
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी छिन् ।
नयाँदिल्लीमा बुधबार भएको निर्वाचनमा उनले नेपालका उम्मेदवार शम्भुप्रसाद आचार्यलाई पराजित गरेकी हुन् । नेपालका उम्मेदवार आचार्यले १० मध्ये दुई र वाजिदले आठ मत पाइन्। उनी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदकी छोरीसमेत हुन् । प्रधानमन्त्रीकै छोरी उम्मेदवार भएकाले उनका लागि बंगलादेश सरकारले कूटनीतिक लबिइङमा जोड दिएको थियो ।
डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भुटान, उत्तर कोरिया, भारत, बंगलादेश, इन्डोनेसिया, माल्दिभ्स, म्यान्मार, श्रीलंका, थाइल्यान्ड र टिमोर लिस्टे छन् ।
बुधबार सम्पन्न निर्वाचनमा म्यानमारबाहेक १० देशका प्रतिनिधि सहभागी भएका थिए। नयाँ निर्देशकमा चयन भएकी वाजिद विश्व स्वास्थ्य संगठनमा मानसिक रोग विज्ञको रुपमा कार्यरत थिइन्। उनको मनोनयनलाई आउँदो जनवरीमा हुने विश्व स्वास्थ्य संगठनको महासभाले अनुमोदन गर्नेछ।