनाइ थियो । कोशी प्रदेशमा पनि गठबन्धनको सरकार बन्ने उनको दाबी छ । ‘कोशी प्रदेशको विकसित राजनीतिका कारण केन्द्रीय गठबन्धनमै असर पर्ने आकलनहरू गरिएको छ, त्यसो हुनेछैन, कोशीमा पनि गठबन्धनकै सरकार बन्नेछ,’ उनले भने ।

कोशी प्रदेशको सरकार गठनमा अहिले जसरी कांग्रेसभित्र विद्रोह भयो, त्यसले सम्भावित राजनीतिक परिदृश्य मात्र बताइरहेको छैन, संवैधानिक परिस्थितिको आंकलन गर्न प्रेरित गर्छ । शेखर कोइराला र एमालेनिकट स्रोतहरुको भनाइमा पहिले प्रदेश सरकार परिवर्तनका प्रयास हुनेछन् । त्यसमा सफल भएपछि संघीय सरकारमा प्रयास गरिनेछ । यो छनक पाएरै हुन सक्छ शुक्रबार प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । भेटवार्तामा भएका कुराकानी बाहिर ल्याइएको छैन ।

नेकपा विभाजनका लागि २०७८ मा संविधानको ७६ धाराको उपधारा ५ ले काम गरेको थियो । यो धाराले संसदमा अन्तिम विकल्पमा बन्ने सरकारका लागि सांसदलाई ह्वीप नलाग्ने व्यवस्था गरियो । संघीय सरकारका लागि २०७८ मा देखिएको परिदृश्य र अहिले कोशी प्रदेशमा देखिएको परिदृश्य एकै हो । त्यतिबेला नेकपा विभाजित हुने अवस्था आएको थियो, अहिले कांग्रेसले त्यो पीडा भोगेको छ । यद्यपि त्यतिबेला नेकपाले सर्वस्व गुमाउने स्थिति आएको थियो, तर अहिले कांग्रेसले मुख्यमन्त्री नै पाएको छ ।

संविधानमा उपधारा ५ रहुुञ्जेल दलहरुको बीचमा यस्तो चलखेल भइरहने देखिन्छ । त्यसैले, कोशीको विद्रोहको लहरो कहाँसम्म तानिन्छ भन्ने अझै आंकलन गर्न सकिने स्थिति बनेको छैन । कम्तीमा पनि कोशी प्रदेश सरकारले पूर्णता पाउने अवस्थासम्म कुर्नुपर्ने हुन्छ । शुक्रबार कांग्रेस नेता शेखर कोइरालाले कोजागत पूर्णिमापछि कोशीमा सहमतीय सरकार बन्ने घोषणा गरेका छन् । निरन्तर रुपमा कांग्रेस नेता कोइरालाले माओवादी नेतृत्वको सरकार गठनको विषयमा प्रश्न उठाइरहेका छन् । उनले प्रश्न उठाएर प्रचण्डको विकल्प खोज्नुपर्ने बताइरहेका छन् ।

सरकार परिवर्तनका लागि चर्को स्वर गरिरहेका कोइरालाको साथमा एमाले रहेको देखिन्छ । त्यसले प्रस्टैसँग देखिन्छ एमालेको साथ पाएको अवस्थामा कोइराला समूहले लुम्बिनी, बागमती र मधेश प्रदेशमा सरकार परिवर्तन गराउन सक्छ । कोइराला समूह र एमालेको प्रयास त्यसतर्फ पनि देखिन्छ । कोइरालामा देखिएको हतारोले संघीय सरकार पहिला जानसक्छ भन्ने अनुमान पनि गरिँदैछ । कोइरालाको निर्णयले कांग्रेसलाई प्रचण्डको विकल्प खोज्ने दबाब पनि बढ्न सक्छ । त्यसको आंकलन कांग्रेस नेताहरुले गरिरहेका छन् । त्यसको परिणाम फेरि एमाले र माओवादी मिल्न सक्छन् भन्ने धारबाट पनि कांग्रेसमा बहस भइरहेको छ । यसतर्फ शेखरले अझ ध्यान दिन सकेको देखिन्न ।

कांग्रेसमा देखिएको अन्तरकलहले पनि प्रचण्डमा बेचैनी बढाएको बुझिन्छ । त्यही भएर अहिले उनी हरेक दिन फरक फरक अभिव्यक्ति दिइरहेका छन् । बालुवाटारस्थित ललिता निवासमा ठूला नेता र सुन तस्करी प्रकरणमा जोडिएका माओवादी नेतालाई उन्मुक्ति दिइएकाले अहिले प्रचण्डमाथि जनविश्वास ओरालो लाग्दै गएको छ । यसले भोलिका दिनमा सरकारको नेतृत्व गर्ने नेता परिवर्तन हुने चर्चालाई बल पुर्याइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *