राजनीति

शिव पौडेलकी पत्नी बिनु पनि आफ्नो पतिका हत्यारालाई दिएको आममाफीविरुद्ध कानुनी लडाइँमा जाने

काठमाडौं । नेपालगन्जका चेतन मानन्धरको हत्यामा संलग्न रहेको आरोपमा जन्मकैद सजाय सुनाइएका योगराज ढकाल रिगललाई कैद कट्टा गरी दिइएको आममाफीलाई सर्वोच्च अदालतले बदर गरेपछि अहिले बिनु रायमाझी पौडेललाई फेरि कानुनी लडाइँ लड्ने हौसला प्राप्त भएको छ । उनका पति तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको २०६८ पुसमा जिल्ला कारागार भरतपुरभित्र हत्या भएको थियो ।

पौडेलका हत्याराहरुलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन् । २०७७ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पौडेलको हत्यामा संलग्न रहेका फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीलाई केपी ओली सरकारको सिफारिसमा भण्डारीले आममाफी दिएकी थिइन् । उनीहरू भरतपुर कारागारमा थिए ।

सर्वोच्च अदालतले पौडेलको हत्यामा संलग्न भएकालाई २० वर्ष कैद सजाय सुनाइएको थियो । कारागारभित्रै हत्या जस्तो गम्भीर अपराध गर्नेलाई पनि कारागार विभागले आममाफीको सिफारिस गरेको पाइएको छ । पौडेलको हत्यामा संलग्नहरु तत्कालीन एमाले निकट युवा संघका कार्यकर्ता रहेको त्यतिबेला नै सार्वजनिक भएको थियो।

शिव पौडेलकी पत्नी बिनु रायमाझी पौडेलले आफ्नो पतिको हत्यामा संलग्न रहेका अभियुक्तलाई आममाफी दिइएपछि कानुनी लडाइँ लड्ने बताएकी छन् । २७ वर्षको उमेरमा बिनुले पति गुमाएकी थिइन्। चितवनको केराबारीमा भएको एक व्यक्ति हत्या मुद्दामा उनका पति पौडेल २०६८ भदौमा जेल परेका थिए।

जुन हत्यामा उनलाई फसाइएको दाबी परिवारका सदस्यले अहिले पनि गर्छन्। थुनछेक बहसका लागि कारागार चलान गरिएका शिवलाई मंसिर २० गते राति सुतिरहेका बेला चक्कु, खन्ती, चापाकलको झाप र रडले कुटपिट गरियो। गम्भीर अवस्थाका पौडेललाई चितवनकै सरकारी अस्पताल लगियो। चिकित्सकले त्यहाँ उपचार नहुने भनेपछि पुरानो मेडिकल कलेज लगियो। केही दिनपछि पौडेललाई काठमाडौं लगियो। पुस २ गते उनलाई मृत घोषणा गरियो। चितवनमै मृत्यु भइसकेका पौडेललाई काठमाडौं लगेर मृत घोषणा गरिएको हो।

२०६६ जेठमा शिवका भाइ गोविन्दको भरतपुरमा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। सोही मुद्दामा चितवनका फणिन्द्र श्रेष्ठ, सुनिल केसी र दिलबहादुर मोक्तान जेल परेका थिए। उनीहरूले नै शिवको पनि जेलभित्रै हत्या गरेका थिए। बिनुले देवरको हत्या मुद्दामा तत्कालीन एमालेका तीनजना कार्यकर्ता पक्राउ परेपछि त्यसकै बदला लिन आफ्ना पति शिवलाई पनि हत्या मुद्दामा फसाएर जेल हालिएको र त्यहीं हत्या गरिएको दाबी गर्दै आएकी छन्।

बिनुको गुनासो सबैभन्दा धेरै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसँग छ। सत्ता र शक्तिको आडमा हत्यारालाई उन्मुक्ति दिएको उनको बुझाइ छ।‘मेरा पतिका हत्यारालाई के आधारमा जेलबाट छोडियो ? आफ्नो पार्टी फुट्यो, कार्यकर्ता कम भए भनेर राष्ट्रपति, प्रधानमन्त्रीले हत्यारा प्रमाणित भइसकेका व्यक्तिहरूलाई जेलबाट निकाल्ने ?

यो देशमा न्याय, कानुन केही छैन ? के अब म पनि मेरा पतिका हत्यारालाई मारेर जेल जाऊँ ? अनि म आबद्ध पार्टीको सरकार बन्यो भने आममाफी लिएर फर्किऊँ ? छातीमा हात राखेर सोच्नुस् त तपाईंहरूलाई स्वीकार्य हुन्छ ? मान्छे मारेपछि सजाय भोग्नुपर्दैन ? दुईदुईजनाको हत्या गर्नेलाई उन्मुक्ति दिन मिल्छ राष्ट्रप्रमुखले  ?’ बिनुले तत्कालीन राष्ट्रपति भण्डारीलाई प्रश्न गरेकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट