राजनीति

नेपाली कम्युनिस्ट नेताका लागि चीन तीर्थधाम जस्तै, बाक्लियो भ्रमण

काठमाडौं । नेपालका कम्युनिस्ट पार्टीका नेता र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच शीर्ष तहमा भ्रमण आदान–प्रदान र भेटघाट हुने पुरानै परम्परा हो । चिनियाँ नेताहरू पनि बेलाबेला नेपाल आउने गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्र समितिका सचिव वाङ छुङछेङ २१ सदस्यीय टोली अहिले नेपाल भ्रमणमा छ । गत साउनमा मात्र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियान नेतृत्वको टोली नेपाल आएको थियो । तर चीनले पछिल्लो समय नेपालका कम्युनिस्ट पार्टीका नेताहरूलाई पालैपालो बोलाएर स्वागत सत्कार गर्नुलाई चाहिँ अर्थपूर्ण मानिएको छ ।

नेपालका कम्युनिस्ट पार्टीका नेताहरूको जम्बो टोली एकपछि अर्को गर्दै चीन भ्रमणमा गइरहेका छन् । सत्तारुढ माओवादी केन्द्र र प्रतिपक्षी दल एमालेका नेताहरू भ्रमण सकेर फर्किएका छन् भने अहिले सत्तारुढ एकीकृत समाजवादी पार्टीका नेता पाँच दिने भ्रमणमा निस्किएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १५ सदस्यीय टोली पाँच दिने चीन भ्रमणमा गएको छ ।

सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध विस्तार र सहयोग बढाउनु नै भ्रमणको उद्देश्य हुने गरेको तर्क ती पार्टीका नेताहरूले दिने गरेका छन् । भ्रमणका बेला चिनियाँ कम्युनिस्ट पार्टीका समकक्षी नेतासँग भेटवार्ता गर्ने, विकास तथा कृषि उत्पादनका क्षेत्रमा चीनले गरेका लगानीबारे अध्ययन हुने गरेको दाबी नेताहरूको छ । यस्ता भ्रमणले दुई देशका कम्युनिस्ट पार्टीबीचको सम्बन्ध बढाउन सहयोग पुग्ने दाबी नेताहरूले गरिरहेका छन् । तर विश्लेषकहरूले यस्ता भ्रमणबाट कम्युनिस्ट पार्टीहरूलाई प्रभावित बनाएर चीनले प्रभाव बढाउन सक्ने टिप्पणी गरेका छन् । सम्बन्ध विस्तारका नाममा हुने भ्रमणलाई चीनले आफ्नो पक्षमा थप माहोल बनाउने रणनीतिका रूपमा लिने गरिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा गत जेठमा माओवादीका उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वको २० सदस्यीय टोली १५ दिनको चीन भ्रमणमा गयो । भदौको दोस्रो साता एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा २१ सदस्यीय टोली एक हप्तासम्म चीन घुमेर फर्कियो । पोखरेल झन्डै १५ दिन जति चीनमा घुमेर बसेका थिए ।

त्यसअघि माओवादी महासचिव देव गुरुङ नेतृत्वको टोली चीन पुगेको थियो । गुरुङले चिनियाँ कम्युनिस्ट पार्टीका दोस्रो तहका नेताहरूसँग भेटघाट गरेका थिए । चीनका तल्लो तहका नेता आए पनि नेपालका राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्न पुग्छन् । तर नेपालका कम्युनिस्ट नेताहरूले भने चिनियाँ शीर्ष नेतालाई भेट्नसमेत पाउँदैनन् ।

असोज पहिलो साता प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा गएका थिए । उनले मात्रै चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेट्न पाएका थिए । तर प्रचण्डले आशा गरेअनुरूप भेटवार्ता सफल नभएपछि उनी कैलाश मानसरोवर यात्रामा निस्केका थिए । उनी नेपाल फर्केको एक सातापछि नै उपप्रधानमन्त्री एवं गृहमन्त्री नराायणकाजी श्रेष्ठ चीन पुगेका थिए । उनले चिनियाँ राष्ट्रपति सिलाई भेट्न पाएनन् ।

भ्रमणको केही दिनमै हर्ट अट्याक भएपछि एक साता लामो उपचार गरेर स्वदेश फर्केका थिए । त्यसलगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बेइजिङ प्रस्थान गरेका थिए । अहिले नेपालका कम्युनिस्ट पार्टीका नेताको लगातारको चीन भ्रमणले तीर्थधामको स्मरण गराएको राजनीतिक विश्लेषण हुन थालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *