राजनीति

भूकम्पले प्रचण्डको कुर्सी जोगियो, पीडित अझै पीडामै

काठमाडौं । दुई तीन महिनादेखि दशैंतिहारलगत्तै वर्तमान सत्ता समीकरण फेरबदल हुने चर्चा चल्दै आएको छ । चाडपर्वका बेला राजनीतिक गतिविधि पनि खासै नहुने भएकाले दशैं मनाउन सबै आ–आफ्ना घरतिर लागे । तर दशैं सकिएको केही दिनमै जाजरकोटमा ६.४ रेक्टर स्केलको भूकम्प गयो । जसबाट १५५ जनाले ज्यान गुमाएका छन् । साढे तीन सय घाइते भएका छन् । ३५ हजारभन्दा बढी घरमा पूर्ण र आंशिक क्षति पुगेको छ ।

कात्तिकको चिसो मौसममा घरबार गुमाएका पीडित अहिले पुनस्र्थापनाको आशमा छन् । सरकारले उद्धार समयमै गरे पनि पुनस्र्थापनामा चुक्दै गएको छ । भूकम्प गएको १० दिन बितिसक्दा पनि पीडितहरू पीडामै छन् । भूकम्प गएको भोलिपल्ट १२ घन्टा जाजरकोटमै बिताएर काठमाडौं फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसयता प्रभावित क्षेत्र गएका छैनन् । विभिन्न राजनीतिक भेटघाटदेखि पार्टीको गाउँस्तरीय प्रशिक्षण कार्यक्रममा भाग लिन रोल्पासम्म पुगेका प्रचण्डको कुर्सी भूकम्पले नै केही समयका लागि जोगाइदिएको छ ।

प्रधानमन्त्री बनेको १० महिनासम्म एउटा पनि सम्झनलायक काम गर्न नसकेका, विभिन्न काण्डमा विवादमा परेका, आफ्ना पार्टीका नेताहरूलाई सुन तस्करीमा उन्मुक्ति दिएको, परराष्ट्र सम्बन्ध राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दै विपक्षी दलहरूले प्रचण्डलाई सरकारबाट विस्थापित गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले त जुनसुकै हथकण्डा गरेर भए पनि प्रचण्ड सरकारलाई विस्थापित गर्न प्रतिनिधिसभामै दलहरूलाई आह्वान गरेका थिए । त्यसैले दशैंतिहारलगत्तै प्रचण्ड सरकार ढल्ने कुराले बढी चर्चा पाएको हो । तर अहिले सरकार ढल्ने विषय त्यति सुन्नमा आएको छैन ।

दशैं र तिहारको बीचमा भूकम्पबाट हजारौं नागरिक विस्थापित भएपछि दलहरू तत्काल सरकार फेरबदलको गृहकार्यमा नजुटेका हुन् । जसकारण केही समय प्रचण्डको कुर्सी जोगिएको छ । तर एमाले सचेतक महेश बर्तौलाले आइतबार नेपाली कांग्रेसलाई नयाँ समीकरण बनाउन आग्रह गर्दै कांग्रेसले चाहे सरकार फेरबदल हुने बताइसकेका छन् । उनले तिहारको अवसरमा आयोजित एक कार्यक्रममा तिहारलगत्तै सरकारको समीकरण फेरबदल हुने संकेत गर्दै कांग्रेससँग कुराकानी भइरहेको खुलासा गरेका छन् । तर कांग्रेसमै पनि एउटा समूह तत्काल प्रचण्ड सरकार फेरबदल गर्न नहुने पक्षमा देखिएको छ ।

यतिबेला भूकम्पबाट पीडितलाई पुनस्र्थापनामा सरकार जुट्नुपर्ने भन्दै कांग्रेसमा त्यसका लागि पार्टीले पूरै सहयोग गर्नुपर्ने धारणा बलियो बन्दै गएको छ । कांग्रेसका एक नेताका अनुसार प्रचण्ड सरकार ढलेमा माओवादीकै गतिविधि प्रमुख कारण हुने छ । लुम्बिनी प्रदेशमा माओवादीले त्यहाँ मुख्यमन्त्री डिल्ली चौधरी र स्वास्थ्यमन्त्री नभएका बेला प्रदेशका सबै सरकारी अस्पतालका अध्यक्ष नियुक्त गरेपछि कांग्रेसमा तरंग सिर्जना भएको छ ।

यो घटनालाई लुम्बिनीमा मात्र होइन, कांग्रेस केन्द्रमै पनि असन्तुष्टि उत्पन्न भएको छ । केन्द्रको सरकारसमेत स्वेच्छाचारी ढंगले चलेकोमा कांग्रेसकै धेरै नेतालाई मन परेको छैन । त्यसमाथि लुम्बिनीमा माओवादीले सरकार नै हाइज्याक गरेपछि कांग्रेस आक्रोशित भएको हो । लुम्बिनीमा अहिले कार्यबाहक मुख्यमन्त्री माओवादीका अर्थमन्त्री धनबहादुर मास्की छन् । कर्णालीमा मुख्यमन्त्री माओवादीकै राजकुमार शर्मा छन् । तर भूकम्पपीडितलाई राहत र पुनस्र्थापनामा प्रदेश सरकारले कुनै गतिलो निर्णय गर्न सकेको देखिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *