राजनीति

सत्तामा बसेको माओवादीले कोविरुद्ध आन्दोलन गर्ने ? कांग्रेस असन्तुष्ट

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको माओवादीले सडक संघर्षको कार्यक्रम घोषणा गरेपछि नेपाली कांग्रेसलाई अप्ठेरो परेको छ । आफैं सरकारमा बस्ने अनि सडक आन्दोलन गर्ने माओवादी चरित्रका कारण कांग्रेसलाई अप्ठेरो परेको हो ।

प्रायः विपक्षी दल तथा आफ्ना माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले दबाब समूहले सडक आन्दोलन गर्ने चलन छ । तर माओवादी आफैं सत्तारुढ दल हो । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं प्रधानमन्त्री छन् । तर माओवादीले गर्न लागेको सडक आन्दोलन कसलाई देखाउन र तर्साउन हो भन्दै अहिले सामाजिक सञ्जालमा आक्रोश उत्पन्न भएको छ

मंगलबार जारी सर्कुलरअनुसार माओवादीले गणतन्त्रका उपलब्धिहरु उल्टाउने गरी राजावादी खेमाबाट भइरहेका प्रतिगामी षडयन्त्रहरुको भण्डाफोर गर्ने भन्दै सडक संघर्ष गर्न लागेको हो । कार्यक्रमअनुसार माओवादीले मंसिर २२ गते काठमाडौंमा सडक संघर्ष गर्ने जनाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले निर्णयबारे सर्कुलर पठाउँदै माओवादीले मातहत कमिटी र भ्रातृसंगठनहरुलाई मंसिर २२ को तयारीमा उत्रन निर्देशन दिएको छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था सम्बन्धमा अध्यक्ष प्रचण्डले गम्भीर चिन्ता व्यक्त गर्दै देशी विदेशी प्रतिगामी शक्तिहरू षडयन्त्रमूलक ढंगले विद्यमान उपलब्धिहरुलाई उल्टयाउन खोज्ने, अस्थिरता र अराजकता पैदा गराई मुलुकमा संकट निम्त्याउन खोज्ने प्रवृत्तिहरू देखिएको पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन् ।

माओवादीले विदेशी शक्तिसमेत परिवर्तन उल्ट्याउन सक्रिय भएको विश्लेषण गरेको छ । माओवादीको यो सर्कुलरका कारण अहिले कांग्रेस, एकीकृत समाजवादी, जसपालाई नैतिक संकट परेको छ । सत्तारुढ पार्टीले संगठन अभियान, जनचेतना जगाउने अभियान चलाउन सक्छ । तर आफैं सरकारमा बसेर आफैंले सडक आन्दोलन गर्न खोज्नु माओवादीको चरम सत्ता लिप्सा भएको विश्लेषण हुन थालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *