देश

सेनाभित्र विवाद नियोजित कि प्रायोजित ?

काठमाडौं । एकपछि अर्को गरी नेपाली सेनाभित्र विवाद निकाल्न थालिएको छ । कहिले माओवादीका पूर्वलडाकु यमबहादुर अधिकारीलाई सहायक रथी पदमा तीन वर्ष पदापवधि थप त कहिले भावी प्रधानसेनापति भनेर प्रचार गरिएका उपरथी ताराध्वज पाण्डेको उमेर विवाद सिर्जना गरी सेनामा गिजोल्ने प्रयास भएको छ ।

रथी सागरप्रताप राणाले अवकाश पाएपछि उनको ठाउँमा प्रधानसेनापति प्रभुराम शर्माले पाण्डेलाई रथीमा सिफारिस गरेका थिए । तर उनको उमेर विवादको किचलो निकालियो । यसलाई विभिन्न ढंगले व्याख्या र विश्लेषण गर्न थालिएको छ । कसैले माओवादीका पूर्वलडाकू अधिकारीलाई भावी सेनापति बनाउन चलखेल गरिएको टिप्पणी गरेका छन् भने कसैले केही न केही निहुँ निकालेर सेनालाई आन्तरिक विवादमा अल्झाइराख्ने प्रयास भएको बताउन थालेका छन् ।

पाण्डेको उमेर विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो राखेपछि उनको विवाद पेचिलो बन्दै गएको हो। बिहीबार राति सेनाको प्राड विवाकले उपरथी पाण्डेको उमेर विवादको विषयमा छलफल गरेको स्रोतले बतायो । पाण्डेको उमेर विवादलाई लिएर अख्तियारले केही दिनअघि रक्षा मन्त्रालयलाई पत्राचार गरी चासो राखेको थियो।

अख्तियारको चासोपछि पाण्डेलाई बढुवा गर्दा झन् विवादमा पर्नसक्ने भन्दै प्राड विभागमा छलफल भएको बताइन्छ । जसकारण उपरथी पाण्डेमाथि नैतिक दबाब सिर्जना गराई राजीनामा दिन बाध्य पार्ने खेल सुरु भएको स्रोतले बतायो ।

उपरथी पाण्डेको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा जन्ममिति फरक परेको भन्दै बढुवा सिफारिसप्रति प्रश्न उठाइएको हो। उनको विषयमा राज्यव्यवस्था समितिमा उजुरीसमेत परेको थियो। पाण्डे २०४३ सालमा सेनाको अधिकृत क्याडेटमा भर्ना हुँदा उनको नागरिकता प्रमणपत्रमा जन्ममिति २०२३ मंसिर २३ उल्लेख छ। तर उनको शैक्षिक प्रमाणपत्रमा भने जन्ममिति २०२१ माघ १२ उल्लेख भएको विषय बाहिर आएपछि विवाद सुरु भएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *