रिबन

रिगलको कैदमाफी रद्द हुने सम्भावना कति ?

काठमाडौं । सर्वोच्च अदालतले चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय सुनाइएको योगराज ढकाल उर्फ रिगललाई कैदमाफी गर्ने सरकरको निर्णयविरुद्ध परेको रिटमा बिहीबार फैसला सुनाउने भएको छ ।

मन्त्रिपरिषद्ले रिगललाई कैद मिनाह गर्ने गरी माफीका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो । सरकारको निर्णयलाई राष्ट्रपति पौडेलले स्वीकृति दिएका थिए ।

त्यसपछि संविधान दिवसको दिन रिगल कारागारमुक्त भएका थिए । रिगललाई कैदमाफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो । रिटमाथिको सुनुवाइ बुधबार सकिएको छ । बिहीबारलाई फैसला सुनाउने सर्वोच्चले जनाएको छ । त्यसैले आज रिगलको कैदमाफी रद्द हुने हो वा राष्ट्रपतिको निर्णय सदर हुने हो ? भन्ने चासो सर्वत्र देखिएको छ ।

आमजनता तथा मिडिया रिगललाई कैममाफी दिने सरकारको निर्णयको विरुद्धमा छन् । जन्मकैद सजाय पाएको व्यक्तिले अदालतले तोकेको सजाय भुक्तान गर्नैपर्ने धेरेको भनाइ छ ।

गुण्डा प्रवृत्तिका व्यक्तिलाई सोर्सफोर्स र राजनीतिक पहुँचका आधारमा आममाफी दिँदै जाँदा शान्ति सुरक्षाको अवस्थामा खलल पुग्ने, अपराध गर्नेको मनोबल बढ्ने देखिन्छ । हालैका तीन चारवटा घटनाले राष्ट्रपतिबाट आममाफी पाएर छुटेका व्यक्ति हत्या र अपहरणमा लागेको देखिएको छ । त्यसैले पनि अदालतले रिगलको कैदमाफी रद्द गर्ने धेरैको विश्वास छ ।

यदि अदालतले रिगलको कैदमाफी रद्द गरेमा राष्ट्रपति र सरकारलाई नैतिक संकट पर्ने देखिन्छ । सरकारले पनि आगामी दिनदेखि असल चालचलनका आधारमा कैदमाफी दिने बेला निश्चित मापदण्ड बनाउने बारे सोच्न बाध्य हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *