राजनीति

रेशम भित्रिने, आलम बाहिरिने सम्भावना कति ?

काठमाडौं । रौतहट बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टीमा हालेर जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसमा पूर्वसांसद मोहमद अफताब आलमको मुद्दामा बुधबार सुनुवाइ भएको छ । जिल्ला अदालत रौतहटमा आलमसहित पाँचजनाविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरमा दर्ता भएको मुद्दामा न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा मुद्दाको सुनुवाइ भएको हो ।

आलमविरुद्धको मुद्दामा मंगलबार सरकारी वकिलको बहस सकिएको थियो । प्रतिवादीको तर्फबाट बुधबार अन्तिम बहस हुन लागेको हो । अदालतले १५ दिनभित्र पक्ष र विपक्ष तथा सरकारी वकिललाई बहस नोट बुझाउन आदेश दिएसँगै सुनुवाइ लम्बिने संकेत देखिएको छ । जिल्ला अदालत रौतहटका श्रेस्तेदार उद्धव ढोडारीले केही दिनदेखि मुद्दामा चलिरहेको बहस सकिएपछि फैसला सुनाउने तयारी रहेको जानकारी दिए ।

२७ चैत २०६४ मा भएको रौतहट बम काण्डका घाइतेलाई जिउँदै इँटाभट्टीमा जलाइएको आरोपमा विस्फोटमा परी मृत्यु भएका २४ वर्षीय त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायणसिंह राजपुतले आलमसहितलाई प्रतिवादी बनाएर ०७६ कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए । विस्फोटमा २२ वर्षीय ओसी अख्तरको पनि मृत्यु भएको थियो ।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको थियो । उक्त घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेपछि आलमविरुद्ध अदालतमा मुद्दा पुगेको थियो । आलमले २०६४ सालको संविधानसभा निर्वाचनको नतिजालाई आफ्नो पक्षमा पार्न बम विस्फोट गराउने योजना बनाएको र त्यसका लागि बम बनाउँदै गर्दा विस्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । बम विस्फोटको घटना सार्वजनिक हुने भयका कारण आलमले उक्त विस्फोटमा घाइते भएकाहरुलाई ज्यूँदै इँटाभट्टामा जलाएर मारेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी कसुरमा ४५ वर्ष कैद सजाय माग दाबी गर्दै अभियोगपत्र दायर भएको थियो । त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको कर्तब्य गरी ज्यान मारेको तथा बम विस्फोट गराएको अभियोग आलममाथि छ । आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विस्फोटन गराइ घाइते बनाएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने मागदाबी गरिएको छ । तर अहिले ओसी अख्तरका परिवारले बयान फेरिसकेका छन् । त्यसैले आलमका आफन्त र समर्थक उनी रिहा हुन सक्ने आशमा बसेका छन् । आलमले आफ्नो राजनीतिक भविष्य समाप्त पार्ने डिजाइनअनुसार हत्याको आरोप लगाएको बताउँदै आएका छन् ।

बिहीबार नै सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीबारे पनि आदेश सुनाउने भएको छ । टीकापुर हत्याकाण्डमा मारिएका सशस्त्र प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेकी श्रीमतीले हालेको रिटमा सर्वोच्चले आदेश सुनाउने भएको छ । पीडित परिवारले टीकापुर हत्याकाण्डका मुख्य दोषीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैदमाफी दिएको भन्दै बदर गर्न माग गरिएको छ ।

बाँकेका चेतन मानन्धरको हत्या आरोपमा सजाय भुक्तान गरिरहेका योगराज ढकाल रिगलको बाँकी सजाय कट्टा गरी आममाफी दिने राष्ट्रपतिको निर्णयलाई हालै सर्वोच्च अदालतले बदर गरेको थियो । सर्वोच्चले रिगललाई पक्राउ गरी बाँकी कैद सजाय भुक्तान गर्न कारागार पठाउन सरकारका नाममा परमादेश दिएको थियो । त्यसपछि रिगललाई पक्राउ गरी कारागार पठाइसकिएको छ । त्यसैले रेशम चौधरीलाई पनि बाँकी कैद सजाय भुक्तान गर्न सर्वोच्चले आदेश दिन सक्ने अनुमान गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *