रिबन

छैटौं वर्ष प्रवेशमा हाम्रो प्रण

नेपाली मिडियामा आफ्नो छुट्टै पहिचान बनाएको संकल्पखबर आजदेखि पाँचौं वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको छ । २०७५ कात्तिक २१ गते लक्ष्मीपूजाको दिन संकल्पखबरले यात्रा सुरु गरेको थियो ।

लोकतन्त्र, मानव अधिकार, विधिको शासन, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता, सुशासन, सीमान्तकृतहरूका सरोकार, समावेशी शासन र न्यायपूर्ण समाजको पक्षधरको रुपमा उभिने र चिनाउने हाम्रो प्रतिबद्धता थियो । आज पनि हाम्रो पक्षधरतामा हामी स्पष्ट छौँ । विकृति, विसंगति र अराजकतामाथिको प्रहारलाई हामी जारी नै राख्ने छौं ।

पाँच वर्षको यो अवधिमा राजनीतिका साथै स्वास्थ्य क्षेत्रमा पनि धेरै ठूल्ठूला र गम्भीर घटना भए । कोरोना भाइरस महामारीका कारण २०७६ पुसदेखि नै विश्वव्यापी रूपमा स्वास्थ्य क्षेत्रमा संकटकाल लाग्यो । जतिबेला हामी बामे सर्दै थियौं । यस्तो अवस्थामा सही र स्वतन्त्र ढंगले सूचना पस्कने कुरा सामान्य थिएन । तर, हामीले निकै ठूलो दुःख र कष्टका साथ पनि जनताको सुसूचित हुने अधिकारको ख्याल गर्दै समाचार दिइरह्यौं ।

कोरोना महामारीकै समयमा रुस र युक्रेन युद्धले विश्वव्यापी रूपमै प्रभाव पार्न थाल्यो । रुस–युक्रेन युद्धको प्रभावबाट कुनै देश पनि अछुतो रहन सकेन । नेपालमा पनि त्यसको असर पर्नु स्वाभाविक थियो । कोरोना र रुस–युक्रेन युद्धले विश्वका धेरै देशमा आर्थिक मन्दी छायो । अझ सबैभन्दा धेरै असर मिडिया क्षेत्रमा देखियो । सानो लगानीमा खुलेकादेखि धेरै जनशक्ति र पुँजी भएका मिडियासमेत बन्द हुने अवस्थामा पुगे । तर यस्तो अवस्थमा पनि संकल्पखबरले आफ्नो यात्रालाई निरन्तरता दिइरहेको छ ।

२०७४ को निर्वाचनमा कम्युनिस्ट पार्टीहरू मिलेर झन्डै दुई तिहाइ बहुमत प्राप्त गरी सरकार चलाउन पुगे । प्रेस स्वतन्त्रता, मानव अधिकार र लोकतन्त्रका लागि स्थापना भएको नेपाली कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भयो । उग्र वामपन्थ र उग्र दक्षिणपन्थीबाट कांग्रेसमाथि आक्रमण भइरहे । मानिसको बोल्न पाउने, सही सूचना पाउने अधिकार, व्यक्तिगत स्वन्त्रता र लोकतन्त्रको पहरेदारको भूमिकामा संकल्पखबरले कहिल्यै खुट्टा कमाएन । निर्वाध ढंगले सत्य तथ्य सूचना दिइरह्यो ।

धेरै ठूलो पुँजी र जनशक्तिको अभावमा पनि सही सूचना र विचार दिइरहनु सामान्य होइन । हामीलाई पाँच वर्षसम्म निरन्तर साथ, सहयोग, विश्वास र भरोसा गर्नुहुने सम्पूर्ण पाठकप्रति हामी कृतज्ञता व्यक्त गर्दछौं । साथै, हामीलाई विज्ञापन उपलब्ध गराएर सहयोग गर्नुहुने विज्ञापनदाता र शुभेच्छुकलाई धन्यवाद दिन चाहन्छौं । हामीले दिने सूचना सधैं सत्य र कमजोरी भएन भनेर हामी भन्दैनौं । तर कुनै बेला भएका कमजोरीलाई सुधार गरेर अघि बढ्न प्रयत्नशील रहनेछौं ।

अहिलेको युग सूचना र डिजिटल दुनियाँको युग हो । अब हामी छिट्टै आफ्नै युट्युब सञ्चालन गर्ने तयारीमा छौं । अक्षरसँगसँगै भिडियोमार्फत समाचार सुन्न चाहने पाठक वर्गको इच्छालाई ध्यानमा राख्दै हामीले यस्तो निर्णय गरेका हौं । संकल्पखबरका पाठक, विज्ञापनदाता, शुभेच्छुक सबैलाई तिहार, नेपाल संवत् र छठ पर्वको मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

सीबी खड्का
अध्यक्ष तथा प्रधानसम्पादक

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *