
काठमाडौं । भावी प्रधानसेनापतिको लाइनमा रहेका भनिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। उमेरको विषयमा छानबिन सुरू भएपछि उनले बिहीबार राजीनामा बुझाएको बताइएको छ ।
सेनाको उच्च श्रोतका अनुसार पाण्डेले बलाधिकृत रथी सीताराम खड्कालाई राजीनामा बुझाएका हुन्। उनको राजीनामाबारे रक्षामन्त्री पूर्णबहादुर खड्कालाई जानकारी गराइँदैछ।
पाण्डेको उमेर विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । बिहीबार नै नेपाली सेनाभित्रको ठूलो प्राड विभागमा समेत यस विषयमा छलफल भएको थियो ।
सैनिक मुख्यालयभित्रै छानबिनसमेत सुरू भएपछि पाण्डेले राजीनामा दिएकाे बुझिएकाे छ । प्रधानसेनापति प्रभुराम शर्माको २०८१ भदौ २४ गते कार्यकाल सकिएलगत्तै पाण्डे प्रधानसेनापतिको रोलक्रममा थिए।
सैनिक नियमावलीअनुसार उपरथी दर्जाको अवकाश हुने उमेरको हद ५७ वर्ष हो। २०२१ माघ १२ गतेको जन्ममितिअनुसार उनले २०७८ माघ १२ गते नै अवकाश पाइसक्नुपर्ने हो, तर अहिले एक वर्ष आठ महिना बढी समय अवधि जागिर खाइरहेका छन् । एसएलसी प्रमाणपत्रमा पाण्डेको जन्ममिति २०२१ माघ १२ गते छ।
तर, २०४२ चैत २५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंको चलानी नम्बर ७५८८ अनुसार पाण्डेको जन्ममिति २०२३ मंसिर २३ गते कायम गरिएको भन्दै एसएलसीको नतिजा प्रकाशित भएको मिति २०३८ सालको सक्कली ढड्डामा उल्लेख छ।