देश

भुइँचालोले फेरि अरु धुर्मुस–सुन्तली र श्वेता खड्काहरू नजन्माओस्

काठमाडौं । आठ वर्षअघि २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको मृत्यु भयो । गोरखाको बारपाक इपिसेन्टर रहेको सो भूकम्पलाई नेपालको इतिहासमै सबैभन्दा धेरै विनशलीला मच्चाउने भूकम्प भनेर चिनिन्छ । झन्डै एक मिनेट लामो कम्पनले नेपालले धेरै ठूलो मानवीय र आर्थिक क्षति बेहोरेको थियो । आठ वर्ष बितिसक्दा पनि त्यो भूकम्पको डोब पुर्न सकेको छैन । त्यसबेला नेपालले पाँच खर्बभन्दा बढी क्षति भोगेको थियो ।

भूकम्पपीडितको उद्धार र राहतका नाममा त्यसबेला धेरैको खेती फस्टाएको थियो । अर्काको पैसामा धेरै समाजसेवी जन्मिए । सबैभन्दा बढी कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली तथा अभिनेत्री श्वेता खड्काले लोकप्रियता कमाए । देशविदेशका नेपालीको चन्दाबाट धुर्मुस सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको गिरानचौर, महोत्तरीको बर्दिबास तथा रौतहटको सन्तपुरमा एकीकृत बस्ती बनायो । त्यसबेला यस्तो थियो कि जसले विदेशबाट धेरै चन्दा उठाएर समाजसेवा गर्छ, उसलाई भगवान जस्तै मान्ने गर्थे ।

धुर्मुस सुन्तलीको कसैले विरोध गर्नै सक्दैनथे । तर उनीहरूले नेपाली जनताले दिएको चन्दाबाट के कस्ता आर्थिक हैयियत प्राप्त गरे भन्ने कसैले पनि जान्न चाहेन । धुर्मुस सुन्तली फाउन्डेसनले जब भरतपुरमा चन्दाकै रकमबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने निर्णय गरे विस्तारै उनीहरूको चरित्र सबैले थाहा पाउँदै गए । करिब ५१ करोड रुपैयाँ सकिँदा रंगशालाको ३० प्रतिशत काम पनि पूरा भएन । र, बीचमै आर्थिक अभाव भन्दै उनीहरूले हात झिके । अहिले धुर्मुस सुन्तली युट्युब खोलेर सानातिना भिडियो बनाएर बसेका छन् । अहिले उनीहरूको चर्चा परिचर्चा कहीँकतै छैन । कुनैबेला हाईहाई भएका धुर्मुस सुन्तली अहिले गुमनाम छन् ।

धुर्मुस सुन्तलीले जस्तै अर्काले दिएको चन्दाबाट समाजसेवीको भूत चढ्नेमा अभिनेत्री श्वेता खड्का पनि पर्छिन् । उनले सिन्धुपाल्चोकको मझिमटारमा माझी बस्ती बनाइन् । ५४ वटा पक्की घर बनाउन उनले तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सहकार्य गरेकी थिइन् । सोचेजस्तो आर्थिक संकलन नभएपछि उनले तिनै माझी समुदायको घर राखेर बैंकबाट ऋण लिइन् । र, बस्ती निर्माण पूरा गरिन् । अहिले बैंकको साढे दुई करोड भन्दा बढी ऋण तिर्न नसकेको भन्दै श्वेतालाई १५ दिने सूचना काटिएको छ । समाजसेवी बन्ने रहर गर्दा श्वेताको अवस्था दयनीय बनेको छ ।

जाजरकोट र रुकुम पश्चिमको भुइँचालोले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खुबै समाजसेवी बन्ने भूत सवार भएको छ । गत शुक्रबार मध्यराति भूकम्प जाँदा पार्टी कार्यक्रमको सिलसिलामा उनी पाल्पा थिए । शनिबार बिहानै उनी त्यतैबाट भूकम्प प्रभावित क्षेत्रमा पुगे । आफू निकट युटयुब र मिडियालाई उनले रास्वपा सभापति भूकम्प पीडितको क्षेत्रमा उद्धार र राहतमा खटिएको प्रचार गर्न लगाए । तर, मूल चुरो अर्कै थियो ।

जाजरकोट पुग्नेवित्तिकै उनले स्थानीय एक एफएम रेडियोको सहारा लिए । सानीभेरी एफएम जुन कर्णाली प्रदेशमा लोकप्रिय छ, उनले फेरि पहिले टिभीमा कार्यक्रम प्रस्तोता झै भूमिका निभाए । सोझासिधा त्यहाँका जनतालाई आफ्नो पार्टीले उद्धार र राहतमा लागेको प्रचार गरे । त्यो कुरा उनले सामाजिक सञ्जालमा समेत लेखे । विपतले सयौं मान्छेहरू हताहत भएको ठाउँमा रविले देखाएको सत्ता–शक्तिको कुत्सित स्वार्थसँगको लोकरिझ्याइँलाई लिएर अहिले सर्वत्र आलोचना भइरहेको छ । यो विपत्तिले आहत मान्छेहरूसँग यस्तो स्टन्टको प्रतिवाद गर्ने अहिले ऊर्जा छैन । तर त्यसकै फाइदा रविले लिइरहेका छन् ।

विपतिका बेला सरकारले जुन सक्रियता देखाएर उद्धार र राहत जुटाइरहेको छ, सबैले प्रशंसा नै गरेका छन् । यसकै लागि रविलाई रेडियोकर्मी किन बन्नु परेको होला भन्ने अहिले चर्चा भइरहेको छ । धेरैले रविको पार्टीले ‘भूकम्प पर्यटन’ गरिरहेको टिप्पणी गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *