
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन नेताबीच संक्रमणकालीन न्यायसम्बन्धी टुंगो लगाउनुपर्ने विषयमा कुराकानी भएको थियो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस न्युयोर्क फर्केलगत्तै प्रचण्ड, देउवा र ओलीबीच संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
गुटेरेसले मंगलबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै नेपालको शान्ति प्रक्रियाबारे विश्वले पाठ सिक्नुपर्ने बताएका थिए । उनले बाँकी रहेका शान्ति प्रक्रियाका सम्बन्धमा नेपाल एक्लो नरहेको भन्दै राष्ट्रसंघको साथ रहेको बताएका थिए ।
गुटेरेससँगको भेछवार्तामा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड नै शान्ति प्रक्रियाका बाँकी रहेका विषय टुंगोमा पुर्याउन बाधक रहेको आरोप लगाएपछि प्रचण्डले बुधबार बिहान बोलाएर ओलीसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड चालू संसदमै टीआरसी विधेयक पास गर्नुपर्ने पक्षमा छन् । तर एमालेले अझै सहयोग गरिरहेको छैन । उसले सर्वोच्च अदालतको आदेशअनुसार विधेयक तयार पार्नुपर्नेमा जोड दिएको छ ।