रिबन

दुःखद समयमा परेको यसपटकको तिहारमा पनि सबैमा शुभकामना

कात्तिक १७ गते मध्यराती जाजरकोटको बारेकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएको छ र त्यहाँको पीडाले सम्पूर्ण नेपाल दुःखी छ । यस्तै बेलामा नेपालीहरुमध्ये वहुतायतले मनाउने तिहार पर्व संघारमा छ । भर्खरै ठुलो साँस्कृतिक चाड बडा दसैँ मनाइएको थियो र त्यसको लगत्तै यो त्रासद भूकम्पले हल्लाएको थियो ।

एकातिर मुलुक चरम महङ्गीको मारमा छ, मुलुकमा आर्थिक मन्दीले गर्दा उद्योगधन्धाहरुको बेहाल छ । जलवायु परिवर्तनको मारमा परेर बेलामा पानी नपर्ने तर कुबेलामा पानी पर्ने अनि हिउँ पर्ने गरेको छ जसले गर्दा मौसमी खेतीमा ह्रास आएको छ । यस्तो बेलामा हामी साँस्कृतिक रुपमा ज्योतिको चाड, लक्ष्मीको आराधना गर्ने अनि विभिन्न जन्तुजनावरका नाममा मनाइने तिहारको रमझममा छौँ ।

एकातिर मुलुकमा जाजरकोट, रुकुम, बझाङ्, बाजुरा, अछाम सहितका जिल्लाको भूकम्पको झड्काका कारणले बेहाल छ भने अर्कोतिर साँस्कृतिकरुपमा मनाइने चाडहरु यस्तै बेलामा मनाउनु नै परेको छ ।तिहारलाई नेपालीहरुको दोस्रो ठुलो साँस्कृतिक पर्वको रुपमा लिइन्छ । यसलाई दीपावली पनि भनिन्छ । दीप प्रज्ज्वलन गरी सबैतिर उज्यालो गराउने सांकेतिक पर्वको रुपमा लिइने हुनाले दीपावली नै भनिने गरिएको हो । नेपालमा मनाइने यमपञ्चकलाई जनजिब्रोमा तिहार भनिएको हो ।

सायद यो शब्द हिन्दीको त्यौहारबाट परिष्कृत हुँदै तिहार भनिएको हुनुपर्छ किनभने हिन्दी भाषामा प्रत्येक पर्वलाई त्यौहार भनिन्छ तर नेपालमा यमपञ्चकका पाँच दिनलाई समष्टिमा तिहार भनिएको हुनुपर्छ । अर्थात् शारदीय नवरात्रिपछिको कात्तिक कृष्णपक्षको ३ दिन र कात्तिक शुक्लपक्षको २ दिनलाई एउटै समूहमा तिहार भनिएको हो । नेपालको यो ज्योतिपर्वलाई अनेकरुपमा मनाइन्छ ।

नेपाली परम्परामा पाँचदिनका विभिन्न प्रकारका तिहार हुन्छन्—प्रकृतिका सफाइ आन्दोलनको र सञ्चारको मुख्य प्राणी मानिने कागको पनि तिहार हुन्छ, सबैभन्दा इमान्दार र स्वामीभक्त चलाख प्राणी कुुकुरको पनि तिहार हुन्छ, धनधान्यकी देवी लक्ष्मीको पूजा गर्नका लागि दीपावली गरिन्छ, कृषकका लागि अति आवश्यक जनावर , जसले हाम्रालागि अमृतसरहको दूध दिएर हामीलाई धन्य गराउँछ र तिनै गाईको छोरो गोरुको पनि पूजा गरिन्छ ।

अझ यमपञ्चकको महत्व भनेको पौराणिक कालमा यमलाई उनकी बहिनी यमीले चिरञ्जीवी हुनका लागि आराध्यदेवको पूजा गरेर दाजु भाइप्रतिको दिदी बहिनीको माया दर्शाएको उदाहरणका लागि दाजु भाइलाई दिदी बहिनीहरुले टीका लगाई धनधान्यसहित चिरञ्जीवी हुने कामना गर्ने गर्छन् । अनि बली राजाको दानवीरताको बखान गर्दै भैलो , देउसी खेल्ने चलन पनि परापूर्वकालदेखि नेपालमा छ ।

तिहारले एकातिर प्रकृतिप्रति पूजाभाव देखाउने, सम्पूर्ण मानिसहरुको घरेलु प्रयोगमा आउने जनावरहरुप्रति कृतज्ञता जनाउन पूजा गर्ने र जीवनका सबैभन्दा बढी माया ममता हुने दाजुभाइ र दिदीबहिनीहरुका बिचमा सम्बन्ध सदैव गाढा राख्ने काम गर्नका लागि भाइटीकाको चाड मनाउने गरिएकाले पनि यो साँस्कृतिक पर्वको महत्व बढेको हो ।

झन नेपाली परम्परामा त नेपाल सम्बत्को सुरुवात हुने बेलामा पनि यही समयमा हो । नेपाल मण्डलमा भ्रातृपूजासँगै आफ्नो पूजा पनि हुन्छ जसलाई हामी म्हः पूजा भन्छौँ । आज नेपालीहरु संसारमा जहाँ गए पनि तिहार भन्ने बित्तिकै साँस्कतिकरुपमा धनधान्यकी देवी श्रीलक्ष्मीको पूजा, म्हः पूजा, भ्रातृपूजा , नेपाल सम्बतको थालनीको खुसियाली , सेलरोटी र विभिन्न मिठाइसहितको खानपिनको चाडको रुपमा मानिएको हुन्छ ।

अनि यस्ता चाड पर्व मनाउनका लागि कम्तीमा पनि सामान्यरुपमा गरिने किनमेलका लागि अनियन्त्रित महङ्गीको मारमा जनता पर्दा सरकारले महङ्गी नियन्त्रण गर्नु पर्ने हो । त्यसो त सधैँ नै कृत्रिम महङ्गीको मारमा नेपालीहरु परेकै छन् र पनि चाडबाडमा झन सकस पर्ने हुँदो रहेछ ।

श्री लक्ष्मीमाताले हामी नेपालीहरुको श्रीवृद्धिमा आशीर्वाद दिऊन् , नयाँ वर्ष नेपाल सम्बत् ११४४मा नेपालमा सबैतिर खुसियाली छाओस् र श्री सूर्य भगवानको प्रतीक ज्योतिको पर्व दीपावलीले नेपालमा सबैतिर उज्यालो नै उज्यालो होस् भन्ने शुभकामना सबैमा सबैले दिऊँ । तिहारको शुभकामना संसारमा जुनसुकै कुनामा भएका सबै नेपालीहरुमा । तिहारको रमझम पछि तत्कालै ती पीडित नेपालीहरुको घाउमा मलम लगाउन सबै नेपालीहरु एकजुट हुन सकौँ भन्ने आशीर्वाद पनि श्री लक्ष्मी माताले हामीलाई दिऊन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *