राजनीति

प्रचण्डको कार्यशैलीविरुद्ध शेखर झन् झन् आक्रामक

काठमाडौं । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र सरकारको विषयमा मतैक्यता छैन । तर कांग्रेसका नेता शेखर कोइराला वर्तमान सरकारलाई विस्थापित गर्नुपर्ने अभियानमा झनै क्रियाशील भएर लागेका छन् । खासगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिविरुद्ध आक्रामक ढंगले लागेका छन् ।

सुशासन दिन्छु भनेर बनेको वर्तमान सरकारको ध्यान भ्रष्टाचारमा केन्द्रित रहेको आरोप लगाउँदै उनले देशका आर्थिक, राजनीतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको बताएका छन् । ‘प्रधानमन्त्रीले नै २०८४ मा मलाई भोट देऊ, माओवादीलाई जिताऊ म जातीय राज्य दिन्छु भन्नुहुन्छ । लाग्छ उहाँले खल्तीबाट राज्य निकालेर दिने हो । त्यस्तै, गैरजिम्मेवार, अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु, नेपालीहरूका लागि दुर्भाग्य हो । त्यसैले, यो सरकार सच्चिनुपर्छ । सच्चिन सक्दैन भने छोड्नुपर्छ,’ उनको भनाइ छ ।

कोइरालाले मुलुकमा सुशासन दिन प्रदेशसँगै संघीय सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने दोहो¥याउँदै आएका छन् । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति र सरकारका मन्त्रीहरूको गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएका नेता कोइरालाले देशको अवस्था झन् झन् भयावह बन्दै गएकाले कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने विषयलाई आफ्नो मूल एजेन्डा बनाएका हुन् । आफ्ना पार्टीका नेताहरूसँग पनि शेखरले यो कुरा पटकपटक राख्दै आएका छन् । यसले प्रचण्डमा धेरै दबाब उत्पन्न गरेको छ ।

प्रचण्ड कांग्रेसकै सहयोगमा प्रधानमन्त्रीको कुर्सीमा छन् । कांग्रेससँग आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको छ । प्रचण्डले अझै डेढ वर्ष सरकारको नेतृत्व गर्न बाँकी छ । तर कांग्रेसकै नेता कोइराला भने अहिलेदेखि नै प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सीबाट विस्थापित गर्न लागिपरेका छन् ।

त्यसका लागि उनले एमालेको सहयोग खोजेको देखिएको छ । तर कांग्रेसकै संस्थापन पक्षका नेताहरू भने कोइरालाको अभियानमा सहमत छैनन् । कांग्रेसका संस्थापन इतर समूहका नेताहरूले सरकारले भ्रष्टाचारका काण्डहरूमा आफ्ना नेताहरूलाई जोगाएर कांग्रेसका कतिपय निर्दोष व्यक्तिहरूलाई फसाएर आरोप लगाएका छन् । ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा माओवादीका नेतालाई चोख्याइएको उनीहरूको भनाइ छ ।

कोशी प्रदेशमा शेखरले एमालेको सहयोगमा आफूनिकट सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि माओवादी झस्किएको मात्र छैन, प्रचण्डको पद पनि धरापमा परेको विश्लेषण गर्न थालिएको छ । तर यसबीचमा एमाले र माओवादी नेताहरूबीच समीकरण फेरबदलका विषयमा धेरै कुरा अघि बढेको बुझिएको छ । अब मंसिरमा मात्रै यसको संकेत देखिन थाल्ने नेताहरुको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *