राजनीतिमा वैचारिक भिन्नतालाई थाती राखेर मुलुकको राष्ट्रियता र शासन प्रणालीमा संसदीय प्रजातान्त्रिक प्रणालीका लागि सहमति तयार गरेर सके राजालाई सम्झाएर , नभए शान्तिपूर्ण जीवनभर संघर्षरमार्फत् राष्ट्रियता सबल बनाउँदै प्रजातन्त्र पुनर्बहाली गराउने लक्ष्यसहित बीपी कोइरालाले सामान्य चियापानमार्फत् राष्ट्रिय सहमति र एकता खोज्नु भएको थियो र विभिन्न विचारमा मेलमिलापको नीति तयार गर्नु भएको थियो । त्यो दिनको रुपमा उहाँले समय तय गर्नुभएको थियो, सांस्कृतिक राष्ट्रिय चाड बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन ।
२०३४सालको कोजाग्रत पूर्णिमाका दिन पारेर भेटघाटको सुरुवात गरिएको थियो र जसलाई आपसमा शुभकामना साटासाट गर्ने भनेर सार्वजनिकरुपमा भेटघाटको काम सुरु गरिएको थियो । नेपाली कांग्रेसका सभापति तथा नेपाली राजनीतिका प्रजातन्त्रका लागि अनवरत संघर्षशील तथा निर्णायक सिद्धान्तकार नेता बीपीको नेपाल प्रवेश र सामान्य चियापानको रणनीतिले समेत मुलुकमा परिवर्तनको संकेत देखिन थाल्यो जसको पहिलो परिणाम भनेको बीपीलाई नै क्यान्सरको औषधि गर्न उहाँकै जमानतमा उहाँलाई छोडिएको थियो , विद्यार्थीहरु र समाजका विभिन्न वर्ग र पेसाका मानिसहरुमा प्रजातन्त्रको पक्षमा आन्दोलन गर्ने हिम्मत आएको थियो र २०३६साल जेठ १० गते निर्विकल्प भनिएको निर्दलीय पञ्चायती व्यवस्थाको विकल्प खोज्न जनमत संग्रह गरिने घोषणा भयो, २०३७साल वैशाख २० गते जनमत संग्रह समेत सम्पन्न भएको थियो ।
तत्काली अवस्थामा वहुदलीय व्यवस्थाले विकल्प दिन नसके पनि अन्ततः त्यस चेतनाको जागरणले २०४६साल चैत्र २६गते जनताको आन्दोलनले प्रजातन्त्र पुनर्बहाली भएको थियो । त्यसो त बीपीको स्वर्गारोहण २०३९साल साउन ६ गते भए पनि उहाँले जगाएको प्रजातान्त्रिक चेतना र मानवीय स्वतन्त्रताको दियो बलिरहेको थियो ।
नेपाली कांग्रेसका सिद्धान्तकार नेता तथा पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले २०३३साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर आफ्ना सहयोगी आदरणीय नेता गणेशमान सिंहसहित नेपाल प्रवेश गर्नु भएको थियो । सामाजिकरुपमा रूपान्तरण, राजनीतिमा प्रजातन्त्रीकरण, राष्ट्रियतामा लागि एकताका लागि आउनु भएपछि नेपालमा मुर्दा शान्ति जस्तै रहेर राजाले जे भने पनि, जे गरे पनि त्वम् शरणम् भन्दै निरंकुश शासन चलाएर बसेका राजाको कामलाई , आदेशलाई ठिक भनेर भन्नेहरुको राजनीतिक निरंकुशताको स्थिर पोखरीमा तुफान आयो, हलचल भयो र मुलुकले प्रजातन्त्रको पक्षमा जागरण महसुस गरेको थियो जसको कारणले जनतामा हिम्मत देखियो र निर्विकल्प भनेर भाष्य बनाइएको पञ्चायती व्यवस्थामा विकल्प देखियो वहुदलीय संसदीय व्यवस्था ।
मुुलुकमा राष्ट्रियताका लागि संघर्षविहीन क्रान्ति र प्रजातन्त्रका लागि सम्झौताहीन शान्तिपूर्ण आन्दोलनका लागि सबैसँग सहमतिको राजनीति अघि बढाउन बीपीले फाँसीको समेत दण्ड हुन सक्ने तत्कालीन कानुन र आफूमाथि लगाइएको कृत्रिम मुद्दाप्रति पटक्कै ध्यान नदिई मेलमिलापका लागि राष्ट्रिय सहमति खोज्न थाल्नुभयो, त्यसका लागि उहाँले समन्वयात्मक सूत्रका रुपमा सहभागितामूलक राजनीतिलाई अघि बढाउन सांस्कृतिक चाड दसैँको अवसर पारेर चियापानको रणनीति अपनाउन थाल्नु भएको थियो आफू विरामी हुँदै र जेलको रुपमा घरमा बसेकै बेलामा ।
