
काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्दै आएको छ । कांग्रेसका संस्थापक बीपी कोइराला मेलमिलापको नीति अंगाली भारतको लामो निर्वासनबाट २०३३ मा स्वदेश फर्केपछि कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने गरेको छ ।
यो कार्यक्रमलाई कांग्रेस सभापति शेरबहादुर देउवाले यस वर्ष पनि निरन्तरता दिए । नेपालको राजनीति तरल बनिरहेको, एकले अर्कोलाई शंकाको दृृष्टिले हेरिरहेका बेला कांग्रेसले आयोजना गरेको चियापानमा सबै दलका शीर्ष नेता सहभागी थिए ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू, प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसहित सबै शीर्ष नेताहरू, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सो दलका नेताहरू, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरू चियापानमा सरिक भएका थिए ।
सबै शीर्ष नेताहरूले वर्तमान राजनीतिक अवस्थाबारे आ–आफ्ना विचार प्रस्तुत गरेका थिए । कार्यक्रममा विदेशी कूटनीतिक नियोगदेखि सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । एक हिसाबले कांग्रेसको चियापान राजनीतिक थलो बनेको देखिन्थ्यो । धेरै समयदेखिको तिक्ततालाई बिर्सेर नेताहरूले आपसमा शुभकामना आदान–प्रदान गरेको देखिन्थ्यो ।
कांग्रेसको चियापान यसकारणले पनि महत्वपूर्ण रह्यो कि पुरानादेखि नयाँ भनिएका दलका नेताहरूसमेत सहभागी भएका थिए । सबैलाई कांग्रेसले आफ्नो विचार निर्वाध ढंगले प्रस्तुत गर्न मञ्च उपलब्ध गराएको थियो । चियापानमा कांग्रेस सभापति देउवा, प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, एकीकृत समाजवादीका अध्यक्ष नेपालले पुराना दलहरूको भविष्यबारे आ–आफ्नो धारणा सार्वजनिक गरेका थिए ।
कांग्रेस सभापति देउवाले लोकतन्त्रमा दल र तिनका नेताहरूको विषयमा आलोचना हुनु स्वाभाविक भएको टिप्पणी गरे । ‘प्रश्न उठ्दै गर्छन् । तर हामी उचित समयमा जवाफ दिन्छौं,’ देउवाले भने, ‘तर तपाईंहरूले भनेजस्तो चुनौती बढेको छैन । सामान्य आलोचना हुनु स्वाभाविक हो ।
प्रजातान्त्रिक पार्टी भएकाले आलोचना हुन्छ यो स्वाभाविक हो ।’ तर ओली र प्रचण्डले पुराना र स्थापित दलहरूमाथि नियोजित आक्रमण र प्रहार भइरहेको भन्दै उपयुक्त समयमा जवाफ दिने बताए । ‘हामीमाथि प्रश्न उठेको छैन । तर प्रश्न उठाउने प्रयास भएको छ,’ ओलीले भने, ‘हामी यथोचित समयमा जवाफ दिन्छौं ।’
प्रधानमन्त्री प्रचण्डले दलमाथि उठाइएको प्रश्नको सामाना साझा रुपले गर्नुपर्ने बताए । ‘मैले त प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि नै राजनीतिक दलहरूका बीचमा समझदारी बनाउन प्रयास गर्दै आएको छु,’ उनले भने, ‘तर मुलुकमा अराजकता सृष्टि गर्ने उद्देश्यका साथ राजनीतिक दलहरूमाथि प्रश्न उठाउने गरिएको छ ।
सबै दल एक ठाउँमा उभिएर यस्तो प्रवृत्तिविरुद्ध जवाफ दिने तयारीमा छौं ।’ रास्वपा सभापति रवि लामिछानेले पुराना दलप्रति घुमाउरो जवाफ दिए । ‘हाम्रो प्रतिस्पर्धा दलसँग होइन । हामीले लड्ने देशको गरिबी र भ्रष्टाचारसँग हो । दलबीच चुनावमा मात्रै प्रतिस्पर्धा हो, तर हामीले लड्नुपर्ने विषय साझा छन् ।’
चुनावका बेला लोकतान्त्रिक प्रतिस्पर्धा भए पनि दलहरू साझा मुद्दामा एक ठाउँमा उभिनुपर्ने उनले बताए । यसले के सन्देश दिन्छ भने कांग्रेसको चियापानले राष्ट्रिय राजनीतिमा समझदारीको काम गर्छ । विगतदेखि नै यस्तै दृश्य देखिँदै आएको छ ।
देशमा जतिसुकै ठूला राजनीतिक घटनाक्रम वा तिक्तता भए पनि आफ्ना गुनासा र आक्रोश पोखेर नेताहरू कांग्रेसले आयोजना गरेको चियापानमा सरिक हुन्छन् । त्यसैले कांग्रेसको चियापान एउटा संस्कृति नै बनिसकेको नेताहरूको बुझाई छ ।