रिबन

२ नोभेम्बर : पत्रकारको सुरक्षा गर्नुपर्ने अभियानको दिन

पत्रकारको सुरक्षा
२ नोभेम्बरको दिनलाई पत्रकारको सुरक्षाका लागि अभियानको रुपमा विश्वभर लिइन्छ र युनेस्कोले दण्डहीनता विरुद्ध बोल्ने र अभियानको रुपमा यसदिनलाई लिएको छ र पनि विश्वभर पत्रकारहरुमाथि गरिने आक्रमण, हिंसा र हत्या रोकिएको छैन ।

पत्रकार विरुद्धका अपराधमा कार्बाही हुन नसकेका घटनामा दण्डहीनता मौलाएकाले गम्भीरताका साथ पत्रकारिता जोखिममा छ भनेर छानबिन गराउन र पीडकलाई कार्बाही होस् भनेर हामी लागेका छौँ । नोभेम्बर २लाई पत्रकारविरुद्ध हुने घटनाका र त्यसका लागि दण्डहीनता हुनु हुँदैन, पीडकमाथि कार्बाही भएमा मात्र फेरि फेरि उसबाट र अरुबाट पनि पत्रकार र पत्रकारितामाथि पीडा थपिँदैन भन्ने छ ।

त्यसका लागि अन्तर्राष्ट्रिय दिवस समेत मनाउँदै त आएका छौँ तर त्यसबाट पनि खासै प्रगति भएको छैन भन्ने पर्न थालेको छ । र पनि अनवरत पत्रकारको सुरक्षाको अभियानमा लागिरहनु आवश्यक छ । यसमा पत्रकार महासंघको र पत्रकारका लागि खोलिएका सँस्थाहरुको निष्पक्ष संलग्नता अति नै आवश्यक छ ।

एक्काइसौँ शताब्दीलाई धेरै आशा र अपेक्षाका साथ हेरिएको थियो । २०२३को पनि अन्त्य हुन अब दुई महिना मात्र बाँकी रहँदा एक चौथाई समयले त्यस्तो कुनै चमत्कारको सङ्केत गरेन । अझ झन सूचना प्रविधिको विकासको क्रमसँगै सूचनालाई जनसमक्ष पु¥याउने सञ्चारकर्मीहरुको भौतिक सुरक्षामा भने धेरै चुनौती थपिएको छ ।

अझ खासगरी सूचना सम्पादन गर्दै जनतालाई सुसूचित गर्र्ने आफ्नो लक्ष्य, पेसा र व्यवसाय बनाएर काम गर्ने पत्रकार झन झन असुरक्षित हुँदै गएको तथ्य देखा पर्दैछ । सत्यको उद्घाटन गर्ने पत्रकार सधैँ डर र त्रासमा बाँच्नुपर्ने अवस्था सृजना भएको देखिन्छ ।

जसले पत्रकारिता क्षेत्रलाई आफ्नो कर्मक्षेत्र बनाएर सूचना सम्प्रेषण गर्छ, त्यही अत्यावश्यक सूचना सम्प्रेषण गरेबापत नै असुरक्षित हुनु पर्दाको पीडा कस्तो होला ? तर विश्वमा अनि नेपालमा पनि यो दुई दशकमा भएका घटनाले कसरी पत्रकार र पत्रकारिता क्षेत्रलाई सुरक्षित राख्न सकिन्छ भन्ने चुनौती थपिएको छ ।

झन अहिले युक्रेनमाथि रुसले युद्ध थोपरेपछि संसारभर नै युद्धको बाछिटाले भेटेको छ । सोभियत संघमा एउटै मालामा उनिएर रहेका युक्रेन र रुसको अनपेक्षित युद्धका कारणले हतियारको होड एकातिर देखिन्छ भने अर्कोतिर युक्रेनबाट निर्यात हुने खाद्यान्नको बेलैमा आपूर्ति नहुँदा अनि तेलको अनियमित उत्पादन र आपूर्तिले संसारभर भोखमरी र महङ्गी बढाएको छ । यसले पनि जनताको भाषा बोलेर सेवा गर्नुपर्ने पत्रकारिताको जोखिम झन बढाएको छ ।