चियापानको रणनीतिलाई नेपाली कांग्रेस पार्टीले अनवरतरुपमा पालना गरेकै छ र दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन विचारहरुको मतभिन्नता भन्दा माथि उठेर सबैसँग भेटघाट गर्दै आगामी चाडहरुका लागि अग्रिम शुभकामना साटासाट गर्ने गरिन्छ । यो चियापानको उद्देश्य मात्र सबै दलहरु र पेसामा मानिसहरु एकै ठाउँमा भेला भएर चिया, समोसा, मिठाई खानेमात्र थिएन, यसले राष्ट्रियतको सम्बद्र्धनका लागि आपसमा एक धारणा बनाउने र प्रजातन्त्रको विश्वव्यापी अपरिहार्यतालाई आपसमा नचुँडिने गरी बन्धनका रहनका लागि गरिने प्रणको पनि क्षणको रुपमा मानिन्थ्यो ।
बीपीको जीवनकालमा चियापानमा आउने कतिपयहरु व्यवस्था विरोधीको रुपमा गणना गरिन्थे र पनि बीपीले सबै विचारका मानिसहरुलाई बोलाएर राजनीतिक परिवर्तनका पक्षमा आफ्नो दृढता र अडान दोहो¥याउनु हुन्थ्यो । आफ्नो दलमा यति धेरै नैतिक धरातललाई उँचो बनाउनु भएको थियो कि युवाहरु राष्ट्रियता र प्रजातन्त्रका लागि संझौताविहीन संघर्षका लागि तयार थिए र आफ्नो किशोरवयदेखि तरुणवयसम्म पनि जेलमा बिताउन तयार थिए तर सिद्धान्तहीन तयार थिएनन् । जेल नेल, आवश्यक परे जीवन नै न्यौछावर गरेका थिए ।
अहिले समय परिवर्तन भएको छ । प्रजातन्त्र बहालीमात्र होइन, राजतन्त्र नै नेपालबाट विदा भएर गणतन्त्रसमेत भएको अवस्था छ । प्रजातन्त्र, गणतन्त्र ल्याउन लडेका जनताहरु, नेपालीहरुमा अहिले असन्तुष्टि देखिन थालेको छ । अझैसम्म नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि अनवरत लडिरहने एउटैमात्र दल नेपाली कांग्रेस देखिँदा पनि प्रजातन्त्रको परिणाम भनेको जनताको जीवनस्तर देखिने गरी सम्बद्र्धन भएको देखिएको छैन ।
अझभन्दा सबै विचार र दलसँग समन्वय र मेलमिलापका लागि अनवरत लागिरहेको दलभित्र नै अहिले मेलमिलाप देखिएको छैन । आफूभित्र मिल्न सक्नु आवश्यक छ किनभने कुनै कारणले नेपालको प्रजातन्त्रमाथि काला बादल मडारियो भने सडकमा निस्कने र त्यसका लागि संघर्ष गर्ने बानी नेपाली कांग्रेसमा मात्र छ तर किन त्यही दल अहिले पाइन नभएको खुकुरी जस्तो भयो, भ्रष्टाचार विरुद्ध देखिँदैन,सुशासनका पक्षमा उभिन सकेन भन्ने गुनासो आम प्रजातन्त्रवादीहरुमा छ, झन नेपाली कांग्रेसका मतदाताहरुमा निराशा देखिएको छ ।
मतदाताहरुले स्थानीय तहमा पनि पहिलो दल बनाए, प्रदेशमा पनि ठुलो दल बनाए, संघीय संसदमा पनि ठुला दल बनाए तर के कारणले हो, मुलुकको नेतृत्व नेपाली कांग्रेसको हातमा आउन सकेको छैन? कहाँ के कुरामा कमी भयो ? कसका कारणले कमी देखियो ? आपसमा मेलमिलाम नभएकोले हो भन्ने धारणा आम जनमानसमा परेको छ । कम्तीमा पनि बीपीले सुरु गर्नुभएको यो चियापानको लक्ष्यलाई अरु दलहरु र वर्गहरुसँग जस्तै आफूमा पनि त्यो सहिष्णुता,संयमता र सहयोगी भावना बढेको अवस्थामा मुलुकले प्रजातन्त्रको पक्षमा थप कोसे ढुँगा बनेको ठान्ने थिए ।
जसरी नेपाली कांग्रेसले अरुसँग मेलमिलापका लागि तदारुकता देखाउँछ, त्यस्तै गरी आपसमा एकता र मेलमिलाप गर्ने हिम्मत गर्नु पर्छ भन्ने अपेक्षा गर्नु मनासिब नै ठहरिन्छ । नेपाली कांग्रेसको देखासिकी गर्दै अरु दलहरुले पनि चियापान गर्न थालेको प्रसङ्ग पनि बिर्सन सकिँदैन जसले आपसमा समन्वयको धागो जोडिन थालेको मानिन्छ ।