
काठमाडौं । एमाले महासचिव शंकर पोखरेल पार्टीमा किनारामा पर्न थालेका छन् । अध्यक्षपछि एमालेमा महासचिव शक्तिशाली पद मानिन्छ । तर पछिल्लो समय पोखरेल पार्टी नेतृत्वको बक्रदृष्टिमा पर्न थालेको आकलन गरिएको हो ।
नेपाली कांग्रेसले शनिबार पार्टी कार्यालयमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको थियो । चियापानमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी भएका थिए । तर महासचिव पोखरेल अनुपस्थित थिए । महासचिव पोखरेल नै अनुपस्थित भएपछि धेरैले उनको खोजी गरेका थिए । तर उपत्यका बाहिर रहेको जानकारी दिइयो ।
पछिल्लो समय पोखरेलले कांग्रेससँग मिलेर अघि बढ्नुपर्ने विचार राख्दै आएका छन् । उनी कुनै हालतमा पनि कांग्रेसलाई अहिलेको सत्ता गठबन्धनबाट अलग बनाउन चाहन्छन् । उनको स्वार्थ कांग्रेससँग मिलेर एमालेले सरकार बनाउनुपर्छ भन्ने छ । तर पार्टी अध्यक्ष ओलीले त्यसलाई बेवास्ता गर्दै आएका छन् । एमालेले कोशी प्रदेशमा कांग्रेसका आठ सांसदलाई हातमा लिएर सरकार बनाएको छ । यो विषयले राष्ट्रिय राजनीतिमै असर पर्ने विश्लेषण भइरहेका बेला पोखरेल भने कोशीमा एमालेले कांग्रेससँग मिलेर सरकार बनाउनु उचित रहेको बताउँछन् ।
पोखरेललाई एमालेमा भावी अध्यक्षका रूपमा हेर्न थालिएको थियो । तर पछिल्लो समय उनी अध्यक्षको दौडबाट पछि पर्दै गएका छन् । खासगरी अध्यक्ष ओली नै उनीसँग असन्तुष्ट रहेको बताइन्छ । पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विश्वास पात्र मानिन्छ । एमालेमा केही समययता भण्डारीलाई ल्याएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बहस चलिरहेको छ । भण्डारीलाई राजनीतिमा सक्रिय बनाउन पोखरेलले नै लबिइङ गरिरहेको बुझाई ओलीको छ । सोही कारण पनि ओलीले पोखरेलसँग दूरी बढाउँदै लगेको आमएमालेजनको बुझाई छ ।
शंकर पोखरेल निकट मानिएका गोकुल बास्कोटा, महेश बस्नेतदेखि कर्ण थापासम्म पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय बनून् भन्ने चाहन्छन् । तर ओली भण्डारी राजनीतिमा सक्रिय भएको देख्न चाहँदैनन् । यो कुरा ओलीले सार्वजनिक रूपमै भनिसकेका छन् । विगतमा भण्डारीको सल्लाह र सुझावअनुसार चल्ने ओली अहिले उनीसँग टाढिँदै गएका छन् । कतै भण्डारी एमालेमा पुनस्र्थापित हुने हो कि भन्ने त्रास उनमा देखिन्छ ।
सोही कारण ओलीले भण्डारी निकट नेताहरूलाई आफूबाट टाढा राख्दै आएको बालकोट स्रोतले बतायो । ओलीले अहिले एमालेका अर्का उपाध्यक्ष विष्णु पौडेललाई नजिकै राख्ने गरेका छन् । पौडेलकै सहयोगमा ओलीले पार्टीमा ७० वर्षे उमेरहद बढाउन सफल भएका थिए । आफू एकपटक अध्यक्ष बनेपछि अर्कोपटक पौडेललाई हस्तान्तरण गर्ने उनको मनसाय देखिएको एक एमाले नेताले बताए ।