
काठमाडौं । सत्तारुढ माओवादीले मंसिर २२ गतेका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित गरेको छ । जाजरकोट भूकम्पले ठूलो जनधनको क्षति गरेकाले काठमाडौं केन्द्रित जनप्रदर्शनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको माओवादी महासचिव देव गुरूङको भनाइ छ । काठमाडौं केन्द्रित कार्यक्रम स्थगित भए पनि अन्य पालिकामा तोकिएका जनप्रदर्शनका कार्यक्रम भने यथावत् रहेको माओवादीले जनाएको छ । गुरुङले पुनः छलफल गरेर कार्यक्रमको मिति घोषणा गरिने बताएका छन् ।
माओवादीले गत मंगलबार प्रदेश कमिटीहरूलाई परिपत्र जारी गरी २२ मंसिरमा काठमाडौंलगायत विभिन्न स्थानीय तहमा जनप्रदर्शन गर्न निर्देशन दिएको थियो । साउन १७ देखि २२ गतेसम्म बसेको पार्टी केन्द्रीय समिति बैठकले विशेष रूपान्तरण अभियानअन्तर्गत तेस्रो चरणमा जनपरिचालन, अन्तरक्रिया, विचार गोष्ठी र सभाहरू गर्ने निर्णय गरेको थियो । हालै बसेको माओवादी पदाधिकारी बैठकले सो अभियान एक महिना थप गरेको थियो । त्यहीबेला काठमाडौं केन्द्रित जनप्रदर्शन गर्ने माओवादीले घोषणा गरेको थियो ।
माओवादी अहिले आफैं सरकारमा छ । सरकारको नेतृत्व माओवादीकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । आफैं प्रधानमन्त्रीको कुर्सीमा बसेर पटकपटक उनले माओवादीले सडकमा हजारौं मान्छे उतार्ने चेतावनी दिँदै आएका थिए । सरकारकै नेतृत्व गरेको दलले सडक आन्दोलन गर्छु भनेपछि त्यसको चौतर्फी आलोचना भएको थियो । तर नेपाली कांग्रेस र एमालेले आयोजना गरेको चियापानमा प्रचण्डले आफ्नो दलले काठमाडौंमा प्रदर्शन गर्न नलागेको दाबी गरेका थिए ।
सत्तारुढ दलभित्रै पनि माओवादीको यो निर्णयको विरोध भएको थियो । माओवादीले राजावादीले टाउको उठाउन खोजेकाले देखाइदिन भन्दै सडक आन्दोलनको धमास दिएको सबैले बुझेकै थिए । त्यसैले धेरैतिरबाट विरोध भएपछि माओवादी उपयुक्त सेफ ल्यान्डिङको मौका कुरेर बसेको थियो ।
यहीबीचमा जाजरकोट केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा धेरै ठूलो मानवीय र भौतिक क्षति गरेको छ । दुवै जिल्ला माओवादीको गढ मानिन्छ । जनार्दन शर्मा र शक्ति बस्नेत त्यहीँबाट चुनाव जितेर आएका हुन् । त्यसैले अहिले भूकम्पलाई देखाएर काठमाडौंको जनप्रदर्शन रोक्ने माओवादीले निर्णय गरेको छ । भूकम्प माओवादीका लागि गतिलो फेस सेभिङ बनेको छ ।
भूकम्पपीडितलाई संघ र प्रदेशले पठाएको राहत जनताले तिरेको कर हो । कसैले आफ्नो खल्तीबाट पठाएका होइनन् । त्यसैले जनतामा भ्रम छोड्न नखोजौं ।