अहिले संसारका शक्ति राष्ट्रहरु या त रुसतर्फ ढल्किएका छन् या त युक्रेनको सार्वभौमसत्ता जोगाउने कसरतमा सहयोग गर्न खोज्दैछन् ।

पत्रकारितामा कसरी आउँछ असुरक्षाको अवस्था ?
पत्रकारिता एउटा सबैखाले सूचना सम्प्रेषण गर्ने जोखिमयुक्त पेसा हो र पत्रकार नै त्यसको नायक हो जसले त्यो सूचना जनताको आवश्यकताको लागि विना स्वार्थ खोजेर ल्याउँछ । खोज्छ मात्र होइन, खोज्दा धेरै व्यक्ति तथा सँस्थाहरुका स्वार्थसँग उसले जुध्नुपर्ने हुन्छ ।

ती गलत प्रबृत्तिको खुलासा गर्दा ती व्यक्ति तथा संस्थाको पोल खुल्छ । नकाब उघ्रँदा उनीहरुको समाजमा रहेको कृत्रिम मानभाउ घट्छ मात्र होइन , कानुनी दायरामा समेत आउने सम्भावना बढ्छ । निर्वाचनका बेलामा, युद्धका बेलामा र अवैध व्यापारका चाहे ती मानव तस्कर या लागू पदार्थ या हतियार आपूर्तिका काम हुन् या अन्य कुनै असामाजिक , देशद्रोही व्यवहार हुन् । तिनको पोल खुल्दा मुलुकलाई फाइदा हुन्छ, समाज शुद्धीकरणतर्फ लाग्छ तर अनुसन्धाता पत्रकार भने जोखिममा पर्छ ।

आक्रमणमा पर्छ । कुनै घटनामा आगामी अनुसन्धान ठप्प हुन्छ , कुनै घटनामा भौतिकरुपमा आक्रमण गरेर अपाङ्ग बनाइन्छ र धेरै घटनामा कुनै पनि प्रमाण नदेखिने गरी पत्रकारको हत्या गरिन्छ । पछिल्लो विश्वमा सनसनी मच्चाएको घटनाको रुपमा साउदी अरबियाबाट विस्थापित भएर संयुक्त राज्य अमेरिकामा पत्रकारिता पेसा अँगालेर बस्ने जमाल खसोग्गीको घटना अझै नसुल्झिएको घटनाका रुपमा ताजा छ ।

भारतमा चर्चित महिला पत्रकारको हत्याले अझै डरको वातावरण छँदैछ । भारतमा सबैभन्दा बढी त सूचनाको हक प्रयोग गर्ने अभियन्तासँगै त्यसका लागि सूचना माग्ने पत्रकारहरु असुरक्षाको मारमा परेका र मारिएका छन् । नेपालमा पनि कतिपय सूचनाका हकका अभियन्तासँगै पत्रकारहरु पनि आक्रमणमा परेका, दुरुत्साहन खपेका र तिनको अपमान र अपराधमा लागेकाहरुलाई कुनै पनि कार्बाही नगरिनुले नेपालमा त्रासको वातावरण छँदैछ ।

अहिले रुसमा कति पत्रकार जेलमा छन् , टर्कीमा जेलमा छन् र युद्धमा संलग्न पक्षहरुले सबैभन्दा बढी केन्द्रित भएर आक्रमण गर्ने नै पत्रकार भएका छन् । यसको पछिल्लो उदाहरणका लागि हालै भड्केको हमास तथा इजरायल युद्धमा अहिलेसम्म ३१ जना पत्रकारहरुको हत्या भइसकेको तथ्यले पनि देखाउँछ ।

विश्वमा पत्रकार बढी प्रताडित हुनुमा पत्रकार विरुद्धको दण्डहीनतासम्बन्धी पक्ष नै मुख्य मानिन्छ । एक त पत्रकारले विना डर, धम्की र त्रासमा आपूmलाई आफ्ना काममा समर्पित गर्न पाउनु पर्छ सिद्धान्ततः । आफूलाई संसार भरको प्रजातन्त्रको ठेकेदार सम्झने अमेरिकाका शक्तिशाली प्रजातन्त्रवादी राष्ट्रपति भवनमा पत्रकारको प्रेस पास खोसिन्छ र अदालतले त्यसमा हस्तक्षेप गरेर प्रेस पास दिलाउनु पर्छ ।

अनि विश्वको शक्तिशाली सेतो घर ह्वाइट हाउसमा समेत पत्रकारहरुको स्वतन्त्ररुपमा आउजाउ सम्भव देखिँदैन र प्रजातान्त्रिक देशहरुमा पनि पत्रकारहरुलाई स्वतन्त्ररुपमा सरोकारवालाहरुसँग भेटघाटमा बन्देज रहेको पाइन्छ । त्यस्ता संस्थाहरुमा समेत पत्रकारको खोजी, जिज्ञासा र अभिव्यक्ति स्वतन्त्रतामा माथि धाबा बोलिन्छ भने विश्वका अन्य नयाँ तथा देखावटी प्रजातन्त्रवादीहरुको के कुरा भयो र ?

पत्रकारितालाई समाजको अपरिहार्य कार्यको रुपमा बुझ्नु जरुरी छ । सैद्धान्तिक रुपमा प्रत्येक सरकारले , समाजका सबै सचेत सदस्यहरुले र सहिष्णुता भएका नागरिक समाजले यसलाई अपरिहार्य सामाजिक व्यवस्था मानेका हुन् तर आफ्नू निहित स्वार्थमा कुनै कुरा कोट्याइयो भनेचाहिँ त्यहाँ असहिष्णुताको सीमा उल्लंघन हुन थाल्छ, त्यहीँबाट पत्रकार असुरक्षित हुने अवस्था सुरु हुन्छ ।

मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको प्रयोगमा पत्रकारमाथि नै बढी खतरा

पत्रकारले बोल्दा, लेख्दा, प्रसारण गर्दा र सूचनाको संग्रह गर्दा जुन अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्नुपर्ने हुन्छ, त्यसको लागि पत्रकारको , पत्रकारिताको सुरक्षा आवश्यक हुन्छ । लाग्थ्यो, एक्काइसौँ शताब्दीमा पत्रकारिता अझ सम्मानित र प्रतिष्ठित पेसाको रुपमा सरकारले, समाजले लेला । तर त्यो अपेक्षा र मीठो आशामा यता केही वर्षदेखि तुषारापात हुन थालेको आभास हुँदैछ । जति जति समाज सचेत हुँदै गएको छ, व्यक्तिका लागि अभिव्यक्ति स्वतन्त्रताको महत्व बढ्दै गएको छ , त्यति त्यति अभिव्यक्ति स्वतन्त्रताको प्रयोगमा बाधा अवरोध बढ्दै गएको छ । त्यसको मारमा पत्रकार नै बढी परेका छन् । त्यसले मानवअधिकार खतरामा परेको आभास हुन थालेको छ ।

पत्रकारिता समाजको त्यस्तो एउटा सेवा हो जसले वाणीविहीनको आवाजको काम गर्छ । सामाजिक न्याय नपाएकाहरुका लागि सामाजिक न्यायको प्रत्याभूतिका लागि निरन्तर र अनवरत आवाज दिइरहेको हुन्छ विना डर र त्रास । तर त्यहाँ डर र त्रासको भावना भने प्रचूरमात्रामा संग्रहित यसकारणले हुन्छ कि जसका कारणले आम जनताले दुःख पाएका हुन्छन्, ती सही विचार, समाचार र टिप्पणीले तिनको स्वार्थमा धक्का लागेको महसुुस गरेका हुन्छन् ।

जसरी हुन्छ, आफ्नो स्वार्थको पक्षमा रक्षा कबच भनेको तिनले पत्रकारको कलम, माइक, कम्प्युटर मात्र भौतिकरुपमा ध्वस्त बनाउँदैनन्, सूचना सङ्कलक पत्रकार, सूचना प्रसारक तथा प्रचारक अनि प्रकाशक समेतलाई भौतिक रुपमा सफाया गर्ने गर्छन् । विगत एक दशकमा १ हजार ६ सय भन्दा बढी पत्रकारहरुको हत्या भएको छ र २०२३मा मात्र अरु ४५ जना पत्रकारहरुको हत्या भएको तथ्य फेला परेको छ । त्यसबाट करिब ५ हजारभन्दा बढी व्यक्तिहरु प्रभावित भएका छन् ।

नेपालमा मात्र यो एकवर्षमा ५५ जनाभन्दा बढी पत्रकारहरु हिँसाको मारमा परेका छन् जसबाट १०० भन्दा बढी सञ्चारकर्मीहरु प्रभावित भएका छन् ।त्यसमा कार्यमा अवरोध नै हो र कति त जेलमा पनि परेका थिए । त्यसमा सबैभन्दा बढी घटना वाग्मती प्रदेशमा २५ ओटा पत्रकारविरुद्धका घटना घटेको पाइयो । पहिलेदेखिको पत्रकारविरुद्धको अपराधमा दण्डहीनता देखिन्छ र तिनका न्यायका लागि खासै केही भएको पाइएको छैन ।

राज्य संवेदनहीन भएको देखिन्छ भन्ने पीडित परिवारहरुको धारणा छ । या त राज्य दण्डहीनताको विपक्षमा स्पष्ट उभिन खोजेको छैन, या त दण्डहीनताले यस्तो स्वरुप लिइसक्यो कि त्यसका विरुद्धमा समाज एकजुट भएर उठ्नु जरुरी छ सरकारलाई सहयोग गर्न वा सरकारलाई सतर्क बनाउन ।

कोरोनाकालमा समेत विश्वभर पत्रकारहरु आफ्नो कर्तव्य पूरा गर्दागर्दै कार्यस्थलमा नै मारिएका छन् । ती मारिनुमा भ्रष्टाचारविरुद्धको समाचार नै हो । त्यसरी मारिएका पत्रकार तथा सञ्चार उद्यमीसमेतको हत्याका वारेमा बडो कम छानबिन भएको छ र यदि कतै छानबिन भएको छ भने पनि अत्यन्तै धीमा गतिमा अनुसन्धान भएको पाइएको छ । या त अनुसन्धान भएको भनिएता पनि त्यसबारेमा कुनै सुनुवाइ नै भएको पाइँदैन ।
नेपालको अवस्था
नेपालको पन्चायती शासनमा पत्रिका बन्द हुनु, पत्रकारलाई नजरबन्द या पक्राउ गरी जेलमा राख्नु साधारण कुरा थियो । त्यो बेलामा पनि पत्रकारिता झन सुसूचनाको असली माध्यम थियो विपक्षीको रुपपमा । प्रजातन्त्र कालमा पत्रकारिताले फड्को मारेको छ स्वतन्त्र समाचार र विचारका लागि एकातिर भने पत्रकारको असुरक्षामा पनि त्यस्तै ग्राफ उकालो लागेको छ ।

२०५२सालबाट जब जनयुद्ध सुरु भयो, अनि पत्रकारहरुलाई प्रशासन र माओबादी दुवैबाट आफ्ना कित्ताका रुपमा लिन थालियो । त्यही पत्रकार कहिले माओबादी समर्थक देखिएर प्रताडनामा प¥यो त कहिले सरकार पक्षीय मानेर माओबादीको प्रताडनामा परेको पाइयो । हत्या गरिए, बेपत्ता पारिए ।

हत्याको न त अपराधीलाई हत्याराका रुपमा कार्बाही गरियो , न त बेपत्ता पार्नेलाई कठघरामा उभ्याइयो । एउटा पत्रकारका परिवारका सदस्यलाई हत्यारा वा बेपत्ता पार्ने सखल्ल समाजमा टाउको उठाएर हिँडेको अनि आफूलाई चाहिँ अपराधी जस्तै पाएको अनुभूति सँगालेको बारम्बार सुन्न र देख्न पाइएको छ । सेनाले ग¥यो कि, पुलिसले ग¥यो कि माओबादी जनसेनाले गरे कि माओबादी कार्यकर्ताले हत्या गरे वा बेपत्ता पारे, त्यो सरोकारको कुरा भएन अब त ।

