
काठमाडौं । एक साताअघिसम्म काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेन उपत्यकाका सबै स्थानीय तहसँग असन्तुष्ट बनेका थिए । मेयर्स फोरमको बैठकमा आफूले बोल्न नपाएपछि बालेनले बहिष्कार गरेका थिए ।
फोरमको बैठक सकिएको चार दिनपछि बालेनले काठमाडौंका १७ वटै नगरपालिका प्रमुखलाई देश बेचुवा, चोर भनेर आरोप लगाएका थिए ।
तर एक सातापछि नै बालेनले दक्षिणकालीका मेयर मोहन बस्नेतसँग मिलेर काञ्जी हाउस सञ्चालन गर्ने निर्णय गरेका छन् । काठमाडौं महानगरपालिकाले कार्तिक २३ गतेदेखि सडकमा रहेका गाईबाच्छाहरुलाई कोपुगाउँमा रहेको ‘काञ्जी हाउस’मा राख्ने बताएको छ ।

महानगरका मेयर बालेन शाहले दक्षिणकाली नगरपालिकासँगको सहकार्यमा वडा नम्बर ७ कोपुगाउँमा रहेको सो हाउसमा राख्ने तयारी भएको बताए ।
सडकमा छाडिएको चौपायाले खान नपाएको , तिर्खा लागेको बेला पानी समेत नपाउने र सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै रहेकाले अभियान थालिएको उनको भनाइ छ ।
काञ्जी हाउसमा हुँदा उनीहरूको उपचारमा पनि सहजता आउने उनको विश्वास छ । सडक चौपायाहरूको व्यवस्थापनले सडक दुर्घटनासमेत घटाउने भएकाले महानगरको यो अभियानलाई सकारात्मक रूपमा लिइएको छ ।
काञ्जी हाउसमा लगिएको चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज पनि खरिद गरिसकिएको र हेरचाहका लागि दुईजना स्थानीयलाई महानगरले ज्यालादारीमा काममा लगाउने बताएको छन् । दक्षिणकाली नगरपालिका– ७ को सहकार्यमा पानी, बिजुलीलगायतका सुविधा पनि प्रदान गरिने उनले बताए ।
