रिबन

हामी कस्तो समाज निर्माण गर्दैछौं ?

नेपालमा अहिले लोकरिझ्याइँ निकै फस्टाएको छ । राजनीतिबाट सुरु भएको लोकरिझ्याइँ अन्य क्षेत्रमा पनि हाबी हुँदै गएको छ । जसको असर अहिले राजनीति, सामाजिकलगायत सबै क्षेत्रमा परेको छ । पुरानाको रिस फेर्न नयाँलाई भगवानको ठाउँमा राख्दा यसले हरेक क्षेत्रमा अराजकता बढ्दै गएको छ । गत स्थानीय तहको निर्वाचनदेखि हो नेपालमा लोकरिझ्याइँवाद फस्टाएको । पुरानाको रिस फेर्न जनताले नयाँलाई मौका दिएपछि यस्तो अवस्था आएको हो ।

कुनै समय नेपालमा कलाकार सीताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तलीको विरोध गर्नै हुन्नथ्यो । जसले विरोध वा आलोचना गर्यो त्यसको सातो लिइन्थ्यो । सामाजिक सञ्जालदेखि मिडियामा उनीहरूलाई भगवानकै ठाउँमा राखिन्थ्यो । जब उनीहरूको कर्तुत र असली अनुहार सार्वजनिक हुँदे गयो अहिले उनीहरू गुमनाम अवस्थामा पुगेका छन् ।

अर्काले दिएको चन्दा संकलन गरेर समाजसेवी बन्न खोजेका धुर्मुस सुन्तली भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने नाममा फस्न पुगे । अहिले त्यो रंगशाला अलपत्र अवस्थामा छ । स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह बालेन र धरान उपमहानगरपालिकामा हर्कराज साम्पाङ राईको उदय भयो । यो डेढ वर्षको अवधिमा बालेन र हर्कराजको लोकरिझ्याइँ यसरी बढेको छ कि उनीहरू मात्रै जान्ने सुन्ने बनेका छन् । उनीहरूका हरेक निर्णय नराम्रो भए पनि तारिफ गर्ने ।

होमा हो गर्ने प्रचलन बढ्दै गएको छ । स्थानीय तहको निर्वाचनलगत्तै आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो । रास्वपाका सभापति रवि लामिछाने अहिले बालेन र हर्कराजकै पथमा लागेका छन् । उनको लोकप्रियता यसरी बढेको छ कि जे बोले पनि लाहछाप लगाइदिने । जे गरे पनि ‘वेलडन रवि दाइ’ भन्ने । अहिले उनी ‘मिसन ८४’ भन्दै हिँडेका छन् । निर्वाचन आउन अझै चार वर्ष बाँकी छ । राजनीतिमा ६ महिना काफी हुन्छ उलटपुलट ल्याउन । तर चार चार वर्ष बाँकी छँदा पनि रविले नेपाली कांग्रेस, एमाले, माओवाली, एकीकृत समाजवादी, जसपा जस्ता पुराना दलले हाँक दिन छाडेका छैनन् । यस्तो ठानिँदै छ कि ०८४ मा रास्वपाले नै १६५ तहमा चुनाव जित्नेछ । सबै दल हार्नेछन् ।

यस्तो अवस्था आउनुमा सामाजिक सञ्जाल र विदेशमा रहेका नेपाली नागरिकको भूमिका सबैभन्दा ठूलो छ । विभिन्न कर्तुत गरेर विदेश जाने, नेपालका भएभरका सम्पत्ति बेचेर हिँड्ने अनि विदेश पुगेपछि नेपालका दल र नेताले आफूलाई बस्न नदिएको झैं गर्दै सामाजिक सञ्जालमार्फ हुर्मत लिने क्रम बढ्यो । यसले पनि नेपालमा अराजकतालाई मलजल गर्न बल पुगेको छ । सोही कारण अहिले सामाजिक सञ्जाल नियमन गर्नुपर्ने आवाज बढ्दै गएको छ ।

अहिले सामाजिक सञ्जालमा कुनै पनि पुराना दलका नेताको प्रशंसा गरिन्न । पुराना मात्र होइन, कांग्रेस, एमाले, माओवादीलगायत दलका युवा नेताप्रति विश्वास देखिन्न । यस्तो अवस्था आउनुमा विदेशमा रहेका नेपालीको हात धेरै छ । त्यही भएर हालै सम्पन्न एनआरएनएको साधारण सभामा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीले सातो लिएकी थिइन् । धेरैले रामकुमारीको साहसको प्रशंसा गरे । त्यसपछि नै हो अहिले विदेशमा रहेका नेपालीले पुराना दल र ती दलका नेताको आलोचना गर्न छाडेको ।

पछिल्लो समय फेसबुक र ट्विटरभन्दा पनि टिकटक धेरै लोकप्रिय बनेको छ । टिकटकमार्फत पुराना दल र तिनका नेताको हुर्मत लिन लागिएको छ । नभएका विषयमा भिडियो बनाउने र पोस्ट गर्ने प्रचलन बढेपछि सरकारले टिकटक नियमन गर्ने निर्णय गरेको छ । यसले विस्तारै लोकरिझ्याइँलाई नियन्त्रण गर्ने विश्वास धेरैले गरेका छन् ।

स्थापित दल र तिनका नेतालाई गालीगलौज गरेर देश बन्दैन । आज अमेरिकामा ७९ वर्षीय राष्ट्रपतिले शासन गरिरहेका छन् । अमेरिका जस्तो देशमा किन युवा आउन सकेनन् । किन पढेलेखेका आउन सकेनन् ? भन्ने नेपालीले बुझ्न सकेका छैनन् ।

हरेक क्षेत्रमा अनुभवीको आवश्यकता पर्छ । नेपालको राजनीतिमा पनि अनुभवी नेताकै खाँचो अहिले पनि टड्कारो देखिएको छ । नत्र बालेन, हर्क, रवि लामिछानेको पथमा हिँडेर कहीँ पुगिँदैन । सभ्य समाज निर्माण गर्न सकिन्न ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *