
काठमाडौँ । नेपालले टी-२० विश्वकपको एशिया क्षेत्रको छनौटमा विजयी शुरुवात गरेको छ । आजदेखि शुरु भएको छनौट खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले १६.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ७४ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले अविजित ३५ रन र कुशल मल्लले अविजित ६ रन बनाए । त्यस्तै ओपनर आसिफ सेख २७ रन बनाएर आउट भएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै सिंगापुरले २० ओभरमा ९ विकेट गुमाउदै १४५ रन बनाएको थियो ।
सिंगापुरका लागि रोहन रंगराजनले सर्बाधिक ४६ रन बनाए भने मनप्रित सिंहले २४, आर्यावीर चौधरीले ३७ रन अक्षय पुरीले १३ बनाएका थिए । सिंगापुरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसैगरी नेपाली बलर अविनाश बोहोराले ३ विकेट लिए भने सन्दीप लामिछाने, गुलशन झा र करण केसीले २-२ विकेट लिएका थिए ।
अब नेपालले समुह ए अन्तर्गतको अर्को खेलमा मंगलबार मलेसियासँग खेल्ने छ । यो खेल टियु मैदानमा अपराहन्न १: १५ बजेदेखि शुरु हुदै छ । त्यस्तै सिंगापुरले मंगलबार ओमानको सामना गर्दै छ ।
यसअघि नेपाल र सिङ्गापुरबीच चार ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल भएको छ जसमा नेपाल र सिङ्गापुरले समान एक एक जित निकाल्दा दुई खेल वर्षाको कारण रद्द भएको थियो ।
नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने अभिनाश बोहरा छन् ।