
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस यतिबेला चार दिने भ्रमणका क्रममा नेपालमा छन् । आइतबार बिहानै नेपाल आएका गुटेरेसले यसबीचमा पूर्वदेखि पश्चिम नेपालको भ्रमण पूरा गरिसके । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेटवार्ता गरे ।
महासचिव गुटेरेसले मंगलबार संघीय संसदका दुवै सदनलाई सम्बोधन पनि गरेका छन् । त्यसअघि गुटेरेसको सम्मानमा सरकारले रात्रिभोजको आयोजना गरेको थियो । रात्रिभोजमा राप्रपा नेपालका अध्यक्ष कमल थापाबाहेक अन्य सबै दलका शीर्ष नेता सहभागी थिए । नेपाल आएकै दिन आइतबार अपराह्न गुटेरेस ललितपुरको पाटन दरबार स्क्वायर पुगे । उनलाई ललितपुरका मेयर चिरिबाबु महर्जनले स्वागत गरे । महर्जनले दरबार स्क्वायरका पुरातात्विक महत्वका सम्पदाबारे जानकारी दिए ।
तर राष्ट्रसंघका महासचिव गुटेरेस काठमाडौंमै हुँदा मेयर बालेन्द्र साह बालेन भने बेपत्ता छन् । दशैंका बेला टीका लगाएको तस्बिर सार्वजनिक गरेयता बालेन कतै देखिएका छैनन् । राष्ट्रसंघका महासचिव गुटेरेसलाई सरकारले सरकार प्रमुखसरहको मान्यता दिएको छ । कुनै पनि देशको राष्ट्र प्रमुख वा सरकार प्रमुख आउँदा राजधानी सहरको मेयरले स्वागत गर्ने, अभिनन्दन गर्ने प्रचलन छ । तर, यसपटक काठमाडौंका मेयर बालेन भने त्यसको अपवाद भएका छन् । राष्ट्रसंघको महासचिव आउँदा उनीसँग भेटवार्ता गर्ने, राजधानी सहरको महत्वपूर्ण ठाउँको अवलोकन गर्न लगाउँदा मेयरकै प्रतिष्ठा बढ्थ्यो । तर, बालेनले यस्तो ठूलो मौका गुमाएका छन् ।
विदेश सरकार प्रमुख वा राष्ट्र प्रमुखको भ्रमणमा संघीय सरकारकै तजबिजी अधिकार चल्छ । परराष्ट्र मन्त्रालयले विदेशी पाहुनाको भ्रमणको कार्यतालिका सार्वजनिक गर्छन् । कसलाई भेट्ने, कहाँ जाने, कस्तो कार्यक्रम राख्ने भन्ने सबै परराष्ट्रले हेर्छ । संघीय सरकारसँग काठमाडौं महानगर प्रमुख बालेनको हार्दिक सम्बन्ध छैन । देशका राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, प्रमुख दलका नेतासमेतलाई बालेनले सामाजिक सञ्जालमार्फत उछितो काढ्ने गरेका छन् । त्यसकारण पनि बालेन र महासचिव गुटेरेसबीच भेटको कुनै कार्यक्रम नराखिएको हुनसक्ने अनुमान गरिएको छ ।
राष्ट्रसंघका महासचिव काठमाडौंमै हुँदा महानगरका मेयरको खोजी हुनु सामान्य कुरा हो । यस विषयमा मेयर बालेनले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेका छैनन् । विगतमा विदेशी पाहुनालाई काठमाडौंका मेयरले न्यानो आतिथ्यता गर्ने चलन थियो । त्यस्तो अवसरबाट बालेन चुकेका छन् । अझ सरकारले काठमाडौंका मेयरको मर्यादा १० औंबाट घटुवा गरी १७औंमा झारेपछि बालेनको साखमा धक्का लागेको छ ।