अबको सरोकार भनेको अपराधी जो सुकै होस् , त्यसमाथि कार्बाही हुनु जरुरी छ । जसको जे कुरा छ, अदालतमा भनून् , या आयोगहरुमा भनून । तर कार्बाही होस् भन्ने भन्ने पीडित परिवारका सदस्यहरुको पाइन्छ । यसपटक पनि हत्याका घटना भन्दा पनि पत्रकारका सामाग्री तोडफोड, दुरुत्साहन, गाली गलौज गर्ने चलन यथावत् छ, जसमा राजनीतिक दलका कार्यकर्ताहरु र प्रहरीहरुबाट भएका गल्ती नै धेरै पाइन्छन् ।
र अन्त्यमा,
प्रजातन्त्र भनेको सहिष्णुताको मापन भएको राज्य व्यवस्था हो । राज्यमा सरकारदेखि सबै नागरिकहरु सहिष्णु हुनु जरुरी छ । पत्रकारिता पनि तथ्यमा आधारित र सत्यको खोजीमा लागेको हुुनु जरुरी छ ।

तर पनि तथ्यगत र असत्य समाचार भए त्यसको पनि खण्डन गर्ने र सुधार्ने व्यवस्था हुन्छ । तर पत्रकारमाथि नै आक्रमण गर्ने , मार्ने अनि पत्रिका वा रेडियो वा टेलिभिजन वा अनलाइनको कार्यालयमा नै आक्रमण गर्ने असहिष्णु व्यवहार कतैबाट हुुनु हुँदैन भनेर ने सचेतना जरुरी छ ।

पत्रकारको सुरक्षामा पत्रकारको भन्दा बढी चासो सरकारले देखाउनु पर्छ । तर सरकार उदासीन छ भनेर पत्रकारहरु नै भन्ने गर्छन् । अनि पत्रकारका सँस्थाहरु पनि कति सक्रिय छन् भनेर समीक्षा गर्नु जरुरी भएको छ । आफ्ना वारेमा आफैँ बढी सक्रिय भएमा पक्कै पनि सुरक्षाका लागि नयाँ नयाँ उपाय अपनाउन सकिन्छ होला ।

पत्रकारको कलम, ल्यापटप,कम्प्युटर, माइक, बोलाइलाई रोक्दा अभिव्यक्ति स्वतन्त्रताको हनन मात्र हुँदैन, जनताको निर्वाध सूचना पाउने हकसमेत कुण्ठित हुन्छ । यसलाई सम्झाइरहनु भन्दा पनि नेपालको संविधानले दिएको मौलिक हकको व्यवस्थालाई सरकारले संरक्षण गरे पनि हुन्छ । तर पत्रकारका वारेमा अझै नकारात्मक भावना देखिन्छ भन्ने कुरा कतिपय जिम्मेवार व्यक्ति तथा सँस्थाहरुबाट हुने गरेका काम कार्बाहीले स्पष्ट पारेको छ ।

प्रजातान्त्रिक समाजमा पत्रकारिताले नै सही र निष्पक्ष समाचार तथा विचार विश्लेषण दिने गर्छ । त्यसैले पनि निर्वाधरुपमा अभिव्यक्ति स्वतन्त्रताका अवस्था रह्यो भने मात्र पत्रकार निडर , निर्भीक र तथ्यपरक समाचार विचार विश्लेषण दिनसक्ने अवस्थाको हुन्छ । हाम्रो परिवेश पनि अब पत्रकार विरुद्धमा हुने कुनै पनि अपराधलाई असहिष्णु बनौँ र कार्बाहीका लागि नागरिक समाज, पत्रकार र सरकारको एकीकृत प्रयास सुरु गरौँ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *