
काठमाडौं । नेपाली कांग्रेसको विधानमा महाधिवेशन भएको वर्षमा बाहेक प्रत्येक वर्ष महासमिति बैठक बोलाउनुपर्ने व्यवस्था छ । महासमितिमा समसामयिक राजनीतिक विषयमा विचार निर्माण गर्नुको साथै विधान र नियमावलीका विषयमा छलफल हुने कांग्रेसमा अभ्यास छ । ०७८ मंसिरमा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनमा २५ जिल्लामा मात्र महासमिति सदस्यका लागि निर्वाचन भएको थियो । बाँकी जिल्लामा महाधिवेशन प्रतिनिधि मात्र चयन गरिएको थियो । महाधिवेशनताका महासमिति सदस्य चयन नभएपछि अहिले निर्वाचन भइरहेको छ । कांग्रेसले केन्द्रमा पनि नीतिमाथि कुनै छलफल नगरी पदाधिकारी र सदस्यको निर्वाचनमात्रै गरेको थियो ।
आसन्न महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक मुद्दा समेटेर प्रतिवेदन प्रस्तुत गर्नेछन् । महासमिति बैठकमा सरकारको स्थिरताका लागि निर्वाचन प्रणाली संशोधन, क्रियाशील सदस्यताबाटै पार्टी सभापति निर्वाचित, प्रदेश र स्थानीय संरचनालाई अधिकार सम्पन्न बनाउनुपर्ने मुद्दा अघि सार्ने नेताहरूको तयारी छ ।
राष्ट्रिय राजनीति, समाजवादीको विषय, परराष्ट्र, आर्थिक स्थिति, युवा विदेश पलायन लगायतका विषय नीतिगत प्रस्तावमा आउने बुझिएको छ ।महामन्त्री थापाले शुक्रबार निर्वाचन समितिसँग महाधिवेशन प्रतिनिधि छनोटबारे छलफल गरेका थिए । थापासँगको छलफलपछि निर्वाचन समितिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिलाई कात्तिक २४ को मिति तोकेको छ । सो समयभित्र महाधिवेशन प्रतिनिधिको नाम नबुझाइए उनीहरू महासमिति बैठकमा सहभागी हुन नपाउने थापाले बताए ।
महासमिति बैठकमा सरकारको स्थिरताका लागि निर्वाचन प्रणाली संशोधन, क्रियाशील सदस्यताबाटै पार्टी सभापति निर्वाचित, प्रदेश र स्थानीय संरचनालाई अधिकारसम्पन्न बनाउनुपर्ने मुद्दा अघि सार्ने नेताहरूको तयारी छ ।महामन्त्री शर्माले वर्तमान राजनीतिक विषयवस्तु समेटेर राजनीतिक प्रतिवेदन तयार पार्ने छन् । गठबन्धन, सरकार, विपक्ष पार्टीको गतिविधि, मुलुकको राजनीतिक अवस्थालगायतका विषयले प्रतिवेदनमा स्थान पाउने छन् ।कांग्रेसको विधानअनुसार क्षेत्रीय प्रतिनिधिले महाधिवेशन र महासमितिका प्रतिनिधि चयन गर्ने व्यवस्था छ ।
यसपटक कांग्रेसको महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि सहभागी रहनेछन् । कांग्रेस महासमिति बैठकमा ११ जना सदस्य प्रतिनिधिसभाबाट निर्वाचित क्षेत्रबाट निर्वाचित भएर आउने व्यवस्था छ ।प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दुई महिलासहित प्रत्यक्ष सातजना, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम र पिछडिएका क्षेत्रबाट जनसंख्याको बनोटको आधारमा चार जना समानुपातिक समावेशी सिद्धान्तअनुसार निर्वाचित हुनेछन् ।
१६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्यको प्रतिनिधित्व हुनेछ । त्यसबाहेक केन्द्रीय कार्यसमितिका वर्तमान र निवर्तमान पदाधिकारी र सदस्य, एक कार्यकालका लागि निवर्तमान महासमिति सदस्य, भ्रातृ संस्था र जनसम्पर्क समितिबाट समेत महासमिति सदस्यको प्रतिनिधित्व हुने वैधानिक व्यवस्था छ ।कांग्रेसको ३५ देशमा जनसम्पर्क समिति छन् ।
क्रियाशील सदस्यताका आधारमा एकजनादेखि बढीमा ६ जनासम्म महासमिति सदस्य चयन हुने छन् । भ्रातृ र शुभेच्छुक संस्थाको अधिवेशनबाट तीन–तीनजना महासमिति सदस्य चयन हुनेछन् । कांग्रेसका अहिले १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था छन् । यी सबै गरी २५ सयभन्दा बढी प्रतिनिधि महासमिति बैठकमा सहभागी हुने कांग्रेसले जनाएको छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म १२२ निर्वाचन क्षेत्रमा प्रतिनिधि छनोटको काम सकिएको छ । १६५ निर्वाचन क्षेत्रमध्ये ४३ स्थानमा अझै प्रतिनिधि छनोट हुन सकेको छैन ।
प्रत्येक वर्ष महासमिति बैठक बोलाउनुपर्ने कांग्रेसको विधानमा उल्लेख भए पनि महाधिवेशनको दुई वर्ष बितिसक्दासमेत पार्टीले महासमिति सदस्य छनोट गर्न नसकेको हो । केही जिल्लामा विवाद देखिएको छ । त्यसले पनि महासमिति चयनमा बाधा पुगेको छ ।