
काठमाडौं । बागमती प्रदेश सरकार संघीय सरकारविरुद्ध अदालत गएको छ । शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन खारेजीको माग गर्दै बागमती प्रदेश सरकार सर्वोच्च अदालत पुगेको हो ।
संघीय संसदबाट पारित भएको सो ऐनमा काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन गर्ने निकाय शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण संघीय सरकार अन्तर्गत राख्ने व्यवस्था रहेको छ । संविधानमा नै यातायात व्यवस्थासम्बन्धी अधिकार प्रदेश सरकारलाई रहेकाले उक्त प्राधिकरण आफू मातहत हुनुपर्ने माग बागमती सरकारले गरेको छ ।
बागमतीका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले आइतबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दर्ता गरेका छन् । संविधानसँग बाझिएका ऐन खारेजीको माग राखेर दिएका निवेदनहरु सोझै संवैधानिक इजलासमा सुनुवाइ हुने व्यवस्था छ ।
आइतबार दर्ता भएको रिट निवेदनको पेशी तोकिएको छैन । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चीन भ्रमणमा रहेकाले उनी फर्किएपछि मात्र संवैधानिक इजलास सञ्चालन हुने भएको छ ।
बागमती सरकारले राजधानी काठमाडौं लगायत प्रदेशभरका सार्वजनिक यातायात व्यवस्थापन सम्बन्धी अधिकार आफ्नो भएको दावी गर्दै संघीय संसदले आफ्नो क्षेत्राधिकार नाघेर कानुन बनाएको दाबी गरेको छ ।
रिटमा संघीय संसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कानुन मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण, काठमाडौं र यसका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीलाई विपक्षी बनाइएको छ ।