
काठमाडौं । दशैं, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वको अवसरमा एमालेले बुधबार चियापान आयोजना गर्दैछ । चियापान एमाले मुख्यालय च्यासलमा आयोजना गरिँदैछ ।
एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सिंगो केन्द्रीय समिति, माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै दलका शीर्ष नेता, विदेशी कूटनीतिक नियोग, वकिल पत्रकार, कलाकार, इन्जिनियरलाई चियापानमा निमन्त्रणा गरेको छ । मंगलबार नै आयोजना हुने भनिएको चियापान संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एक दिन पछि सारी बुधबारलाई तोकिएको हो ।
एमालेले आफूबाट फुटेर गएको एकीकृत समाजवादीका नेताहरूलाई पनि निमन्त्रणा दिइएको छ। एमाले प्रचार विभागका अनुसार चियापानमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेतालाई निमन्त्रणा पठाइएको छ।
सबैभन्दा संकट नै अहिले माधव, झलनाथ र घनश्यामलाई परेको छ । माधव नेपाल गत शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापानमा पुगेका थिए । तर, एमालेबाटै फुटेर एकीकृत समाजवादी पार्टी गठन गरेकाले माधव र झलनाथलाई चियापानमा जाने कि नजाने भन्ने नैतिक संकट आइलागेको हो ।
केही समयअघिसम्म एमाले अध्यक्ष केपी ओलीले माधव र झलनाथको उछितो काढ्ने गरेका थिए । तर अहिले एकअर्काप्रति गालीगलौज र टीकाटिप्पणी बन्द भएको छ । यसबीचमा ओली र माधव नेपालबीच पनि कुराकानी भइसकेको छ । त्यसैले एमाले नेता कार्यकर्ता आजको चियापानमा माधव र झलनाथ खनाल आउनेमा विश्वस्त छन् ।
पछिल्लो समय एमाले र एकीकृत समाजवादीका नेताहरूबीच सम्बन्ध सुधारको प्रयास भइरहेकाले आजको चियापानले थप सम्बन्ध सुधार हुने उनीहरूको बुझाई छ ।