
काठमाडौं । कतारका अमिर शेख बिन हमाद अल थानी तत्काल नेपाल नआउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन विद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण थानीले नेपाल भ्रमण स्थगित गर्नुपरेको हो ।
यसअघि उनले कात्तिक २० देखि २१ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । काठमाडौंस्थित कतारी दूतावासले आइतबार परराष्ट्र मन्त्रालयलाई अमिर थानीको भ्रमण स्थगित भएको जानकारी गराएको हो ।
परराष्ट्रले कतारी अमिरको नेपाल भ्रमणको सम्पूर्ण तयारी गरिसकेको थियो । आपसी छलफलपछि मात्रै अब कतारी अमिरको नेपाल भ्रमणको अर्को मिति तय गरिने भएको छ ।
गत शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तराृष्ट्रिय सम्बन्ध बलियो बन्दै गएकाले कतारका राजा नेपाल आउन लागेको बताएका थिए । त्यसको दुई दिनमै उनको भ्रमण स्थगित भएको छ ।