राजनीति

मंसिर ७ मा काठमाडौंमा मुठभेडको सम्भावना, दुर्गा प्रसाईं समर्थक र युवा संघको प्रदर्शन

काठमाडौं । एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले मंसिर ७ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ। भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको युवा संघले जनाएका ेछ ।

देशमा सरकार भएको अनुभूति नभएको र दण्डहीनताले सीमा नाघेको भन्दै युवा संघले काठमाडौंमा प्रदर्शन गर्न लागेको युवा संघका प्रवक्ता निरोज पौड्यालले जानकारी दिए। उनले माफियागिरी, समाजिक सद्भाव भड्काउने एवं धार्मिक सहिष्णुता भत्काउने आपराधिक गतिविधिविरुद्ध प्रदर्शन गर्न लागेको दाबी गरे ।

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि मंसिर ७ गते नै काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन्। युवा संघले पनि त्यही दिन काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेपछि मुठभेडको सम्भावना बढेको हो ।

पछिल्लो समय प्रसाईंका गतिविधिविरुद्ध युवासंघ विरोधमा उत्रिएको छ। प्रसाईंले एमाले अध्यक्ष केपी ओलीको कम्बोडियामा लगानी रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले प्रसाईंविरुद्ध खनिएको हो। युवा संघले गणतन्त्रको रक्षा गर्न सरकारले नसके आफूहरु तयार रहेको जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रविरुद्ध प्रहार हुन थालेको भन्दै गणतन्त्र पक्षधर शक्ति एकजुट हुन आग्रह गरेका थिए। माओवादीले मंसिर २२ मा काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरे पनि तत्कालका लागि स्थगित गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *